भ्रष्ट शासकिय स्वरुप अंगाल्नु परिवर्तन र विकासका आन्दोलनप्रति गद्दारी

प्रकाशित मिति : भाद्र ६, २०७३ सोमबार

-नवराज सुवेदी

राजनीतिक अस्थिरताका कारणले देशको अर्थतन्त्रको बृद्धि र औधोगिकरणको एजेण्डा धरापमा परेको छ । बेरोजगारी दिनप्रतिदिन बढिरहेको छ । देशको विकास अबरुद्धनै छ । यसको दुस्परिणाम जान्दा जान्दै पनि त्यही शासकिय स्वरुप अंगाल्नुले भुलमात्र भएको छैन कि नेपाली जनताले परिवर्तन र विकासका लागि गरेको आन्दोलनप्रति गद्दारी र अपराधनै भएको छ ।

संसदिय प्रणालीको अभ्यासमा राजनीतिक दल सरकारमा पुग्न प्रतिस्पर्धा गर्नु स्वभाविक नै हो तर ,प्रतिस्पर्धाको नाउँमा नेपालमा सरकारको स्वरुप ज्यादैनै अस्थिर हुने गरेको छ ।दश बर्षमा बाईस वटा प्रधानमन्त्री फेरेर नेपालले अस्थिरताको रेकर्ड नै कायम गरेको छ ।नेपाली काग्रेंस,राप्रपा ,मधेसवादी दल र अन्य केहि साना दलको सर्मथनमा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ३९ औँ प्रधानमन्त्री बनेका छन् ।एमाले भने प्रतिपक्षमा बसेको छ । संविधान र संघियता कार्यन्वयनका निम्ति प्रमुख दलहरु सरकारमा सम्मिलित भएको भए सहजता हुनेथियो भन्ने भनाई पनि युक्ति संगत नै छ । तैपनि त्यसो हुन सकेन । संसदिय प्रणालिमा पहिलो र दोस्रो पार्टी क्रमश सरकार र प्रतिपक्ष रहनुपर्छ भन्ने भनाइ नेपालको संक्रमणकालीन सन्दर्भमा हुबहु लागू हुनुपर्छ भन्ने थिएन । त्यसकारण यो पूरानै सोचाइ हावी भएर दोस्रो ठूलो दल नेकपा एमालेले प्रतिपक्षमा बस्ने घोषणा गर्यो ।

सरकार बन्नु र ढल्नु नेपालमा २०४६ साल यता निरन्तरको प्रक्रिया बनेकोमा आश्चर्य मान्नु पर्दैन । त्यसो त ०४६ साल यताका कुनै पनि सरकारले आफ्नो कार्यकाल पाँचवर्ष पूरा गरेको इतिहास छैन । २०४८ सालमा गिरिजा प्रसाद कोइराला नेतृत्वको आफ्नै पार्टीभित्रको कचिंगलको कारणले विघटन भएको थियो । २०५१ सालको मध्यावधि निर्वाचनपछि मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको सरकार नौ महिना मात्र टिक्यो । त्यसपछि सरकार बनाउने र गिराउने चक्र निरन्तर चलिरहेको छ । सरकार बनाउने र गिराउने अंकगणीतको खेलसंग नेपालमा धेरै प्रकारका विकृतिका अभ्यास समेत विगतमा हुँदै आए । त्यस क्रममा ०५४ सालतिर राप्रपाका सांसदहरुलाई कृतिम बिरामी बनाएर बैङक्क सयर गराइयो । काँग्रेस–एमाले ले क्रमशः शङ्कर र समिट होटलमा तत्कालीन संसदिय संरचनाभित्रको एक सय तीनको खेलमा धेरै सांसदहरु क्याम्पीङ्ग गरेर राख्ने विकृत अभ्यास समेत गरे । सदनमा मतदानको आधा घण्टा अगाडिसम्म पनि कैयौँ साना दलका सांसदहरुले बार्गेनिङ गर्दै रहने र सरकार ढल्ने वा आफुले रोजेको मन्त्रालय पाईने पक्का भएपछि मतदानको केही छिन अगाडि मात्र आफ्नो कित्ताबन्दी प्रष्ट गर्ने जस्ता विकृतीका प्रत्यक्षदर्शी हामी आफै थियौँ । जनपक्षिय भूमिका निर्वाह गर्दै पुरातन संसदिय व्यवस्थाको भण्डाफोरमा त्यो बेला हामीले संसदिय व्यवस्थाको काल संसदिय व्यवस्थाकै हिमायती हुन भन्ने विषय बारम्बार गम्भिरताका साथ उठाएका थियौँ । तर,त्यत्तिवेला सत्ताको रसमा रमेकाहरुले हाम्रा भनाइलाई वेवास्था गरेँ । संसदिय खेलभित्र रमाएर उक्त विषयको गम्भिरतालाई वेवास्ता गर्नुको परिणाम आजसम्म त्यो विकृतीले नेपाली जनतालाई निरन्तर पिरोली रहेको छ ।

