पब्लिक चार्जको नियम पुन: सकृय, ग्रिनकार्ड आवेदनसँगै आत्मनिर्भरता फर्म अनिवार्य


प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार

अमेरिकी सरकारको युएससीआईएसले पब्लिक चार्जको नियम पुन: लागु गरेको छ । सेप्टेम्बर ११ को अदातलको निर्णयले युएससीआईएसलाई पब्लिक चार्जको नियम लागु गर्न बाटो खोलिदिएपछि युएससीआईएसले यो नियम पुन: सकृय बनाएको हो ।

फरबरी २४, २०२० को मिति वा त्यसभन्दा पछाडिको मितिमा पोष्टमार्क भएका वा पठाइएका आवेदनका सन्दर्भमा यो नियम लागु हुने युएससीआईएसले जनाएको छ । तर बीचको अवधि जुलाई २९ देखि सेप्टेम्बर २२ सम्म युएससीआईएसले निर्णय लिइसकेका आवेदनका सन्दर्भमा भने पुनरावलोकन नगरिने जनाइएको छ ।

खासगरी जुलाई २९ मा अदालतले पब्लिक चार्जको नियम कार्यान्वयनमा रोक लगाएपछि युएससीआईएसले कैयन आवेदनहरु पुरानै नियम अनुशार प्रकृयामा लगेको थियो । निर्णय भइसकेका ती आवेदनबारे पुनरावलोकन नगरिने भएपनि पेन्डिङ अवस्थामा रहेका आवेदनका सन्दर्भमा भने युएससीआईएसले पब्लिक चार्जको नयाँ नियम अनुशार निर्णय गर्ने भएको छ ।

बीचको अवधिमा ग्रिनकार्ड आवेदकले आत्मनिर्भरता फर्म आई ९४४ विना ग्रिनकार्ड आवेदन दिएको खण्डमा त्यस्ता आवेदनहरु सिधै अस्वीकार नगरिने बरु थप कागजातको माग गर्दै आत्मनिर्भरता फर्म आई ९४४ भरेर पठाउन लगाइने युएससीआईएसले जनाएको छ । आगामी अक्टोबर १२ सम्म आत्मनिर्भरता फर्म आई ९४४ विना पठाइएका ग्रिनकार्ड आवेदनहरु स्वीकार त गरिनेछ तर पछि आत्मनिर्भरता फर्म भरेर पठाउन पत्राचार गरिनेछ ।

अक्टोबर १३ को पोष्टमार्क भएका वा त्यसपछि पठाइका ग्रिनकार्ड आवेदन आई ४८५ का सन्दर्भमा भने आत्मनिर्भरता फर्म आई ९४४ विना पठाएमा सिधै अस्वीकार गरिने युएससीआईएसले जनाएको छ । अर्थात् अक्टोबर १३ को पोष्टमार्क भएका वा त्यसपछि पठाइका ग्रिनकार्ड आवेदन आई ४८५ सँगै आत्मनिर्भरता फर्म भर्नु अनिवार्य हुनेछ ।

ट्रम्प प्रशासनले पब्लिक चार्जको नियम सन् २०१९ को अक्टोबरदेखि नै लागु गर्न खोजेको थियो । तर संघीय न्यायाधिसहरुका आदेशका कारण कार्यान्वयनमा ढिलाई भएको थियो । गत फरबरीमा सर्वोच्च अदालतले नियम कार्यान्वयनका पक्षमा फैसला गरेपछि फरबरी २४ बाट यो नियम कार्यान्वयनमा आएको थियो ।

गत अप्रिलमा न्युयोर्क, कनेक्टिकट र भर्मोन्टका महान्यायाधिवक्ताहरुले कोरोनाको महामारीका कारण नियम कार्यान्वयनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर सर्बोच्चले तलका अदालतमा जान सकिने संकेत गर्दै उक्त निवेदन अस्वीकार गरेको थियो ।

त्यसपछि न्युयोर्कको साउदर्न डिस्ट्रिक्ट कोर्टमा कोरोना महामारीमा पब्लिक चार्जको नियम कार्यान्वयनमा रोक लगाउन माग गर्दै मुद्दा दायर गरिएको थियो । त्यसपछि जुलाई २९ मा उक्त अदालतले पब्लिक चार्जको नियम कार्यान्वयनमा रोक लगाएको थियो । त्यसपछि जुलाई ३० मा युएससीआईएसले सन् १९९९ को पुरानै नियम अनुशार काम गर्ने बताएको थियो ।

