भूकम्पमा चौरबाट निकालिएको ‘नयाँ पत्रिका’ महामारीमा घरैबाटः सम्पादक उमेश चौहानको अनुभव


प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार

कोरोना महामारीको मार संचारक्षेत्रले  पनि चर्को रुपमा खेपिरहेको छ । एकातिर आर्थिक रुपमा संचारमाध्यमहरु मारमा परेका छन्, अर्कोतर्फ महामारीको बेलामा संचारकर्मीहरुको परिचालनमा समेत चुनौती थपिएको छ । यो अवधिमा फेसबुक, ट्वीटर, गुगल लगायतका कम्पनीहरुमात्र होइन, प्रख्यात अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले पनि टेलिवर्क विधि अपनाए ।

नेपालका कैयन राष्ट्रिय संचारमाध्यमले पनि यो विधि अपनाएर मिडिया संचालन जारी राखे । यद्यपी सबै काममा टेलिवर्क सम्भव थिएन । खासगरी टेलिभिजनहरुका लागि यो थप चुनौतीपूर्ण थियो भने पत्रपत्रिकाहरुको लागि पनि वितरण लगायतका काम चुनौतीपूर्ण रहे । यो अवधिमा नेपालका केही दैनिक संचारमाध्यम केही दिन बन्द हुने अवस्थामा पनि पुगे । तर नेपालको लोकप्रिय पत्रिका नयाँ पत्रिका दैनिक भने एकदिन पनि बन्द नभई संचालन भइरहेको छ ।

महाभूकम्पको बेलामा चौरबाटै निकालिएको ‘नयाँ पत्रिका’ कोरोना महामारीको अवधिमा कसरी संचालनमा रह्यो? कस्ता कस्ता चुनौतीको सामना गर्नुपर्यो?

सम्पादक उमेश चौहानसँग खसोखासकर्मी अस्मीता खड्काको कुराकानी ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

लकडाउनलगत्तै ‘नयाँ पत्रिका दैनिक’ ले कामलाई अगाडि बढाउन कस्तो योजना बनायो ? कोरोनाको चर्चा हुँदै गर्दा पूर्वतयारी थियो कि थिएन ?

कोरोना आउटब्रेक हुँदा दुनियाँमा यसरी फैलिएला भनेर अनुमान गरिएको थिएन । किनकि विगतमा पनि सार्स, इबोलाजस्ता संक्रामक रोग फैलिने आशंका भए पनि एउटा निश्चित समयपछि नियन्त्रित भए । धेरै देशमा फैलिन पाएन । यसपाली पनि कोरोना सुरुवात भएपछि युरोप, अमेरिकासम्म यो महामारीको रुप लिन्छ भन्ने हिसाब गरिएको थिएन ।

त्यसैले सुरुका दिनमा चीन र विशेषगरी वुहान सहरका बासिन्दाप्रति मात्र सहानुभूति राखेर चर्चा हुन्थ्यो । चीन र वुहान यो विपद्बाट छिट्टै मुक्त होऊन् भनेर कामना गरिन्थ्यो । नेपालमा विदेशबाट आएका मान्छेहरुबाट भौतिक दूरी कायम राख्नुपर्छ र उनीहरुलाई क्वारेन्टीनमा राखियो भने रोकथाम गर्न सकिन्छ भन्ने विश्वास थियो । त्यसैले सुरुका दिनमा स्यानिटाइजर र मास्क लगाउने व्यवस्थालाई नै पूर्वतयारी मानिएको थियो ।

कोरोना हाम्रै घरदैलोमा महामारीकै रुपमा आउँछ भन्ने अनुमान गर्न करिब तीन महिना लाग्यो । खासगरी इरान, इटाली र अमेरिकामा महामारीको रुप लिएपछि र छिमेकी भारतमा पनि संक्रमितको संख्या बढ्न थालेपछि नेपालमा लकडाउन गरिएको हो । आवागमन नियन्त्रित हुन्छ भन्ने अनुमान भए पनि त्यो कुन स्तरको हुन्छ भन्ने यकिन थिएन । त्यसैले यसका लागि त्यस्तो व्यवस्थित पूर्वतयारी कसैको पनि थिएन ।

खासगरी अन्तर्राष्ट्रिय उडानहरु रोकिएपछि संक्रमण नेपाल छिर्न पाउँदैन भन्ने विज्ञहरुको भनाइ थियो । दक्षिणी सीमा खुला छ र भारतमा हाम्रा नेपाली दाजुभाइ श्रम गर्न गएका छन् । उनीहरु लाखौँको संख्यामा फर्किन्छन् भन्ने अनुमान हाम्रो राज्य संयन्त्रले पनि गरेको थिएन । भारतबाट पनि मान्छे फर्किन थालेपछि उनीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टीनमा कसरी राख्ने भन्ने भन्दा पनि आउनै नदिने नीति सरकारले लियो । त्यसैको कारण पनि लकडाउन बढी कठोर थियो ।