जनयुद्ध, जनआन्दोलन र विभिन्न समयमा भएका मधेस, आदिवासी, महिला तथा दलितले गरेका जनआन्दोलनले नेपालमा अरु क्षेत्रमा केही परिवर्तन भएपनि भ्रष्ट शासकिय स्वरुपमा परिवर्तन पटक्कै भएन ।

०५२/०५४ साल यता नेपाली राजनीतिको दुई दशकको चक्र पूरा भएको छ । त्यतिखेर विद्रोही बनेको माओवादी शान्ति प्रकृयामा आएको मात्र होइन,उसले पटक–पटक सरकारको मुख्य नेतृत्व समेत गरिसकेको छ । संविधानसभामा पहिलो स्थानमा पुगेको माओवादी धैरै चिरामा विभाजित भईसकेको छ । पछिल्लो पटक वैद्य समूहबाट केही व्यक्तिहरु माओवादी केन्द्रमा फर्के पनि क्रान्तिकारी माओवादीको एउटा धारा मोहन वैद्य सँगै रहेको छ । डा .बाबुराम भट्टराईले भने माओवादी आन्दोलन र धाराले गर्नुपर्ने काम गणतन्त्र ,संघीयता ,धर्म निरपेक्षता र समावेशी र समानुपातिक पद्धतिको स्थापनासंगै पूरा भएकाले अब माओबाद मात्र नेपाली समाजको विद्यमान अविकशित र पछौटे अवस्थालाई समाधान दिन पर्याप्त छैन भन्ने यथार्थपरक निष्कर्ष सहित नयाँ शक्ति पार्टी , नेपाल स्थापना गरेका छन् । नयाँ शक्ति पार्टी नेपाल छोटै समयमा देश र प्रवासमा विस्तार भएको छ ।

नेपालमा पटक–पटक भएका सशस्त्र र शान्तिपूर्ण आन्दोलनले नेपाली जनताको जनजीवनलाई प्रत्यक्ष रुपले उत्थान गर्न नसक्नु ठूलो अभिसाप हो । त्यसरी हेर्दा समय त धेरै बितेको छ, तर नेपाली राजनीतिको एउटा ठुलो बिडम्वना के भएको छ भने जतिसुकै क्रान्तिकारी दाबी गर्नेहरु पनि यथास्थितीबादीहरु भन्दा कति भिन्न छन् भन्ने सवाल टड्कारो रुपमा खडा भएको छ । कुनै समयमा कांग्रेस–एमाले पनि क्रान्तिकारी नै थिए , तर त्यो साख तिनले जोगाई रहन सकेनन् । अहिले यो कुरा माओवादी केन्द्रका बारेमा पनि लागू भएकै छ । किनकी उसले आफ्नो कुनै बेलाको क्रान्तिकारी साख जोगाउन सकेको देखिन्न । माओवादी केन्द्रको नेतृत्व गर्नेहरुले नत पुरातन शासकीय स्वरुप (संसदिय प्रणाली) लाई बदल्ने अडान राख्न सके नत त्यस किसिमको पुरानो संसदिय खेलबाट आफू चोखो बन्न सके । बरु सरकारको समिकरण फेर्न यसअघि पनि चाइनिज व्यापारीसंग पैसा माग गरेको भिडीयो सार्वजनिक हुँदासम्म त्यसलाई मौन रुपमा उनीहरुले स्विकार गरे ।