गत अगस्त १२ मा सेकेण्ड सर्किट कोर्टले न्युयोर्क, कनेक्टिकट र भर्मोन्ट बाहेक अन्य राज्यमा पब्लिक चार्जको नियम लागु गर्न ट्रम्प प्रशासनलाई बाटो खोलेको थियो । न्युयोर्कको साउदर्न डिस्ट्रिक्ट कोर्टले पब्लिक चार्जको नियम लागु गर्न देशब्यापी रुपमा रोकेकोमा सर्किट कोर्टले त्यसलाई सिमित गरिदिएको थियो ।

त्यसपछि सेप्टेम्बर ११ मा सेकेण्ड सर्किट कोर्टले न्युयोर्क, कनेक्टिकट र भर्मोन्टसहित देशब्यापी रुपमा पब्लिक चार्जको नियम कार्यान्वयनका लागि बाटो खोलिदिएको थियो ।

पब्लिक चार्जका ८ कसी : जसका आधारमा ग्रिनकार्ड वा भिसा दिने नदिने निर्धारण

आवेदक भविश्यमा पब्लिक चार्ज हुने नहुने निर्धारण गर्न युएससीआईएसका अधिकारीले ८ वटा मुख्य मापदण्डहरुको प्रयोग गर्छन् ।

खाद्य, आवास र स्वास्थ्यका सन्दर्भमा अमेरिकामा सरकारी सुविधा लिने सम्भावना भए नभएको परीक्षण गर्न पब्लिक चार्जको नयाँ नियम ल्याइएको हो । यदि सरकारी सुविधा लिएमा वा लिने सम्भावना भएमा त्यस्ता व्यक्ति पब्लिक चार्जको नियमभित्र पर्छन् ।

१, पब्लिक जार्चमा पर्ने पर्ने निर्धारण गर्नका लागि अधिकारीले पहिलो कसीका रुपमा आवेदकको उमेर हेर्नेछन् । खासगरी १७ बर्षभन्दा कम र ६२ बर्षभन्दा माथिको उमेरको व्यक्तिलाई पब्लिक चार्जमा पर्नसक्ने व्यक्तिका रुपमा मुल्यांकन गरिनेछ । यदि आवेदकको उमेर १८ बर्षदेखि ६१ बर्षभित्र रहेको छ भने त्यस्ता व्यक्तिलाई पब्लिक चार्जको कसीमा सकरात्मक ढंगले हेरिनेछ ।

२, त्यस्तै पब्लिक चार्ज निर्धारण गर्ने दोश्रो कसी व्यक्तिको स्वास्थ्यलाई लिइएको छ । आवेदकमा गम्भिर खालको स्वास्थ्य समस्या भएको खण्डमा वा आवेदक दीर्घरोगी भएको खण्डमा यसलाई पब्लिक जार्चको कसीमा नकारात्मक ढंगले हेरिनेछ । अर्थात् त्यस्ता व्यक्तिलाई भविश्यमा पब्लिक चार्ज हुनसक्ने वा सरकारी सुविधा लिनसक्ने व्यक्तिका रुपमा लिन सकिनेछ ।

३, त्यस्तै आवेदकको पारिवारिक स्टाटस पनि पब्लिक चार्जको अर्को कसी हो । यदि आवेदकको परिवारको आम्दानी गरिवीको सिमारेखाभन्दा माथि रहेको छ र आवेदकले आफैलाई आत्मनिर्भर बनाउनसक्ने अवस्था छ भने यसलाई सकारात्मक रुपमा लिइनेछ । तर परिवारको आम्दानी गरिवीको सिमारेखाभन्दा माथि रहेको छ र आवेदकले आफैलाई आत्मनिर्भर बनाउनसक्ने अवस्था छैन भने आवेदक पब्लिक चार्जमा पर्नसक्ने सम्भावनाका रुपमा हेरिनेछ ।

४, त्यस्तै आवेदकको सम्पत्ति, आर्थिक अवस्था, श्रोत लगायतलाई पनि पब्लिक चार्जको मापकका रुपमा हेरिनेछ । जसमा अधिकारीहरुले आवेदकको परिवारको कुल आम्दानी, सम्पत्ति, आवेदकको क्रेडिट रिपोर्ट र स्कोर, आवेदकले युएससीआईएसको शुल्क मिनाहाका लागि गरेको आवेदन लगायतलाई हेरेर यसको मापन गर्नेछन् ।

