‘अंगिरा गएपछि दुई छाक भात पाकेको छैन’


प्रकाशित मिति : कार्तिक ७, २०७७ शुक्रबार

– अस्मिता खड्का, देवदहबाट फर्केर

‘त्यो दिन मेरा लागि कालो थियो । जुनदिनले मेरो छोरी, म बाट सधैँको लागि खोसेर लग्यो, नानी ! ’

अंगिराकी आमा शान्तिदेवी पासीको कुराले मलाई सुरुमै निशब्द बनाई दियो । अब म के कुरा गरौँ ? बोलौँ त, के बोलौँ ? मसँग भन्नुको लागि केही थिएन ।
बस,मौन बसेँ !

केही समयको मौनता तोड्दै भनें, ‘आमा, अब अंगिरा फर्केर त आउँदैन तर न्याय दिलाउनका लागि म पनि बोल्ने छु ।’

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

शान्तिदेवीले चुपचाप सुनिरहिन् ।

मलाई थाहा छ, यो कुरा उनका लागि नौलो थिएन । यस्तो कुरा उनलाई धेरैले भनिसकेका छन् ।

यस्तो कुरामा उनलाई रत्तिभर विश्वास छैन । किनकी राज्य र समाज मिलेर बलात्कारीको हातमा १३ वर्षीय कलिलो छोरीलाई सुम्पिदिए र हत्या नै गरे ।

रुपन्देहीको देवदहकी १३ बर्षकी अंगिरा पासीलाई बलात्कार गर्ने केटाकै जिम्मा लगाइएपछि गत जेठमा देवदहको रोहिणी खोला किनारामा उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको थियो ।

घटनाको ४ महिना बितिसकेको छ ।

अधिकारको लागि आवाज उठाउने संघसंस्था पनि अहिले मौन छन् । घटना भएको केही दिनसम्म पत्रपत्रिकाहरुमा बिभिन्न शीर्षकहरुमा समाचार छापिए । अधिकारकर्मीहरु सामाजिक सञ्जालमा ठूलाठूला शब्दसँग खेले ।

घटनामा संलग्न कथित माथिल्लो जातका मानिसहरु हिरासतमा छन् । कतिबेला छुटेर आउने हुन् भन्ने डरले शान्तिदेवीलाई दिनरात सताइरहेको छ ।

असोज २८ गते म उनको घरमा पुग्दा घर सुनसान थियो । गाउँका एकदुई जना महिलाहरु मात्र उनीसँग कुरा गर्थे । अंगिराको न्यायको लागि बोल्ने अहिले कोही छैनन् । न त सामाजिक संस्था, न त अधिकारकर्मी ! महिनौ भयो, कसैले फर्केर हेरेका छैनन् ।

हारेको अनुहार, गलेको शरिर र बलात्कारपछि मारिएकी छोरी अंगिराको न्यायको खोजीमा टोलाएका शान्तिदेवीका आँखामा तिनै पापीहरुको डर छल्केको देखिन्थ्यो ।
किनभने उनलाई पटक—पटक धम्की समेत आउने गर्छ ‘हाम्रो विरुद्ध बोलिस् भने अर्को लास उठ्नेछ ।’

बलात्कृत अंगिरा भेटिएको स्थानको सिमलको रुख ।

छोरीको पीडाले मक्किएको शरिर कतिबेला कहाँ ढल्छ थाहा छैन ।

‘छोरीलाई न्याय दिलाउन पाए मनमा शान्ति हुन्थ्यो कि ।’ बिस्तारै शान्तिदेवीले कुरा खोलिन् ।

कुरा गर्दैै जाँदा छिनमै टोलाउँछिन् । छिनमै मौन बस्छिन् ।

छोरीको बलात्कार, बालविवाह, जातीय भेदभाव त्यसैपछि हत्याको वियोगमा परेकी विवश शान्तिदेवी मानसिक रुपमा समेत कमजोर बनिसकेकी रहिछन् ।

‘घटनाबारे बुझ्न धेरै आए । धेरैले, धेरै थरी कुराहरु सोधे । तर मेरो अवस्थाबारे कसैले बुझ्न खोजेनन् । छोरीको घटनापछि धेरै टाउको दुख्छ, जतिबेला पनि शरिर गल्छ, स्वास नै बन्द भएजस्तो हुन्छ, मन आत्तिन्छ, शरिर र मुटु काम्ने गर्छ, नानी ।’ शान्तिदेवीले यसो भन्दा स्वर पनि कापिरहेको थियो ।

‘आमा, म कमाएर सानो भएपनि टिनको छानो हालेर घर बनाउँछु भन्थी ! तर, नानी पापीहरुले मेरो छोरीलाई मारिदिए । अंगिरा मेरी छोरी मात्र होइन, साथी पनि थिइन् ।’ अंगिरालाई सम्झंदा भक्कानो फुट्छ शान्तिदेवीको ।

