समाजवाद उन्मुख संविधान भएको देशका पीडित जनता र महँगो कोरोना परीक्षण


प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार

– किशोर नेपाल

देशमा हताशा छ । राजधानी क्वारेन्टिनमा छ । देशका बाँकी शहर आइसोलेसनमा छन । अवस्था साँच्चै खराब छ । केही दिन अघि सरकारका स्वास्थ्य प्रवक्ताले जनतालाई कोभिड सूचनादिदै भनेका थिए, ‘बेहोस नभएसम्म अस्पताल नजानुहोस ।’

स्थिति पनि त्यस्तै थियो । काठमाडौं शहरका अस्पतालमा बेड थिएनन । आइसीयू थिएनन । भेन्टिलेटर थिएनन । सबैको गुनासो त्यही थियो । बिज्ञहरु भने अस्पतालमा भएका आइसीयू र भेन्टिलेटरको हिसाव निकाल्दै थिए । हिसाव एउटा कुरा हो । हिसावमा आइसीयू र भेन्टिलेटर भएपनिअस्पतालले आफूसंग त्यस्तो सुविधा नभएको बताएपछि हिसावको अर्थ नै के भो र ? हिसाव त हुँदै गर्दछन । जस्तो कि, सरकारी प्रशासन यन्त्रले गरेको भ्रष्टाचारजस्तो त्रुटीपूर्ण कार्यको लेखाजोखा सरकारकै लेखा परीक्षण र महालेखा परीक्षक नामको संबैधानिक अंगले गर्ने गरेकै छन ।

महामारी छ: महामारीको यो समयमा सरकार जनतालाई ढाडस बाँडदैछ । बेसार पानी खानुहोस, गुर्जो–तुलसीको रसपान गर्नु होस । कोरोनाबाट बच्नु होस । एकैप्रकारका यी सन्देश सुन्दासुन्दै जनता वाक्क भइसके । सरकार मान्नै तयार छैन, भ्याक्सिनको जन्म नभएसम्म कोरोनाको प्वाँख झर्नेवाला छैन ।

यस्तो कुरागर्न मिल्दैन । पर्यटन मन्त्री योगेशकुमार भट्टराईको निकै धाक छ समाजमा । प्रधानमन्त्री खड्गप्रसाद ओलीले त उहिले, चुनाव प्रचारकै बेला, भनेका थिए – तपाई जनताले चुनाव जिताएर पठाउनुहोस, मन्त्री बनाउँछु योगेशलाई । मन्त्रीबन्न उनले निकै पापड बेल्नु पर्यो । अब अहिले, जब उनी कोरोना भगाउन भगवान पशुपतिनाथका सामु भजन गाउँदै थिए, झन फैलियो कोरोना । त्यतिमात्रै होइन, उनी आफै कोरोनाको फन्दामा परे ।

सातादिन अघि भरतपुरको भ्रमणमा गएका बेला चितवनका अस्पतालले थेग्नेगरी मानिसको भीड थियो । यो साता फेरी भरतपुरजाँदा देखियो, सबै अस्पतालहरुमा भीड बढेकोछ – अस्पतालले मानिसलाई थेग्नै नसक्ने गरी । अस्पतालमा बसेका बिरामी कुरुवाहरु कन्ट्रयाक्ट ट्रेसिंगमा परेका छन । आइसोलेसन, पीसीआर र फेरी आइसोलेसन । देशमा समाजवाद उन्मुख संविधान बनेको छ । तर, जनता पीडित छ र मर्दैछ ।

सरकारले सोचेको छ – नेपालमा पीसीआर जाँच गराए बापत दुइहजार रुपियाँ पनि तिर्न नसक्ने गैवार त को होला र ? जनताका लागि कोरोना जँचाउनका लागि मात्रै जहानै पिच्छे दुइहजार रुपियाँ तिर्नपर्नु बास्तबमा गरुंगो भारी हो भन्ने किन नबुझेको सरकारले ?