ओली नेतृत्वको सरकार बन्ने बेला ९ महिना अगाडी उनीहरुले ओली गठबन्धनलाई राष्ट्रवादी संज्ञा दिदैँ समिकरणको प्रसंसा गरेका थिए र उक्त गठबन्धनको मुख्य घटक बनका थिय । तर, अविश्वासको प्रस्तावसम्म पुग्दा सामन्ति राष्ट्रवादलाई बढावा दिएको आरोप लगाउन पुगे । ओलीमा कति सामन्तबादी र कति राष्ट्रबादी चरित्र छ, वा छैन त्यसको मुल्यांकन समयले गर्दै जानेछ । त्यसबारे ओलीको भने आफ्नै विश्लेषण छ । उनले पनि माओवादी केन्द्रका नेताहरुलाई स्वभाविक जवाफ सदनभित्र रमाइलो तरिकाले फर्काए । उनले भर्ने दिनमा तीन चोटी फेरिने बोली र राजनीति संभावनाको खेल हो भन्ने मान्यताको अपव्याख्या गर्दै जुनसुकै घाटको पानी पीउने बानीले भोली आफैलाई कहाँ पु¥याउँछ हेक्का राख्नु होला ।’ संसदलाई सम्बोधन गर्ने क्रममा ओलीले त्यति मात्र भनेनन् उनले माओवादी केन्द्रर्ले रहस्यमय ढङ्गले अविश्वासको प्रस्ताव ल्याएको सौदाबाजी,धोकाधडि र छिर्के दाँउ’ लगाएको जवाफ दिए ।

अविश्वास प्रस्तावको विरोध र समर्थनमा आएका ओली र दाहाल दुबैका अभिव्यक्तिहरुले नेपाली जनता र नेपालको भविस्य बुझेका मुख्यतः युवा शक्तिलाई पट्कै उर्जा भरेनन् । बरु निरुत्साहित मात्र गरे । नेपाली राजनीतिको अस्थिरताले नेपाल र नेपाली जनतालाई कति धेरै नोक्सान पुर्याउँदै आएको छ त्यो कुरा अब नेताले बुझ्न ढिला गरेको भए पनि जनता र युवा पुस्ताले बुझेका छन् । सवाल यहाँ पार्टी र व्यक्ति विशेषसको होइन, सवाल सरकारमा पुग्न पार्टीहरुले प्रतिस्पर्धा गर्न हुँदैन भन्ने पनि होइन, तर स्वस्थ्य खेलको विकास र अस्थिर राजनीतिक कारकको अन्त्यको हो । ०६२÷०६३ को गणतान्त्रिक आन्दोलनद्धारा हामी सबैले महत्वपूर्ण उपलब्धी हाँसिल ग¥याँै । यसबारे नयाँ शक्ति पार्टी नेपालको विश्लेषण अनुसार २००७ सालदेखिको आधुनिक नेपालको इतिहासमा नेपाली जनताले आफ्नो लोकतान्त्रिक संविधान लेख्ने तृष्णा ६६ वर्षमा पूरा भएको छ । अब स्थिर सरकार सहित आर्थिक समृद्धि र विकास तर्फ महत्वपूर्ण पाइला चाल्नुपर्दछ । यो विषय प्रति हामीसबै गम्भिर बन्ने बेला आएको छ ।

