आफूलाई कोरोना संक्रमण भएको लुकाउनेहरुको ६ प्रकारको मनोविज्ञान


प्रकाशित मिति : भाद्र १४, २०७७ आईतबार

– क्यारोलाइन बोलोग्ना

यदि तपाईमा कोरोना संक्रमण पुष्टी भएको खण्डमा तपाईले आफ्नो र अरुको स्वास्थ्यको संरक्षणका लागि केही निर्देशिकाहरुको पालना गर्नुपर्छ । जसमध्येको सबैभन्दा महत्वपूर्ण एउटा कदम तपाईले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई आफै वा कन्ट्याक्ट ट्रेसरमार्फत जानकारी दिन आवश्यक छ ।

यदि आफूमा कोरोना संक्रमण भएको खण्डमा यसको असाध्यै संक्रामक र घातक प्रकृतिका कारण यसबारे आफ्नो सम्पर्कमा आएका वा आउनेहरुलाई जानकारी दिन आवश्यक रहेको क्यालेफोर्नियाका थेरापिष्टले बेकी स्टुम्फिगले बताएकी छन् । अरुलाई जानकारी नदिंदा निर्दोष जीवनहरु जोखिममा पर्ने भएकाले र यसले समुदायमा नै नरकारात्मक असर पार्ने भएकाले संक्रमितहरुले लुकाउन नहुने उनको भनाई छ ।

तर समाजमा यस्ता कैयन घटनाहरु छन्, जहाँ कोरोना संक्रमितले आफू संक्रमित भएको कुरा बताउन घण्टौं वा कैयन दिन समेत लगाउने गरेका छन् । खासगरी उनीहरुले आफू निको नभएसम्म नै संक्रमित भएको कुरा नबताउने समेत गरेका छन् ।

कोरोना संक्रमित भएको कुरा नबताउने हरेक व्यक्तिका आफ्नै फरक फरक कारणहरु हुनसक्छन् । तर लुकाउनुका पछाडि सामान्यतया अधिकांशका एउटै प्रकारका व्याख्याहरु रहेका छन् ।

भावनात्मक कारण

मनोवैज्ञानिक थेरापिष्ट स्टुम्फिग भन्छिन् -‘जब कुनै व्यक्ति कोरोना संक्रमण भएको पुष्टी हुन्छ, तब उनीहरुमा अविश्वास, रिस, हिनता, लज्जा, अनिश्चितता, डर, दुख, भविश्यको बारेमा चिन्ता, परिवारका बारेमा चिन्ता लगायतका अनेक प्रकारका भावनाहरु आउन सक्छन् । संक्रमितमध्ये अधिकांशको लक्षण नभएका कारण संक्रमण पुष्टी हुँदा अनिश्चितता र अन्यौलता पैदा हुन्छ ।’

प्रारम्भिक कारण जे सुकै भएपनि आफ्नो र आफ्नो सम्पर्कमा आएकाहरुको जीवन रक्षाका लागि आगामी कदम चाल्नेतर्फ सबै सचेत हुनुपर्ने ओहायोकी न्युरो साइकोलोजिस्ट लोरा बक्सले बताउँछिन् ।

अरुले के सोंच्लान् भन्ने डर

आफू कोरोना संक्रमित भएको बताउन नचाहने अर्को ठूलो कारण आफूलाई अरुले के सोंच्लान् भनेर ठान्नु समेत हो । कतिपय व्यक्तिले हेलचेक्राइ गरेका कारण कोरोना संक्रमित भइरहेका छन् । यो अवस्थामा आफूलाई दोष दिनुपर्ने अवस्था छ । यो अवस्थामा अतिरिक्त सावधानी अपनाइरहेका व्यक्तिबाट समेत आफूलाई आरोप लाग्ला वा नराम्रो ठान्लान् भनेर संक्रमितले कोरोना संक्रमण भएको लुकाउने गरेको एटलान्टाका साइकोलोजिस्ट जाइनव डेलावाला बताउँछन् ।

‘तपाईले सार्वजनिक स्वास्थ्य निर्देशिकाहरु पालना गर्दागर्दै पनि कतिपय कुराहरु तपाईको हातमा नहुनसक्छन् । जसमा कारण कोरोना संक्रमण हुनसक्छ । जसमा सबै तपाईकोमात्र दोष नहुनसक्छ । हामी सबैकुरा जान्दाजान्दैपनि संक्रमित हुनसक्छौं । त्यसैले हामीले अरुको बारेमा मूल्यांकन गर्न छाड्नुपर्छ । अरुकोबारेमा मूल्यांकन गर्दा भाइरसलाई फैलिनका लागि बढावा पुग्छ ।’ –  थेरापिष्ट स्टुम्फिग भन्छिन् ।