कलिलो उमेरमै अंगिरा घरको अभिभावक बनेकी रहेछन् । ज्यालादारी गरेर घरको लागि नुन तेलमात्र होइन, हजुरबुबाको किरीया गर्दा लागेको ऋण र आमालाई खाना पकाउन सजिलो हुन्छ भन्दै कर्जा लिएर किनेको ग्यास चुल्होको किस्ता तिरिरहेकी थिईन् ।

अंगिरा चढ्ने गरेको साइकल ।

तर, त्यो किस्ता चुकाउन बाँकी नै थियो, अंगिरा अस्ताईन् । घरको छानो छ तर ढोका छैन । वर्षामा पानी भित्र बस्छ, गर्मीमा घामले सताउँछ ।

गरिब परिवारकी टुहरी छोरी घरबाट काममा निस्कनु बाध्यता थियो । तर, कथित माथिल्लो जातको पगरीभित्र पैसाले मात्तिएको वीरेन्द्र भरको शिकार बन्न पुगिन् । बुबाको मृत्युपछि विद्यालय छोडेकी अंगिरा आमाको हात बटाउन दिनभर ज्यालामजदुरी गर्थिन् । रोजगारका लागि भारत पुगेका उनका बुबाको त्यही मृत्यु भएको थियो । अंगिरा घरखर्च चलाउन तीन वर्षदेखि आमासँगै ज्यालामजदुरी गर्न हिड्ने गर्थिन् ।

‘जमिन छैन, छोराको मुख हेरेर मजदुरी गर्न निस्कन्छु, तर काममा हात लाग्दैन । बिहानदेखि बेलुकासम्म काम गरे ४ सय रुपैयाँ कमाई हुन्छ । तर सधै काम पनि मिल्दैन ।’

‘घरमा साँझ बिहान अंगिराले खाना पकाउँथी । मैले गोबर फाल्ने, बस्तुलाई घाँसपातको काम गर्थें । तर, अहिले मेरोमा दुई छाक खाना पाक्दैन नानी । खान मन पनि लाग्दैन । कमाई पनि छैन । डर त लाग्छ तर पनि छोरालाई मजदुरी गर्न पठाएकी छु । म पनि मजदुरी गर्न जान्छु । छोरीलाई न्याय दिलाउन म जसरी पनि बाँच्नुपर्छ नानी ।’

कोही भन्छन्, ‘गाउँमा अब तिम्रो कोही हुन्न, उनीहरु छुटेर आउँछन्, उनीहरुलाई समातेको देखावटी मात्र हो ।’

कोही भन्छन्, ‘मुद्दामामिला नगरेर यही गाउँमै २÷४ लाख लिएर मिलाएको भए तिमीसँग पैसा हुने थियो । तिम्रो घर बन्ने थियो । मुद्दामामिला गरेर तिमी शत्रुमात्र जन्मायौ । ’

उनीहरुको कुराले शान्तिदेवीलाई झन् धेरै मानसिक पीडा थपेको छ । शुरुमा केटाका मान्छेहरुले दुई चार लाख लिएर मुद्दा फिर्ता लिन धेरै दबाब दिए । विभिन्न तरिकाले अहिले पनि यस्तो दवाव आइरहेकै छ ।

रुपन्देही देवदह नगरपालिका वडा नं–११ बडकी गुम्मीमा जेठ ९ गते शुक्रबार राती अंगिरालाई घर अगाडीको सिमलको बुटामूनी गाउँलेले भेटाए । अंगिरालाई ललाई फकाई वीरेन्द्र भरले उठाएर लगेको रहेछ । यस्तो घटना भएपछि अर्कोदिन बिहानै गाउँका सबै जम्मा भए ।

वडाअध्यक्ष र टोलविकास समितिका अध्यक्षसहित जम्मा भएको हुलले अंगिरालाई बलात्कारी वीरेन्द्रको श्रीमती बनाएर उसैलाई जिम्मा लगाए ।

सयौँ मान्छेको भीडबाट वडाध्यक्षले वीरेन्द्र भर लाई सोधे, ‘तैंले लिएर जान्छस् ?’ जवाफमा उनले भने, ‘लान्छु ।’

वडाध्यक्षले अंगिरालाई पनि सोधे, ‘तँ के गर्छेस् ?’ ती अबोध बालिकाले भनिन्, ‘मेरो इज्जत यसैसँग गएको छ ।’ म अब अरु के गर्न लायक नै छु र ?

