युएससीआईएसले व्यवस्था गरेको अनुवादक आवेदकले नलिए वा अनुवादक उपलब्ध नभएमा…


प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार

अब युएससीआईएसमा एसाइलम अन्तरवार्तामा जाँदा नेपाली लगायतका ४७ वटा भाषा बोल्नेहरुले अनुवादक लैजान नपर्ने भएको छ । त्यस्ता नेपाली लगायतका भाषा अनुवादक सरकारले नै निशुल्क प्रदान गर्ने भएको छ । यसअगाडि नै एसाइलम आवेदकलाई भाषा अनुवादकको आवश्यकता परेको खण्डमा आफै शुल्क तिरेर लैजानुपर्ने अवस्था रहेको थियो ।

तर युएससीआईएसले व्यवस्था गरेको अनुवादक आवेदकले नलिएको खण्डमा के हुन्छ? यदि युएससीआईएसले व्यवस्था गरेको अनुवादक आवदेकले लिन अस्वीकार गरेको खण्डमा युएससीआईएसले कुनै राम्रो कारण विना आवेदक उपस्थीत हुन नसकेको ठहर गर्नेछ । त्यसपछि या त उक्त आवेदन खारेज गरिने छ या त उक्त आवेदन अध्यागमन अदालतमा रिफर गरिनेछ ।

त्यस्तै उक्त दिन आवेदकको भाषाको अनुवादक उपलब्ध नभएर कुनै कारणवश युएससीआईएसले व्यवस्था गर्न नसकेमा के हुन्छ? त्यस्तो अवस्थामा युएससीआईएसले उक्त अन्तरवार्ता स्थगित गरेर अन्तरवार्ताको नयाँ मिति तय गर्ने जनाएको छ । तर यसरी स्थगित गर्दा वर्क परमिटको प्रयोजनका लागि अन्तरवार्ता स्थगित हुनुको कारण आवेदक नभई युएससीआईएस भएको ठहर गरिनेछ । अन्तरवार्ता ढिलो हुनुको कारण आवेदक भएको खण्डमा वर्क परमिट प्राप्त गर्नमा समस्या हुनसक्छ ।

नयाँ नियम अनुशार अबको १८० दिनसम्मका लागि अँग्रेजी नबोल्ने एसाइलम आवेदकले युएससीआईएसमा भाषा अनुवादक लैजानु नपर्ने भएको छ । आवेदकले उसले जान्ने ४७ वटामध्ये एउटा भाषामा अन्तरवार्ता दिन सक्नेछन् । ती ४७ भाषामा नेपाली समेत सुचिकृत गरिएको हो ।

युएससीआईएसले आज अस्थायी अन्तिम नियम घोषणा गर्दै कोरोना भाइरसको फैलावट नियन्त्रणका लागि सरकारले नै भाषा अनुवादक उपलब्ध गराउने नियम ल्याएको हो । सरकारको सम्झौतामा रहेका त्यस्ता भाषा अनुवादकहरुले टेलिफोनमार्फत अनुवाद गर्नेछन् ।

सरकारले प्रदान गर्ने अनुवादकका लागि एसाइलम आवेदकले कुनै शुल्क तिर्नुपर्नेछैन । अनुवादकहरु कडा र सावधानीपूर्वक परीक्षण गरिएका, पृष्ठभूमि परीक्षण गरिएका, व्यवसायिक र प्रतिस्पर्धाबाट आएकाहरु हुने युएससीआईएसले जनाएको छ ।

सेप्टेम्बर २३ अर्थात् भोलिदेखि एसाइलम अन्तरवार्ताम जाँदा अनुवादक लैजानुपर्नेछैन । तर सन् २०२१ को मार्च २३ पछि भने अँग्रेजी नबोल्ने आवेदकहरुले भाषा अनुवादक आफै लैजानुपर्नेछ । यसबारेको अस्थायी अन्तिम नियम सेप्टेम्बर २३ मा फेडरल रजिस्टरमा प्रकाशित हुनेछ ।

यो नियम एसाइलम अफिसमा सकारात्मक एसाइलमका सन्दर्भमामात्र लागु हुनेछ । अदालतमा भने यो नियम लागु हुनेछैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com