लकडाउन भन्ने व्यवस्था हाम्रो लागि नौलो अभ्यास भएकोले त्यसमा के गर्न मिल्छ र के गर्न मिल्दैन भन्नेमा प्रशासन पनि स्पष्ट थिएन । सञ्चारकर्मीहरु रिपोर्टिङका लागि हिँड्न पाउने कि नपाउने भन्ने पनि स्पष्ट थिएन ।

एउटा मिडिया हाउसलाई पाँचवटा सवारी पास दिने भन्ने सरकारको नीति थियो । जब कि एउटा दैनिक सञ्चारगृहको सञ्चालनमा दुई पांग्रे र चार पांग्रे गरी पाँच सयभन्दा बढी सवारीसाधन परिचालित हुन्छन् । १० चैतको राति अचानक पाँचवटा पास प्राप्त गरेपछि नयाँ पत्रिकालगायत कुनै पनि सञ्चार माध्यमले आफ्नो पर्याप्त जनशक्ति कार्यालयमा उपस्थित गराउने र काम सुसञ्चालन गराउने अवस्था भएन ।

लकडाउन मिडियाका लागि पनि कठोर हुन्छ भन्ने यकिन हामीलाई अघिल्लो रातिसम्म पनि थिएन । विभिन्न संसयका साथमा १० चैतको पत्रिका कार्यालयबाटै फाइनल ग¥यौँ । ११ चैत बिहान सिंगो देश ठप्प भयो ।

यसमा प्रशासनले लगाएको आदेशको पालना त छँदै थियो, महामारीले सर्वस्व बनाउँछ कि भनेर जनमानसमा परेको डरले पनि उत्तिकै काम गरेको थियो । लकडाउन कठोर रुपमा पालना भएपछि हामीले ११ चैतमा सहकर्मीहरुलाई कार्यालयमा उपस्थित गराउन सक्ने अवस्था भएन ।

त्यसैले तत्कालै निर्णय गरेर अत्यावश्यक काममा जुटेका साथीहरुका निवासमा कम्प्युटर र इन्टरनेटलगायतका पूर्वाधारलाई अझ व्यवस्थित गर्ने काम भयो । नेपालमा इन्टरनेट भनेको इमेल, फेसबुक, ट्विटर मात्रै बुझिने अवस्था थियो । त्योबाहेकको कनेक्सन आम प्रचलनमा थिएन । त्यसैले रिपोर्टिङका साथी एकातिर, डेस्कका साथी अर्कोतिर, प्रुफिङका एकातिर र लेआउटका अर्कोतिर । चार–पाँचतिर छरिएको जनशक्तिले एउटै पेजको काम कसरी गर्ने भन्ने हाम्रा लागि चुनौतिपूर्ण नै थियो ।

त्यसैले पहिलो दिन इन्टरनेटको सीमित अभ्यासका आधारमा फाइलहरु सेयर गरेर काम सम्पन्न गरियो । तर, लगत्तै पेज सेयरिङका अनेक एपहरुका विषयमा जानकारी लिने, अभ्यास गर्ने र नयाँ प्रयोग गर्ने क्रम सुरु भयो । विभिन्न एपका आफ्नै गुण र कमजोरी हुनु स्वाभाविक हो ।
फरकफरक एपबाट फरकफरक पाठ सिक्दै हामी एउटा स्थिर प्रयोगमा पुग्न करिब एक महिना लाग्यो । एडिटोरियल मिटिङहरु पनि हामी नियमित रुपमा कार्यालयमै बस्ने चलन थियो । यही लकडाउनले भर्चुअल मिटिङमा पनि हामीलाई अभ्यस्त बनायो । अब यो महामारी नियन्त्रण भएर धेरै विषय सामान्य भए पनि इन्टरनेटको प्रयोगबाट समन्वय गर्ने र कार्यक्षमता बढाउने विषयमा हामीले जे अभ्यास गरेका छौँ, त्यसलाई निरन्तरता दिन सकिने स्थिति छ ।

आपतकालीन अवस्थामा रिपोर्टिङमा जाने टिमलाई परिचालन गर्न केकस्ता चुनौती आए ? रिपोर्टिङ गर्दा कोही संक्रमित भए कि भएनन् ?

