अनुभव: किशोर नेपाल: मास्कमा निसासिएको काठमाडौं र डेढसय किलोमिटर कोरोना अनुभव


प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार

– किशोर नेपाल

बत्तीसपुतली, काठमाडौ–९ देखि भरतपुरसम्म, लगभग १५० किलोमिटर राजमार्गका दुबैछेउ हेर्दैजाँदा यहाँका बस्तीलाई कोरोना महामारीले छोएको जस्तो कतै लागेन । नागढुंगाबाट केही किलोमिटर ओरालो लागेपछि चन्द्रागिरि नगरपालिकाको सीमा सकिन्छ । त्यसपछि शुरुहुन्छ धादिंगको धुनिबेशी नगरपालिका । धुनिबेशी नगरपालिकाको सीमादेखि काठमाडौ महानगरसम्मको दूरी त्यस्तै बीस किलोमिटर जति होला ।

तर, काठमाडौ महानगरमा शीतल समीर चलेरपनि मानिस मुहारमा लगाएको मास्कले निसासिएकोछ, स्यानिटाइजरले लपक्क भिजेकोछ, साबुन–पानीसंग ‘एलर्जिक’ भएर पनि, मिची मिची हात धून ब्यस्तछ । धुनिवेशी नगरपालिकामा मानिसको मुहारमा मास्क छैन, रक्सीको गन्ध आउने स्यानिटाइजर रक्सी पिउने लत लागेका बाहुन–क्षेत्रीको घरभित्र समेत हुल्न निषेधछ । हात भनेको भातखाने बेलामा धुने हो । अरुबेला के लाई धुनु ? बाल मतलब !

धुनिबेशी नगरपालिका अन्तर्गत पृथ्वी राजमार्ग छेउछाउका प्रख्यात बस्ती हुन: खानीखोला, नौबिसे, धार्के र महादेव बेंशी । त्यसबाहेक अन्य साना–ठूला बस्ती पनि होलान ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

यो पूरै बस्तीमा मुहारमा मास्क लगाएका एकजना मानिस देखिएन ।

गरीबसंग मुखमा माड लगाउने पैसा थिएन, मुहारमा मास्क कसरी लगाओस ? किन्ने पैसा नभएर थिएन होला । तर, मुहारले नै पैसावाल भनेर चिनिने मानिसको मुहारमा समेत मास्क नदेखिनु आश्चर्य थियो ।

सरकारले कोरोना बिरुध्द टेलिफोनमा मुहारमा मास्क लगाउने नारा सुनाएकैछ । कोरोना लागेको नलागेको जाँच्न दुइहजार रुपैयाँ लाग्ने समाचार पनि सुनाएकैछ । सरकारको नारा लोक–कल्याणकारी समाजको निर्माण भएपनि निर्धन जनताको कोरोना परीक्षण निःशुल्क गराउन सक्दैन ।

हरेकदिन कोरोनाले यति बाँचे र यति मरे भन्ने चाहीं सुनाएकैछ । जिउँदा मानिसको पीसीआर परीक्षण निःशुल्क गराउने क्षमता नभएपनि, सरकारले मसानमा परीक्षक पठाएर मृतक कोरोनाले मरेको हो भन्ने पत्ता लगाउने गरेकोछ । ‘यो भन्दा बढी हामी के नै गर्न सक्छौं र ?’ सरकारका अधिकारीहरुको स्पष्ट भनाइ छ ।

कुरा गर्दै थिएँ चितवन यात्राको । हामी आनन्दकुमार माझीको ट्याक्सीमा थियौं । धुनिवेशी कटेपछि सडकमा मास्क लगाएका मुहार भेटिने अनुमान थियो मेरो । गल्छी र बैरेनीमा पनि अवस्था उस्तै थियो । मास्क कसैको अनुहारमा थिएन । बैरेनी कटेपछि हामी हेमलेट रेष्टुराँमा रोकियौं चिया नास्ताका लागि । त्यहाँ स्यानिटाइजरको प्रबन्ध थियो ।

आगन्तुकहरुलाई मास्क लगाएरमात्र रेष्टुराँमा प्रवेशगर्ने सार्वजनिक अनुरोध थियो । सफाई पनि, अघिपछिको तुलनामा, केही बढी नै गरिएको थियो । कामदारहरु पनि सबैले मास्क लगाएका थिए । रेष्टुराँ मालिकले सरकारको सुरक्षा सम्बन्धी निर्देश राम्ररी पालन गरेको र गराएको थियो ।

तर पनि, हातका औंलाहरु सबै एकनासका नभएझैं रेष्टुराँका ग्राहकहरु  एकनासका थिएनन । रेष्टुराँमा आउने हामी बाहेक अरु कसैको मुहारमा मास्क देखेनौ हामीले ।

mask
फोटो: क्लाउडियो स्वेर्ज

त्यहाँबाट निस्किएपछि, म सोच्दै थिएँ, गजुरी र मलेखुतिर मुहारमा मास्कवाला निकै भेटिएलान । गजुरी धादिंग जिल्लाको सानो तर एडभान्स बजार हो । यहाँ सेनाको ब्यारेक र ब्यांकहरु छन । मूल रुपले सरकारी र अध्र्द सरकारी कार्यालयमा खटिएर आएका तथा डेरामा बस्ने कर्मचारीहरुका कारण गुलजार भएकोछ गजुरी । मलेखु त माछा बजार नै भै हाल्यो ।

