अरु भिसा स्थगित गरेर भएपनि डिभी विजेतालाई भिसा दिन दूतावासहरुलाई निर्देशन


प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले आफ्ना दूतावास र कन्सुलेटहरुलाई अरु भिसा स्थगित गरेर भएपनि डिभी विजेताहरुलाई प्राथमिकताका साथ भिसा जारी गर्न निर्देशन दिएको जनाएको छ । स्थानीय स्वास्थ्य अवस्था र साधनश्रोतले साथ दिएसम्म दूतावास र कन्सुलेटहरुलाई डिभी विजेताका लागि भिसा जारी गर्न निर्देशन दिइएको हो ।

यसैबीच आज डिभी सम्बन्धि निर्देशिकामा अपडेट गर्दै अमेरिकी विदेश मन्त्रालयले चीन, इरान, युरोपको शेंगेन क्षेत्र, युके, आयरल्याण्ड र ब्राजिलमा विगत १४ दिनको अवधिमा भ्रमण गरेकाहरुलाई समेत डाइभर्सिटी भिसा जारी गरिने स्पष्ट पारेको छ । यसअगाडि विगत १४ दिनको अवधिमा ती देशको भ्रमण गरेकाहरुलाई १४ दिन पूरा नभएसम्म आप्रवासी भिसा जारी नगरिने उल्लेख गरिएको थियो ।

तर आज अपडेट गरिएको निर्देशिकामा बर्मा, इरिटेरिया, इरान, क्रिगिस्तान, लिबिया, नाइजेरिया, नर्थ कोरिया, सोमालिया, सुडान, तान्जिनिया र यमनका नागरिकलाई भने वेभर वा अपवादका लागि योग्य नभएसम्म डाइभर्सिटी भिसा जारी नगरिने उल्लेख गरिएको छ ।

अमेरिकी सरकारको विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्स गत साता एक सुचना जारी गर्दै पहिले नै अन्तरवार्ता भइसकेका वा तय भएका सन् २०२० का डिभी विजेतालाई भिसा दिइने स्पष्ट पारेको थियो । अमेरिकाको संघीय अदालतले सन् २०२० को डिभी विजेताहरुलाई भिसा नरोक्न आदेश दिएपछि अमेरिकी सरकारले यो कदम चालेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुद्दाका वादीहरुलाई पहिलो प्राथमिकता दिइने भएको छ भने पहिले नै भिसा अन्तरवार्ता भइसकेका तर भिसा जारी हुन बाँकी रहेकाहरुलाई दोश्रो प्राथमिकता दिइने भएको छ । यस अन्तरगत विगतको भिसा अस्वीकृतिलाई जित्न चाहेका, प्रशासनिक प्रकृयामा रहेका र पुन भिसा जारी हुनका लागि पर्खेकाहरुलाई प्राथमिकता दिइनेभएको छ ।

त्यसपछि मार्च, अप्रिल र मे महिनामा अन्तरवार्ताको मिति तय भएका तर कोरोना महामारीका कारण अन्तरवार्ता दिन नपाएकाहरुलाई तेश्रो प्राथमिकता दिइने भएको छ । यीबाहेकका भिसा प्रकृया अगाडि बढाइसकेपछि अरु आवेदनहरु अगाडि बढाउनका लागि कन्सुलेटमा क्षमता भएको खण्डमा अन्य आवेदनलाई समेत अगाडि बढाइने जनाइएको छ ।

सन् २०२० को डिभी लोटरी जितेकाहरुले यही सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले गत अप्रिलदेखि सन् २०२० का डिभी विजेताहरुलाई भिसा प्राप्त गर्नमा रोक लगाएको थियो ।

विश्वका अधिकांश अमेरिकी दूतावासहरु कोरोना महामारीका कारण सिमित सेवाका साथमामात्र संचालनमा रहेका छन् । अधिकांश दूतावासहरुमा नियमित भिसा सेवा स्थगित गरिएको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासमा पनि नियमित भिसा सेवा अबरुद्ध रहेको छ ।

त्यस्तै राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश डिसेम्बर ३१ सम्मका लागि रहेकाले डिभी २०२० का विजेताहरुले भिसा प्राप्त गरेपनि डिसेम्बर ३१ सम्ममा अमेरिका आउनमा भने रोक लाग्नसक्ने विदेश मन्त्रालयले जनाएको छ । डिभी विजेताहरुले ट्रम्पको कार्यकारी आदेशमा दिइएको छुट प्राप्त नगरेसम्म भिसा प्राप्त गरेपनि डिसेम्बर ३१ अगाडि अमेरिका आउन नसक्ने जनाइएको छ ।

आगामी डिसेम्बर ३१ अगाडि नै भिसाको म्याद सकिने डिभी विजेताहरु उक्त भिसामा अमेरिका आउन नसक्ने जनाइएको छ । त्यस्तै सन् २०२० को सेप्टेम्बर ३० पछि २०२० का डिभी विजेताहरुलाई नयाँ भिसा जारी गर्न नसकिने पनि विदेशमन्त्रालयले स्पष्ट पारेको छ ।

अप्रिल २३ भन्दा अगाडि नै भिसा प्राप्त गरेका तर अमेरिका आउन नसकेकाहरुलाई भने राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले कुनै असर गर्नेछैन । उनीहरुको भिसा समाप्त भएको खण्डमा सेप्टेम्बर ३० भन्दा अगाडि नयाँ भिसा समेत जारी गर्न सकिनेछ । र उनीहरु डिसेम्बर ३१ भन्दा अगाडि नै अमेरिका आउन सक्नेछन् ।तर अप्रिल २२ मै भिसा सकिएकाहरुलाई भने दूतावासले भिसा जारी गर्न अस्वीकार गरिरहेको छ ।

अप्रिल २३ वा त्यो पछि भिसा सकिएकाहरुलाई नयाँ भिसा जारी गर्न अमेरिकी दूतावास काठमाडौंले यो फर्मको व्यवस्था गरेको छ ।

पहिले नै अन्तरवार्ता तय भएका तर कोरोनाको कारण अन्तरवार्ता दिन नसकेकाहरुलाई सिधै दूतावासमा सम्पर्क गर्न सुझाव दिइएको छ । यदि कुनै कन्सुलेटले कोरोनाको महामारीका कारण भिसा प्रकृयामा लैजान नसकेको खण्डमा आवेदकले अर्को कन्सुलेटमा वा पोष्टमा सार्नका लागि समेत अनुरोध गर्नसक्नेछन् । आवेदकले आफूले चाहेको पोष्टमा सिधै सम्पर्क गरेर समेत सार्नसक्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com