चुनाव अघि न्यायाधिस नियुक्तीका लागि मतदान नगर्ने रिपब्लिकन सांसदको संख्या २ पुग्यो


प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुथ बेडर गिन्सबर्गको मृत्युपछि रिक्त रहेको सर्वोच्च अदालतको न्यायाधिसमा एकजना महिलाको नाम अर्कोसाता सिफारिस गर्ने बताइरहँदा सिनेटमा चुनाव अगाडि न्यायाधिसका लागि मतदान नगर्ने रिपब्लिकन सांसदहरुको संख्या २ पुगेको छ । न्यायाधिस नियुक्तीका लागि राष्ट्रपतिले सिफारिस गरेको नाममा सिनेटमा बहुमत हुन आवश्यक छ ।

५३ जना रिपब्लिकन सिनेटरहरु रहेको वर्तमान सिनेटमा २ जनाले न्यायाधिसका पक्षमा मत नहाल्दासमेत बाँकी सबैले हालेमा मतसंख्या ५१ पुग्नेछ । तीनजना रिपब्लिकनले न्यायाधिस नियुक्तीका पक्षमा मत नहालेमा पचासमतमात्र खसेमा उपराष्ट्रपतिलाई निर्णायक मत हाल्ने अधिकार छ । तर तीनजनाभन्दा बढी रिपब्लिकन सिनेटरहरुले न्यायाधिसका लागि मत नहालेमा नियुक्ती अवरुद्ध हुनेछ ।

मेन राज्यबाट रिपब्लिकन सिनेटर सुजन कोलिन्सले न्यायाधिस नियुक्तीका लागि चुनाव अगाडि मत नहाल्ने घोषणा गरिसकेकी छिन् । लगत्तै अलास्काकी रिपब्लिकन सिनेटर लिसा मुर्कोस्कीले पनि न्यायाधिस नियुक्तीका लागि चुनाव अगाडि मत नहाल्ने घोषणा गरेकी छिन् । जसका कारण चुनाव अगाडि नै कन्जरभेटिभ न्यायाधिस नियुक्त गर्ने ट्रम्पको चाहना पूरा हुने सम्भावना साँगुरो हुँदै गएको छ ।

अमेरिकाको सर्वोच्च अदालतकी न्यायाधिस रुथ बेडर गेन्सबर्गको निधन लगत्तै सिनेटका रिपब्लिकन नेता मिच म्याक्कोनेलले उनको स्थानमा नियुक्तिका लागि प्रस्ताव गरिने न्यायाधिसका पक्षमा सिनेटमा मतदान गरिने बताएका थिए । चुनाव अगाडि नै नयाँ न्यायाधिस नियुक्त गरिएको खण्डमा अमेरिकाको सर्वोच्च अदालतमा ६ जना रिपब्लिकनले नियुक्त गरेका न्यायाधिस र ३ जना डेमोक्र्याट्सले नियुक्त गरेका न्यायाधिसहरु हुनेछन् ।

सर्वोच्च अदालतमा ६ जना कन्जरभेटिभ न्यायाधिस हुँदा अमेरिकाको राजनीतिक परिदृश्यमा ठूलो असर पर्नसक्ने सम्भावना रहन्छ । गेन्सबर्गको निधन अगाडि सर्वोच्च अदालतमा ५ जना रिपब्लिकन नियुक्त र ४ जना डेमाक्र्याट्स नियुक्त न्यायाधिसहरु रहेका थिए । ५ जना कन्जरभेटिभ र ४ जना लिबरल न्यायाधिस हुँदा प्राय राष्ट्रिय मुद्दामा रिपब्लिकनका पक्षमा निर्णय हुँदै आएको थियो ।

नोभेम्बरको चुनाव अगाडि नै रिपब्लिकनले नयाँ न्यायाधिस नियुक्त गर्न सफल भएमा यसको असर अमेरिकी राजनीतिमा आगामी कैयन बर्षसम्म पर्नेछ । अमेरिकाको सर्वोच्च अदालतका न्यायाधिस नियुक्त गर्दा राष्ट्रपतिले नोमिनेशन गर्ने र सिनेटमा मतदान हुने प्रावधान रहेको छ ।

सन् २०१६ मा न्यायाधिस एन्टोनिन स्कालियाको निधन फरबरीमा हुँदा तत्कालिन राष्ट्रपति बराक ओबामाले गाल्र्याण्डलाई नोमिनेट गरेका थिए । तर सिनेटले चुनाव अगाडि न्यायाधिसको नाममा मतदान गरेन । पछि डोनाल्ड ट्रम्प नियुक्त भइसकेपछि निल गोर्सचलाई नियुक्त गरेका थिए भने सिनेटले पनि उनको नाम पारित गरेको थियो ।

बिल क्लिन्टनले गेन्सबर्गलाई सन् १९९३ मा सर्वोच्च अदालतको न्यायाधिस नियुक्त गर्दा पनि झण्डै ७० दिन लागेका थियो ।

यसअगाडि सन् २०१८ मा रिटायर्ड भएका एन्थोनी केनेडीको स्थानमा पनि डोनाल्ड ट्रम्पले नै न्यायाधिस नियुक्त गरेका थिए । एन्थोनी केनेडीलाई रोनाल्ड रेगनले नियुक्त गरेपनि उनी सधै कन्जरभेटिकका पक्षमा भने उभिएका थिएनन् । बराक ओबामाको कार्यकालमा भने सर्वोच्च अदालतमा २ जना न्यायाधिस नोमिनेट गरेका थिए, जसमा दुबैजना महिला थिए ।

सर्वोच्च अदालतमा रिपब्लिकन नियुक्त न्यायाधिस ६ जना पुगेमा कुनै पनि प्रगतिशिल मुद्दाका पक्षमा सर्वोच्चबाट निर्णय पाउन मुस्किल हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com