लोकतान्त्रिक आन्दोलनपछि पनि हामीले पुरानो र अस्थिर संसदिय शासन प्रणालीको विरासत बोक्दा ०५२/०५४ कै चक्रमा फर्किएको भान भएको छ । अहिले ओली र दाहालबीच जे जस्ता जुहारी चले पनि फेरि अर्को, सात आठ महिनामा दाहाल विरुद्ध त्यस्तै किसिमले अविश्वासको प्रस्ताव नआउला भन्ने कुनै ग्यारेन्टी छैन । त्यसैले अब हामीले आरोप र प्रत्यारोप भन्दा पनि स्थिर शासकिय स्वरुप अंगाल्ने पट्टि लाग्नु पर्दछ । त्यसो भनेको वालिगमताधिकारको आधारमा प्रत्यक्ष निवार्चित राष्ट्रपति वा प्रधानमन्त्रि हुने शासकिय स्वरुप स्थापना गर्नु पर्छ भन्ने हो । संविधानलाई दुईतिहाइ मतद्धारा संशोधन गरेर त्यसो गर्न सकिन्छ । जहाँसम्म जनताको मतको प्रश्न हो, जनताले यसबारे पहिलेनै वैधता दिएकै छन् । दोस्रो संविधान सभाको निर्वाचनपछि शासकिय स्वरुपका बारे जनताको प्रतिक्रिया माग्ने क्रममा वालिगमताधिकारद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थाको पक्षमा अत्यधिक बहुमत प्रकट गरेका थिए । तर, राजनीतिक दल–पहिले कांग्रेस र पछि एमाले त्यसबाटपछि हटेकाले त्यो सम्भव भएन । वालिगमताधिकारको आधारमा निर्वाचित कार्यकारी प्रमुख हुने पार्टीको घोषणापत्र बोकेर निर्वाचनमा गएका पुष्प कमल दाहाल पनि त्यो एजेण्डामा टिकिरहन सकेनन् । उनले पनि जनतालाई धोका नै दिए । यी सबै कारणबाट पुरानो संसदिय खेलको चक्र नेपालमा फेरि सुरु भएको छ । संसदिय शासन प्रणालीको अभ्यासले नेपालमा सकारात्मक परिणाम दिन सकेको छैन् । राजनीतिक अस्थिरताका कारणले देशको अर्थतन्त्रको बृद्धि र औधोगिकरणको एजेण्डा धरापमा परेको छ । बेरोजगारी दिनप्रतिदिन बढिरहेको छ । देशको विकास अबरुद्धनै छ । यसको दुस्परिणाम जान्दा जान्दै पनि त्यही शासकिय स्वरुप अंगाल्नुले भुलमात्र भएको छैन कि नेपाली जनताले परिवर्तन र विकासका लागि गरेको आन्दोलनप्रति गद्दारी र अपराधनै भएको छ ।

अब हामी सबैले नेपालको त्यो चित्र बदल्नु पर्दछ । झिना मसिना सवालमा विभाजित हुनुको सट्टा मूल राष्ट्यि प्रश्नमा एकजुट भएर हिड्ने साहस दलहरुले गर्नैपर्छ । साथै जनताले एक पटक चुनेर पठाएपछि कार्यकारी प्रमुखले ढुक्कसँग ५ वर्ष सरकार चलाएर आफ्नो क्षमता देखाउने अवसर पाउनुपर्दछ । त्यसले कर्मचारीयन्त्र र सुरक्षा अंगमा पनि पूर्ण उत्तरदायी भाव पैदा गर्दछ । यदि ५ वर्षमा त्यो सरकारले काम गर्न नसकेमा जनमतद्धारा अर्को नेतृत्वले फेरि चलाउने पद्धति नै अब नेपालमा सहि पद्धति हुनेछ । राजनीतिक अस्थिरताले देश पहिले देखि नै थिलो थिलो बनेको छ । विपन्नता बेरोगारी पछौटे पन र भूकम्पबाट ध्वस्त आर्थिक अवस्थाबाट मुक्त गरी देशलाई आर्थिक विकास र समृद्धिको बाटोमा डोर्याउन स्थिर शासकिय स्वरुपमा जानुको विकल्प छैन ।

सुवेदी नयाँ शक्ति पार्टी नेपालका नेता हुन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com