बाइडेनको कार्यकालमा अमेरिकी अध्यागमनमा कस्तो परिवर्तन आउला ?


प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अमेरिकी अध्यागमनका क्षेत्रमा निकै उथलपुथल ल्याए । अब बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भइसकेपछि के गर्लान् ? धेरेको चासोको विषय रहेको छ ।

बाइडेनले राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेपछि सिमानामा पर्खाल लगाउने डोनाल्ड ट्रम्पको योजना अन्त्य हुनेछ भने ट्रम्पका कैयन कार्यकारी आदेशहरु बाइडेनले उल्टाउनेछन् । बाइडेनले आफैले पनि आफ्नो कार्यकालमा सिमानामा एकइन्च पनि पर्खाल नलगाइने बरु सिमानाको रक्षाका लागि उच्च प्रविधिको विकाश गर्ने बताइसकेका छन् ।

बाइडेनले चुनावी अभियानका क्रममा अमेरिकी संसदले सन् १९८६ देखि पारित गर्न नसकेको अध्यागमन सुधारको बृहत बिल अगाडि ल्याउने बताएका छन् । सन् २०१३ मा यस्तै बिल पारित गर्ने प्रयास असफल भएको थियो । डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा ४ सयभन्दा धेरै कार्यकारी आदेशहरु जारी गरेका छन्, ती उल्टाउनु बाइडेनको सुरुको एकसयदिनको पहिलो प्राथमिकतामा पर्नेछ ।

सन् २००९ मा उपराष्ट्रपतिका रुपमा सपथ लिंदै बाइडेन ।

पर्खाल लगाउनका लागि ट्रम्पले घोषाणा गरेको संकटकाल, यात्रा र एसाइलममाथि लगाइएका कैयन प्रतिबन्धहरु, अमेरिकामा एसाइलम खोज्नेलाई मेक्सिकोमा फिर्ता पठाउने नीति लगायतलाई खारेज गर्ने बाइडेनको चुनावी अभियानको वेवसाइटमा उल्लेख छ । त्यस्तै पब्लिक चार्जको नियम पनि खारेज गर्ने बाइडेनको योजना छ ।

बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रमलाई पनि बाइडेनले पुनस्थापित गर्ने र लम्बाउनेछन् । अमेरिकामा ट्रम्प प्रशासनले शरणार्थीहरु स्वीकार गर्ने बार्षिक कोटा १५ हजारमा झारेकोमा त्यसलाई बढाएर १ लाख २५ हजार बनाउने बाइडेनको योजना रहेको छ । जुन ओबामाको बेलाको भन्दा पनि बढी हो ।

अमेरिकामा रहेका ११ मिलियन कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजान अध्यागमन सुधारको योजना ल्याउने बाइडेनको योजना रहेको छ । त्यस्तै कृषि क्षेत्रमा काम गर्नेहरुका लागि नागरिकताको प्रकृया छिटो बनाउनेदेखि रोजगारमा आधारित ग्रिनकार्डका लागि विभिन्न देशमा लगाइएको कोटाको सिमाबन्दी खारेज गर्ने बाइडेनको योजना छ ।

अध्यागमन सुधारका क्षेत्रमा सन् १९८६ देखि संसदबाट कुनै बिल पारित भएको छैन । संसदको सिनेटमा रिपब्लिकनको पकड कायम भएको खण्डमा बाइडेन प्रशासनले पनि अध्यागमन सुधारका क्षेत्रमा उल्लेख्य कदम चाल्न मुस्किल हुनेछ ।

बाइडेन अहिले अमेरिकामा कैयन आप्रवासीहरुका आशाका केन्द्र बनेका छन् । तर आप्रवासीहरुले ओबामा राष्ट्रपति र बाइडेन उपराष्ट्रपति भएकै बेलामा अमेरिकाबाट ट्रम्पको कार्यकालमा भन्दा पनि धेरै देशनिकाला भएको तथ्य भने बिर्सेका छैनन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com