‘आफू ह्वाइटहाउसमा पहिलो महिला भएपनि अन्तिम नहुने’ – कमला ह्यारिस


प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार

नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले विशेष सम्बोधन गर्दै अमेरिकन मतदाताहरुले ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनलाई छानेर आशा, एकता, शालिनता, विज्ञान र सत्यलाई छानेको बताएकी छिन् । ५६ बर्षकी ह्यारिस पहिलो महिला उपराष्ट्रपति हुनेछिन् । साथै उनी पहिलो अफ्रिकन र साउथ एसियन मुलकी अमेरिकन उपराष्ट्रपति हुनेछिन् ।

कमलाले अमेरिकाको पहिलो महिला उप राष्ट्रपति भए पनि अन्तिम नहुने बताइन् । आफ्नो जीतले देश भरका महिलामा कुनै कुरा असम्भव नभएको सन्देश दिएको बताइन् । अमेरिकी उपराष्ट्रपतिमा विजयी भएर कमला ह्यारिसले अमेरिकामै नयाँ इतिहास कायम गरेकी हुन् ।

कमला ह्यारिस क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४ को अक्टोबर २० मा जन्मिएकी हुन् । उनका बुबा जमैकाबाट अमेरिका आएका थिए भने आमा भारतबाट अमेरिका आएकी थिइन् ।

अमेरिकी सिनेटर हुनु अगाडि क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्दै आएकी छिन् ।

अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए । सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो उम्मेदवार बनेकी थिइन् । तर दुवैजनाले चुनाव जित्न सकेनन् ।

अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुनका लागि अमेरिकामा नै जन्मेको अमेरिकी नागरिक हुनुपर्छ । अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्ति अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुन पाउँदैन । यो प्रावधान विदेशी प्रभावबाट मुलुकलाई बचाउने उद्देश्यले राखिदै आएको हो ।

कमला ह्यारिसकी आमा श्यामला गोपालन क्यान्सर शोधकर्ता थिइन् भने बुबा डोनाल्ड ह्यारिस अर्थशास्त्री थिए । आमा श्यामलाले नै कमला नाम छनौट गरेकी थिइन् । हिन्दु देवी लक्ष्मीको अर्को नाम पनि कमला हो ।

जब कमला ७ बर्षकी थिइन्, उनका बुबाआमाबीच पारपाचुके भयो । आमाले कमला र माया दिदीबहिनीलाई एक्लै हुर्काउनुपरेको थियो । अश्वेत र साउथ एसियन पहिचानका साथ कमला बाल्यकालमा हिन्दु मन्दिर र चर्च दुबैमा गइन् ।

कमला आफ्नी मावलकी हजुरआमाबाट निकै प्रभावित थिइन् । उनी बाल्यकालमा भारत पनि गएकी थिइन् । उनकी हजुरआमा भारतीय स्वतन्त्रता संग्राममा भाग लिएकी एक उच्च तहकी सरकारी कर्मचारी थिइन् ।

कमलाले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् । कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई एक अमेरिकी भन्ने गर्छिन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com