यी दुबै बजारमा घुमफिर र किनमेलगर्ने मानिसको मुहारमा मास्कको दर्शन भएन । मलेखुपछिका चुमलिंगटार र कुरिनटार जस्ता रमाइला बस्तीमा मुहारमा मास्क बिहिन मानिसको चहल–पहल थियो । मनकामना केबुलकारको मूल व्दार वरिपरिको बजार सूनसान थियो ।

मनकामना माइको मन्दिर सरकारले बन्द गरिदिएको थियो कोरोनाका कारण । मन्दिर नै बन्द भएपछि केबुलकार कसले चढने ? त्यसैले केबुलकार पनि चलेको थिएन । त्यसपछिको प्रसिध्द मुग्लिन बजारमा पनि मुहारमा मास्क नलगाएका मानिसहरुकै चहल–पहल बढी थियो ।

मुग्लिनबाट भरतपुरतिरको यात्रामा पनि मानिसको मुहारमा खासै मास्क देखिएन । भरतपुरमा स्वास्थ्य दर्पण पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक तथा त्यसै नामको टेलिभिजन कार्यक्रमका संचालक संदीप श्रेष्ठसंग भेटभयो । संदीप अहिले लायन्सका अभियन्ता पनि हुन । उनले चितवन जिल्लामा कोरोना महामारीको शुरुआतमा त्यसका बिरुध्द सचेतना फैलेको थियो ।

त्यतिखेर कोरोना महामारीले मरेकाहरुको लाश सरकारले सेना लगाएर गाडने वा पोल्ने गराउँथ्यो । यसको कारण के थियो ? अहिलेसम्म कसैले बुझेको छैन । तर अब, परिस्थिति सामान्य भै सकेको छ । पहिलो चरणमा मानिसहरु कोरोना लागेका मानिसको लाश छुन, बोक्न र जलाउन हच्किन्थे । पछि, घृणाको त्यो लहर रोकियो ।

अहिले त नारायणघाट र भरतपुरका बजारहरु उन्मत्त देखिन्छन । चितवनका ठालु किसानहरु आफनो रुखमा फलेका एभोकाडो ठेकदारको जिम्मा लगाएर आफू भाटभटेनी सुपरस्टोरमा किनेर खान्छन । भाटभटेनी सुपरस्टोरमा बाहिर बजारमा भन्दा सस्तो सामान पाइन्छ भन्छन उपभोक्ता । यो सुपरस्टोर दुवइ, कतार, कुवेत, कोरिया, मलेशिया, रियाद लगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएका मानिसहरुको बिलाशको केन्द्र बनेकोछ ।

चितवनमा २०३८ जनालाई कोरोना लागेकोमा १७ जनाका मृत्यु भएकोछ । यो रजिष्टर्ड केस हो ।

रजिष्टर्ड नभएका केस धेरै छन, संदीप बताउँछन । यो अवस्था चितवनको मात्रै होइन, सम्पूर्ण देशको हो । सरकारको असक्षमताका कारण बढीभन्दा बढी पीसीआर जाँच हुन सकेको छैन । सरकारले अघिल्लो साता निषेधाज्ञा फिर्तालिएर होटल, रेष्टुराँ र सार्वजनिक यातायात माथिको रोकटोक हटाएपछि चितवनमा चहल–पहल निकै बढेकोछ ।

भरतपुर महानगरमा बढीमा तीस प्रतिशत नागरिकले मात्रै आफनो मुहार मास्कले ढाक्ने गरेको अनुमान गर्न सकिन्छ । अधिकांश मानिसको मास्क कि उसको कमीजको खल्तीमा हुन्छ कि चिउँडोमा झुण्डिएको हुन्छ । सरकारी कार्यालय वा मास्क अनिवार्य गरिएका कार्यालयमा जाँदामात्रै मास्कको उपयोगिता झल्किन्छ ।

चितवनका मानिस रौसिया स्वभावका छन । साँझको भेटघाटले सामाजिक चलनको रुप लिइ सकेकोछ ।

सरकारले निषेधाज्ञा फिर्तालिने बित्तिकै उनीहरु जम्न थाली हाले । एकातिर आपसी रमाइलोको बिषय छ, अर्कोतिर कोरोना महामारीको चुनौति छ ।

चितवनवासीमा आत्मबल त छ । तर, के आत्मबलले मात्रै कोरोनालाई पछार्न सक्ला मानिसले ? यो जीवन्त र ज्वलन्त प्रश्नको उत्तर चितवनवासीलाई मात्रै होइन, नेपाली जनतालाई चाहिएकोछ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com