‘हामीलाई अरुको जीवन कसरी वितिरहेको छ थाहा नहुनसक्छ । उनीहरुले सकेजति मिहिनेत पनि गरेका हुनसक्छन् । त्यसैले अरुको बारेमा मूल्यांकन गर्न छाडौं ।’ –  स्टुम्फिगको भनाई छ ।

संकुचित सोंच र लज्जा

सामाजिक रुढीवादका कारण कतिपयले आफूलाई संक्रमित भएको बताउन नचाहने हुनसक्छन् । तर कोरोनाको महामारीसँग जुध्न त्यस्तो संकुचित सोंच र लज्जालाई परित्याग गर्न जरुरी छ । यस्तो अवस्थामा संक्रमितलाई मानसिक असर पर्न नदिन साथीभाई र आफन्तले पनि मद्दत गर्नुपर्छ ।

सामाजिक दुरी कायम राखेकै बेलामा पनि टेक्स्ट मेसेजहरु, कार्डहरु पठाउन सकिन्छ । उनीहरु निको भइसकेपनि पनि सम्पर्कमा आउने कुरा सुनिश्चित हुनेगरी विभिन्न माध्यमबाट सम्पर्क कायम राख्नुपर्छ । उनीहरुका लागि आवश्यक पर्ने खानेकुरा उनीहरुको ढोकासम्म लगेर राखिदिन सकिन्छ । यस्तो भएमा संक्रमितले आफूलाई लाज मान्ने र संक्रमण लुकाउने अवस्था कायम नरहने मनोवैज्ञानिकहरु बताउँछन् ।

आर्थिक समस्या

कतिपय व्यक्तिले आर्थिक समस्याका कारण पनि संक्रमित भएको लुकाउन सक्छन् । किनभने सबै रोजागारदाताले घरबाट काम गर्न अनुमति दिदैनन् । सबले तलबी विरामी विदा पनि दिदैनन् । बिरामी भएको बताएमा काम गुम्नसक्ने र आम्दानी गुमेर आर्थिक समस्या पर्नसक्ने हुनसक्छ ।

सबैले बेरोजगारी विमा रकम पनि पाउने अवस्था नहुन सक्छ । यस्तो अवस्थामा लक्षण नभएका कैयन संक्रमितले संक्रमण भएको लुकाउन सक्छन् । उनीहरु देख्दा बिरामीजस्तो नदेखिएपनि उनीहरुका कारण अरु कैयनमा संक्रमण फैलिने खतरा रहनसक्छ ।

यस्तो अवस्थामा कर्पोरेट नेताहरुले संक्रमितहरुलाई कामबाट विदा मिलाउने अवस्थाको श्रृजना गर्न सक्छन् । साथै उपयुक्त तलबी विदाको व्यवस्था हुनेकुरा रोजगारदातासँग सुनिश्चित गराउन सक्छन् ।

सामाजिक वेवास्ता

त्यस्तै कतिपयलाई आफू संक्रमित भएको बताएर के फाइदा भन्ने पनि लाग्नसक्छ । किनभने आफू सम्पर्कमा आएकाहरु पहिले नै सम्पर्कमा आइसकेका हुन्छन् । तर यस्तो सोंच गलत हो । उनीहरुलाई आफू संक्रमित भएको बताएमा उनीहरुले चेक गरेर सावधानी अपनाउनसक्छन् । र अरु फैलिनबाट रोकिन्छ ।

आफूलाई संक्रमण भइहाल्यो, अरुलाई बताएर के फाइदा भनेर सामाजिक उत्तरदायीत्वको वेवास्ता गर्नेहरु पनि छन् ।

सही सुचनाको अभाव

त्यस्तै कोरोना भाइरसका सन्दर्भमा कैयन गलत सुचनाहरु पनि प्रवाह भइरहेका छन् । सामाजिक सञ्जालमा आएका सुचनाहरुको गुणस्तर थाहा पाउन निकै मुस्किल पर्नसक्छ । कोरोना संक्रमित भएपछि के गर्ने भन्ने सही सुचना नपाएका कारण पनि उनीहरुले आफूमा संक्रमण भएको लुकाएका हुनसक्छन् । उनीहरुलाई यस्तो अवस्थामा सही सुचनाको आवश्यकता हुन्छ ।

(हफपोष्टमा प्रकाशित सामाग्री हामीले अनुवाद र संक्षिप्तीकरण गरेका हौं ।)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com