छानोमात्र भएको ढोका नभएको घर अगाडि अंगिराकी आमा शान्तिदेवी ।

१३ वर्षीय बालिकालाई जबर्जस्ती वा फकाएर शारीरिक सम्बन्ध राख्नु कानुनी रूपमा बलात्कार हो, जघन्य अपराध हो । तर पनि बलात्कारीलाई जेल पठाउनुको साटो २५ वर्षीय वीरेन्द्रसँग बिहे गर्ने फैसला सुनाइयो ।

कानुन भन्छ, ‘जानेर वा नजाजेर बलात्कार जस्ता अपराधिक घटनामा मिलाउन गराउन भूमिका खेले जनप्रतिनिधिविरुद्ध मुद्धा चलाउने छ ।’

यो कुरा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलद्धारा पछिल्लो पटक जारी गरेको विज्ञाप्तमा उल्लेख छ ।

तर, अंगिरा गरिब टुहुरी र दलित छोरी अंगिराका हकमा कानुन लागु भएन ।

बालिकालाई आफूमाथि भएको अपराध र आफूले पाउनुपर्ने न्यायबारे थाहा थिएन । न त उनकी आमालाई कानुनको दफाबारे जानकारी थियो । तर राज्य संयन्त्रको सार्वजनिक पदमा बसेका जिम्मेवार ब्यक्ति समेत अपराधमा सामेल भए ।

शान्तिदेवी र अंगिराका लागि बलात्कारी वीरेन्द्र मालिक थिए, जहाँ उनीहरु कामदार थिए । अंगिरा वीरेन्द्रको घरमा काम गर्न जाने गर्थिन् ।

गाउँको चौराहामा खडा गरेर अंगिरालाई अनेक-अनेक प्रश्न गरियोे । कतिले गाली गरे, कतिले अपशब्दले फलाके । शान्तिदेवीले पनि के गर्ने र कसो गर्ने केही मेलोमेसो पाइनन् । उनको ध्यान गाउँका बिरादरी र वडाध्यक्षले के भन्ने हो भन्नेमै थियो । तर उनीहरुले बलात्कारीको हातमा अंगिराको जिम्मा लगाए ।

मृतक अंगिरा पासी ।

अंगिराकी दिदी र छिमेकीहरुले लिखित कागज बनाउन अनुरोध गरे, तर उनीहरुको कुरा कसैले सुनेन । उनीहरुलाई राम्रोसँग थाहा थियो, यस्ता घटनाहरु मिलापत्र गराउनु अपराध हो भन्ने ।

 

अपराह्नको रातो घाम रोहिणी खोलामा डुब्ने बेला हुनै लागेको थियो । एक्कासी गाउँलेहरु रोहिणी खोलातिर कुद्न थाले । सुरुमा त शान्तिदेवीले के भयो कसो भयो मेसो नै पाइनन् ।

उनलाई छिमेकीले आएर भने, ‘अंगिरा त रुखमा झुन्डिएकी छिन् रे । तपाईले थाहा पाउनुभयो ?’

त्यसपछि एउटी आमाको अवस्था कस्तो भए होला ? जुन अकल्पनीय छ ।

खोला किनारमा बस्तुभाउ चराइरहेका गोठालाले भिलोरको रूखमा शव झुन्डिरहेको देखेका रहेछन् । एकै छिनमा पुष्टि भयो, त्यो अंगिराकै शव थियो ।

जिल्ला न्यायाधिश कृष्णप्रसाद पौडेलको एकल इजलासले प्रतिवादी देवदह नगरपालिका–११, बड्कीगुम्मीका २५ वर्षिय कोइला भन्ने विरेन्द्र भर, उनकी आमा ५० वर्षिया अकाली र ५५ वर्षिया ठूलीआमा शितलीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनीहरु थुनामै छन् ।

नाबालिकालाई जबर्जस्ती विवाह गर्न दबाब दिने ‘सामाजिक मतियार’लाई समेत कानुनले सजायको व्यवस्था गरेको भएपनि आजसम्म वडाअध्यक्षलाई कुनै सोधपुछ भएको छैन । पुर्पक्षका लागि हिरासतमा रहेका तीन जनाको बयान अदालतले लिइसकेको छ । उनीहरुले दिएको बयानबाट बलात्कार गरेको, जातिय विभेद तथा छुवाछुत गरेको ठहर भएको छ ।

अभियुक्त वीरेन्द्र भरकी आमा र ठूलीआमाले जातिय भेदभाव तथा छुवाछुत गरेको तथ्य बयानमा स्पष्ट देखिन्छ । घटना भएको ६ महिना भयो तर अदालतले दुबै पक्षबाट बयान लिए पनि घटना अनुसन्धानमा रहेको भन्दै कुनै किसिमको फैसला सुनाएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com