रानी पोखरीमा पुन: भरिएको पानीको कथा -‘चर्को राजनीतिदेखि सर्वोच्चको आदेशसम्म’
प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार
– अस्मीता खड्का
मध्य काठमाडौँमा रहेको रानी पोखरीमा, पानी डमक्क भरिएको छ ! पोखरीको सुन्दरता फर्किएसँगै फोटो खिच्चेहरुको घुइँचो विस्तारै बढ्न थालेको छ । पोखरीको सुन्दरताले उनीहरुको मुहारमा मुस्कान ल्याएको छ भने यसको चर्चा शिखरमा पुगेको छ ।
सबैभन्दा ठूलो मुस्कान दिदीबहिनी र दाजुभाई नहुँनेहरुको मुहारमा छाएको छ । किनभने नजिकँदै गरेको यसपालीको तिहारमा पनि उनीहरु सयपत्रीको माला र सप्तरंगी टिका बोकेर पहिला जस्तै रानी पोखरीको बीचमा भाईटिका लगाउन पाइएला कि भन्ने आशामा छन् ।
रानी पोखरीकोबीचमा शिर उठाएको बालगोपालेश्वर मन्दिर परम्परागत मान्यता अनुसार वर्षमा एक पटकमात्र खोलिन्छ त्यो पनि तिहारको भाइटिकामा । त्यो दिन दाईभाई नहुने र दिदीबहिनी नहुनेहरु मिलेर यहाँ भाइटिका मनाउने गर्दछन् ।
रानी पोखरी लामो समय चौर र फुटबल मैदान
भूकम्पको चपेटामा परेको रानी पोखरी लामो समय चौर र फुटबल मैदानजस्तै बनेको थियो । पोखरी यो अवस्थामा आउन पाँचवर्ष लाग्यो ।
यसबीचमा धेरै राजनीति भयो ।
पोखरी पुनःनिर्माणकार्यमा ढिलाई भएको गुनासो चौतर्फी आउन थालेपछि काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दुर शाक्य र उपमयेर हरिकला खड्गीबीच ठूलै जुहारी चल्यो । ताला लगाउने र ताला खोल्ने खेल रोचक नै थियो ।
उनीहरुको जुहारीमा परेको पुनःनिर्माणकार्य सुचारु गर्न सर्वोच्च अदालतले आदेश नै दिनु परेको थियो ।
पुनःनिर्माणमा देखिएका कमजोरीहरु, छताछुल्ल बनेर बाहिर आए । त्यसपछि सत्ताका ठेकेदारहरुलाई रानी पोखरीको बाटो हुँदै हिड्ने मानिसहरुले धिक्कार्न थाले । अझ यसको आनन्द लिएका बुढापाकाहरु त गाई चरेको र फुटवल खेलेको देख्दा पुर्पुरोमा हात राख्दै लामो सुस्केरा हाल्थे ।
समय बित्दै गयो ।
प्रतिपक्षले यसलाई सरकारविरुद्धको नारा बनाए । केटाकेटीहरुले खेल मैदान ।
रानीपोखरीसँग जोडिएका कथा
ऐतिहासिक राष्ट्रिय सम्पदाभित्र पर्ने रानीपोखरी मानव निर्मित पोखरी हो । रानी पोखरीसँग थुप्रै किंवदन्ती जोडिएका छन् । केही पत्यारिला छन्, केही अपत्यारिला छन् ।
आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले ई.सं. १६६५मा उक्त पोखरी निर्माण गरेको भन्ने छ । पोखरीको बार भित्र ठूलो हात्ति र त्यसमाथि राजा प्रतापमल्ल, रानी र छोराको मुर्ती स्थापित गरिएको छ ।
एकसय असी मिटर लम्बाई र १४० मिटर चौडाई रहेको पोखरीले ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको छ ।
दुईटा ठूला भूकम्पको मार
वि.सं. १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरीमा रहेको मन्दिर बनाएका थिए ।
यसैगरी वि.सं.२०७२ साल बैशाख १२ गते आएको बिनाशकारी भुकम्पले पनि मन्दिरमा क्षति पुर्याएको थियो ।
अनेक विवादपछि रानीपोखरीमा पानी
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणको लागि तामझामका साथ सिलन्यास गर्नु भएको थियो । त्यसपछि काठमाडौं महानगरले जिम्मा लिएर अलपत्र पारेको थियो ।
पोखरीदेखि पर्खालसम्म कंक्रिट प्रयोग भएपछि विवाद भयो । रानीपोखरीको पुननिर्माणमा कंक्रिट प्रयोग गर्ने अडानले मेयर विद्यासुन्दर शाक्य विवादमा पनि तानिए ।
रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माण तीन वर्षसम्म अघि नबढेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरी तथा पुरातत्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मा लिए । भक्तपुरका कालीगढ ल्याएर परम्परागत तवरले कालोमाटोको प्रयोग गरेर पोखरीलाई पानी अडिने बनाइयो ।
सिलन्यास गरिएको पाँचवर्षमा रानी पोखरीमा मर्मत कार्य पूरा हुँदैछ ।
जे होस, काठमाडौँ शहरको मध्य भागमा रहेको यो पोखरीको महत्व सुन्दरतामात्र होइन, सामाजिक र वातावरणीय हिसाबले पनि महत्वपूर्ण छ ।