५, त्यस्तै आवेदकको शिक्षा र दक्षतालाई पब्लिक चार्जको कसीका रुपमा हेरिनेछ । यदि आवेदकको हाइस्कुलभन्दामाथिको कुनै शैक्षिक योग्यता छैन र कुनै व्यवसायिक दक्षतापनि छैन भने त्यसलाई नकारात्मक रुपमा लिइनेछ । त्यस्तै कुनै कामको अनुभव नभएको र अँग्रेजी भाषाको ज्ञान कम हुनेहरुलाई पनि नकारात्मक रुपमा लिइनेछ । यदि कुनै व्यक्ति पूर्णकालिन विद्यार्थी होइन, उसलाई काम गर्न अनुमति छ तर काम गरेको छैन भने त्यसलाई नकारात्मक रुपमा लिइनेछ । तर कुनै पनि रोजगारप्राप्त छ र उसको आम्दानी संघीय गरिविको गाइडलाइनमा २५० प्रतिशतभन्दा माथि छ भने त्यसलाई सकारात्मक रुपमा लिइनेछ ।

६, यदि आवेदकले ग्रिनकार्डवाहेकको अन्य आवेदनका सन्दर्भमा आफू उक्त अध्यागमन स्टाटसमा रहँदा सरकारी सुविधा लिनका लागि योग्य नहुने कुरा प्रमाणित गर्न सकेमा त्यसलाई सकारात्मक रुपमा लिइनेछ । किनभने कतिपय अध्यागमन स्टाटसमा रहेका व्यक्तिले अमेरिकामा सरकारी सुविधा लिन नपाउने प्रावधान समेत रहेको छ । तर आवेदक अमेरिकामा लामो समयसम्म बस्ने, भविश्यमा ग्रिनकार्ड समेत प्राप्त गर्ने योजना रहेको भएको खण्डमा भने त्यस्ता व्यक्तिलाई पब्लिक चार्जका पर्ने सम्भावना भएको व्यक्तिका रुपमा हेरिनेछ ।

७, यदि आवेदकलाई कसैले स्पोन्सर गरेको र स्पोन्सरकर्ताको आम्दानी गरिविको रेखाभन्दा १२५ प्रतिशतभन्दा माथि छ भने त्यसलाई सकारात्मक रुपमा लिइनेछ । त्यस्तै आवेदकको स्पोन्सरकर्तासँग सम्बन्ध भएको हुनुपर्नेछ । तर स्पोन्सरले विगतमा अमेरिकामा सरकारी सुविधा लिएको छ, बैंक्रप्सी फाइल गरेको इतिहास छ, इमिग्रेशन आवेदनमा शुल्क मिनाहा लिएको छ वा धेरै आवेदकलाई स्पोन्सर गरेको छ भने त्यसलाई नकारात्मक रुपमा लिइनेछ । त्यसका लागि अधिकारीले आई ८६४ फर्मको पुनरावलोकन गर्नेछन् ।

८, त्यो बाहेक आवेदकको कुनै रोजगारी छैन, रोजगारीको इतिहास छैन वा भविश्यमा रोजगारीको कुनै सम्भावना छैन भने त्यसलाई नकारात्मक रुपमा लिइनेछ । यदि आवेदक विगतमा पब्लिक चार्जको कारण अमेरिकाबाट देशनिकालामा परेको छ भने पनि त्यसलाई नकारात्मक रुपमा लिइनेछ । तर व्यक्तिगत स्वास्थ्यविमा छ, परिवारको सम्पत्ति, आम्दानी र श्रोतहरु छ र गरिविको गाइडलाइनमा २५० प्रतिशतभन्दा धेरै आम्दानी छ भने त्यसलाई सकारात्मक रुपमा लिइनेछ ।

के बेरोजगारी विमा रकम पब्लिक चार्जमा गणना हुन्छ ?

युएससीआईएसका अनुशार बेरोजगारी विमाबाट आउने रकमलाई पब्लिक चार्जमा गणना गरिदैन । युएससीआईएसले पब्लिक चार्जबारेको फेडरल रजिस्टरमा प्रकाशित अन्तिम नियममा यसबारे प्रस्टसँग बताएको छ । सुचनाको पृष्ठ ४१३९० मा युससीआईएसले बेरोजगारी विमाको रकम पब्लिक चार्जमा गणना नहुने स्पष्ट पारेको छ ।

नियममा भनिएको छ – ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले राज्य र संघीय निबृत्तिभरण, सोसल सेक्युरिटी निबृत्तिभरण सुविधा, सोसल सेक्युरिटी अपांगता, पोष्ट सेकेण्डरी शिक्षा, वा बेरोजगारी सुविधालाई पब्लिक चार्ज अयोग्यता निर्धारण अन्तरगत पब्लिक बेनिफिटका रुपमा मान्दैन । यसलाई व्यक्तिको रोजगार र विशिष्ट कर कटौतीको माध्यमबाट आर्जित लाभ मानिन्छ ।’

पब्लिक जार्चबारे बेरोजगारी विमा रकमका सन्दर्भमा फेडरल रजिस्टरमा युएससीआईएसले गरेको व्याख्या यस्तो छ ।

कोरोना महामारीमा चार प्रकारका राहत : पब्लिक चार्जमा पर्छ कि पर्दैन ?