प्रम ओलीको भनाइ छ – नेपाली जनता भोको बस्नुपर्ने अवस्थामा छैनन । कोरोना महामारी शुरु भएपछि भारतबाट देश फर्किएको धनबहादुर देशमा आफू र जहान–परिवार भोकभोकै बस्नुपर्ने अवस्थामा पुग्यो । त्यो अवस्थाबाट मुक्तिको एउटै बाटो र बिकल्प थियो फेरी भारत प्रवास । यस्ता मानिसमा धनबहादुर एक्लो थिएन । उसका अगाडि हजारौ र उसका पछाडि हजारौ नेपाली लाम लागेर उभिएका थिए नेपाल–भारत सीमानामा ।

नानपाराको रेल स्टेशनमा भीड लागेको थियो भने, बस, जीप, मिनी बस, ट्रयाक्टर सबैतिर थियो नेपालीको घुईंचो । फोटो पत्रकार र शब्द पत्रकारहरुले यो समाचारलाई प्रमुख बनाएर छापेका थिए । तर, प्रधानमन्त्रीलाई यो भीड र घुईंचोबारे कुनै चासो थिएन । उनी चितवन जिल्लाको माडी छेउको अयोध्यापुरी मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मभूमि भएकोले त्यहाँ पुरातात्विक उत्खननगर्ने निर्देशन दिदै थिए आधादर्जन पुरातत्वविद्हरुलाई । ती मध्ये कसैले सपनामा पनि अयोध्यापुरी देखेका थिएनन । देख्नु त के, अनुमान सम्मपनि गरेका थिएनन ।

देशको इतिहास जर्जर भै रहेको अहिलेको अवस्थामा देशका कलमवाजहरु पनि शिथिल भएका छन । सम्पादकहरु आफना सहकर्मीहरुसंग जूम मिटिंग गर्छन । पत्रकारहरुका ठूला साना अफिस छन । ती अधिकांश खुल्ला छैनन । नागरिक दैनिकका राजनीतिक समाचार प्रमुख बालकृष्ण अधिकारी अनुशासित ब्यक्तिहुन । तर, कोरोनाले यी भलाद्मी पत्रकारलाई पनि चिनेन । उनले कोरोना संक्रमणबाट उम्किएपछि लेखेको अनुभव मननयोग्य रहेकोछ ।

पत्रकार उमेश श्रेष्ठ कोरोना संक्रमित भएका थिए । केही दिनको आइसोलेसन र पछिल्लो पीसीआर परीक्षण निगेटिभ आएपछि उनले दंग परेर मलाई लेखेका छन – अब तीन महिनासम्म संगिनी सुइ लाएजस्तै ढुक्क हो दाइ । भाइरसले नयाँ रुप नलिएसम्म नेचुरल भ्याक्सिन । उमेशसंगै संक्रमणको शिकार भएका केपी ढुंगाना, स्वेच्छा राउत, कन्चन र अरुपनि अहिले मुक्त भएका छन् । उनीहरुले यो त्राशबाट सदाका लागि मुक्ति पाउन कोरोनाको भ्याक्सिन आउनै पर्छ ।

जनताले यसपटक छनोटको राम्रो मौका पाएका छन । पत्रकारहरु जनताको साथमा छन । पत्रकारिता गर्दागर्दै चितवनका चारजना कोरोनाको मारमा परेका छन । काठमाडौं, बिराटनगर, जनकपुर, बीरगन्ज, बुटवल, नेपालगन्ज, सुर्खेत– मेची महाकाली– देशको चारैतिर छपक्कै छ कोरोना । पत्रकारमात्रै के भीमसेन हुन र जोगिउन् यसबाट ?

अरु त ठीकै हो । देशमा जतिबेला साबधानी चाहिएको थियो, त्यतिबेला कोरोनालाई ठट्टा ठानियो । अहिले कोरोना चम्किएकोछ । सरकार आत्तिएकोछ । उ अनुहारमा झूठो साहसको मजेत्रो ओढेर दुनियाँलाई तर्साइ रहेकोछ । कोरोना र अर्थतन्त्र एकैसाथ नचल्ने देख्दादेख्दै सरकार नदेखे झैं गर्दैछ । अहिलेको त्राश यही हो । अज्ञानी जनता र प्रतिक्रियात्मक सरकार भएपछि ठानेहुन्छ – अगाडि बरबादी छ ।

नेपालमा अव त सबैले मानेका छन् कि  कोरोना ठट्टागर्ने कुरा होइन । यो हाँस्ने हँसाउने कुरा होइन । भन्छन – चीनियाँको हातबाट भाइरस उम्कियो । अब उनकै हातबाट नेपालीले मोवाइल बोकेको हातहातमा जोक र शोकको बर्षात भै रहेकोछ । कुछ तो शरम करो भैया !

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com