लकडाउन हुनासाथ रिपोर्टिङका आयामहरु पनि सीमित भए । सरकारी कार्यालय, अड्डा–अदालत र धेरै हदसम्म अस्पताल पनि बन्द भएकाले अन्य विषयमा समाचार बन्ने क्रम रोकियो । एउटा मात्रै विषयवस्तु बन्यो– कोभिड ।

लकडाउन भएको लामो समयसम्म पनि नेपालमा कोभिडका एक्का–दुक्का केसहरु मात्र थिए । तर, डर भने असीमित थियो । साथीहरुलाई फिल्डमा पठाउन पनि धेरै सोचविचार गर्नुपर्ने अवस्था थियो । त्यसैले अत्यावश्यक रिपोर्टिङमा जाँदा सहकर्मीहरु मास्क, सेनिटाइजर, पञ्जा लगाएर जाने व्यवस्था गरिएको थियो । त्यो अहिलेसम्म पनि कायम छ । रिपोर्टिङको भन्दा बढी चुनौतीपूर्ण काम छपाई र वितरणको थियो । एडिटोरियलको काम भर्चुअल्ली गर्न सम्भव भए पनि वितरणको काम त्यसरी गर्न सम्भव थिएन ।

फेरि सुरुका दिनमा पत्रिकाको कागजबाट भाइरस सर्छ कि सर्दैन भन्नेमा स्पष्ट भनाइहरु आएका थिएनन् । हामीलाई यति थाहा थियो, महामारी उत्कर्षमा पुगेको वेला चीनको वुहानमा पनि पत्रपत्रिका बन्द भएका थिएनन् । इटाली र अमेरिकामा पनि पत्रपत्रिका बन्द भएनन् । त्यसैले नेपालमा पनि बन्द गर्नु हुँदैन भनेर हाम्रो व्यवस्थापन र सम्पादकीय टिमको स्पष्ट अडान थियो ।

यो विषयमा सबैभन्दा ठूलो साथ प्रेस र वितरणका सहकर्मीहरुले दिए । कार्यालयबाट उनीहरुको स्वास्थ्य सुरक्षाका लागि पर्याप्त बन्दोबस्त गरिएको थियो । त्यस्तै, सबै सहकर्मीको कोरोना बिमा पनि गरिएको छ । तर, वितरणमा हिँडेका वेला बिहान झिसमिसेमै ठाउँठाउँमा प्रहरी प्रशासनले रोक्ने, मानमर्दन गर्ने र कहिलेकाहीँ चौकीमा लगेर थुन्नेसमेत काम गरे ।

तर, ती सबै व्यवधान चिरेर वितरणका साथीहरु निरन्तर काममा खटे । जसले गर्दा नयाँ पत्रिकाको वितरण एक दिन पनि अवरोध भएन । अहिले त लकडाउन पूरै हटेकोले रिपोर्टिङमा हिँड्नैपर्ने अवस्था छ । आजका दिनसम्म आइपुग्दा रिपोर्टिङ वा वितरणमा हिँडेका कुनै पनि साथी संक्रमित भएका छैनन् । सहकर्मी सबैलाई सुरक्षित राख्न अधिकतम् प्रयास जारी छ ।

नेपालमा विभिन्न सञ्चार माध्यमबाट पत्रकारहरु निकालिएको भन्दै आन्दोलन पनि भइरहेको छ, यस विषयमा तपाईंको प्रतिक्रिया के छ ?

सञ्चारमाध्यमबाट मात्र होइन, कुनै पनि पेसामा रहेका श्रमजिवीको रोजगारी खोस्नु हुँदैन भनेर हामीले बोल्नुपर्छ । किनकि कुनै पनि संस्थामा व्यवस्थापनको पैसा र दृष्टिकोण मात्र होइन, श्रमिकको विवेक र पसिना पनि लगानी भएको हुन्छ ।

तर, दुःखको कुरा यो संकटको वेलामा संस्था जोगाउन जनशक्ति कटौती गर्ने नीति विश्वभरका विभिन्न व्यावसायिक प्रतिष्ठानहरुले लिएका छन् । त्यसका चपेटामा असंख्य श्रमजिवी परेका छन् । पत्रिकाको सन्दर्भमा पत्रकार मात्र होइन, वितरण, छपाई, बिजनेस र प्रशासनका कुनै पनि कर्मचारीलाई रोजगारबाट विमुख बनाउनु हुँदैन भन्ने स्पष्ट छ । तर पनि एउटा निश्चित समयपछि आर्थिक संकटमा परेका सञ्चारमाध्यमले कर्मचारी कटौतीको प्रयास गरिरहेका छन् ।

खर्च कटौतीका अन्य उपायहरु अपनाउनुपर्छ, श्रमजिवीलाई बेदखल गर्नु हुँदैन भनेर हरेक सञ्चारमाध्यमभित्र र नेपाल पत्रकार महासंघको नेतृत्वबाट सार्वजनिक रुपमा प्रतिवाद भइरहेको छ । फेरि पत्रकारले यो संकटको वेलामा आफ्नो सुविधाभन्दा धेरै सिर्जनाशीलता र पौरखमा ध्यान दिएका छन् । आफ्नो संस्थालाई कसरी अब्बल बनाउने भनेर पनि चिन्ता र मिहिनेत गरिरहेका छन् । त्यसैले सामूहिक इच्छाशक्तिले मात्र संस्थाहरु टिक्छन् र बलिया हुन्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com