अमेरिकी सरकारले कोरोनाको महामारीका सन्दर्भमा मुख्यतया चार प्रकारका राहतहरु उपलब्ध गराएको छ । तर ती राहतहरु लिएको खण्डमा पब्लिक चार्जमा परेर ग्रिनकार्डका लागि अयोग्य भइने हो कि भनेर धेरै आप्रवासीहरु चिन्तित रहेका छन् ।

फेमिली फस्ट एक्टले कोरोना भाइरसको परीक्षणका लागि रकम उपलब्ध गराउँछ । इन्सुरेन्स नभएका निश्चित व्यक्तिलाई मेडिकेडमार्फत यो सुविधा उपलब्ध गराइन्छ । केयर्स एक्टले पनि कम्युनिटी हेल्थ सेन्टरहरुलाई फण्ड बढाएको छ । यो अवस्थामा कतिपय आप्रवासीहरु कोरोनाको परीक्षण र उपचारको सुविधा लिंदा पब्लिक चार्जमा परिने हो कि भनेर डराइरहेका छन् ।

तर युएससीआईएसले कोभिड १९ को परीक्षण, रोकथाम वा उपचारका लागि व्यक्तिले लिएको सुविधालाई पब्लिक चार्जमा गणना नगरिने स्पष्ट पारेको छ । त्यसैले तपाईले ढुक्कससँग कोभिड १९ को परीक्षण वा उपचार गराउन सक्नुहुनेछ । पछि भ्याक्सिन उपलब्ध भएमा त्यसको प्रयोग गर्दा पनि पब्लिक चार्जमा परिनेछैन ।

त्यस्तै सरकारले कोरोनाको महामारीको सामना गर्न हरेक करदातालाई १२ सय डलर उनीहरुको खातामा पठाइरहेको छ । यदि तपाई अमेरिकी नागरिक वा ग्रिनकार्डवाहक हुनुहुन्न तर यो सुविधा पाउनुभएको छ भने पनि तपाई पब्लिक चार्जमा पर्नुहुनेछैन । यो रकमलाई ट्याक्स क्रेडिटका रुपमा गणना गरिएको छ । पब्लिक चार्जको नियम अनुशार ट्याक्स क्रेडिटलाई पब्लिक चार्जमा गणना गरिदैन ।

त्यस्तै सबैभन्दा ठूलो प्रश्न चिन्ह बेरोजगारी विमाबाट पाउने रकमका सन्दर्भमा रहेको छ । सरकारले नियमित बेरोजगारी रकम युआई र त्यसका लागि योग्य नहुनेहरुका लागि महामारी बेरोजगारी सहायता पीयुएको व्यवस्था गरेको छ । नियमित बेरोजगारी रकम वा महामारी बेरोजगारी सहायता पीयुएका लागि योग्य हुनेले उक्त सुविधाबाट आउने रकमका अतिरिक्त साप्ताहिक ६ सय डलर प्राप्त गर्छन् । बेरोजगारी विमाबाट आउने रकमलाई पब्लिक चार्जमा गणना गरिदैन ।

फेमिलिज फस्ट एक्ट अन्तरगत सप्लीमेन्टल न्युट्रेशन एसिस्टेन्स प्रोग्राम स्न्याप, विद्यार्थीहरुका लागि स्कुल मिल र अन्य खाद्य कार्यक्रमहरुको व्वस्था गरिएको छ । याद गर्नुहोस्, तपाईको परम्परागत सप्लीमेन्टल न्युट्रेशन एसिस्टेन्स प्रोग्राम स्न्यापबाट आउने सुविधा पब्लिक चार्जमा गणना गरिन्छ । तर पेन्डामिक इबीटी अर्थात् पी ईबीटी भने पब्लिक चार्जमा गणना गरिदैन । महिला र बालबालिकाका लागि पोषण कार्यक्रम डब्युआईसी, आपतकालिन खाद्य सहायता कार्यक्रम र घरमा डेलिभरी गरिएका खानापनि पब्लिक चार्जमा पर्दैन ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com