ओलीको महासामन्त शैली र कोविडको छायाँमा परेको काठमाडौ


प्रकाशित मिति : भाद्र ९, २०७७ मंगलबार

– किशोर नेपाल

हिजोआज प्रधानमन्त्री खडगप्रसाद शर्मा ओली नेपाल सरकारको सचिवालय भवन, सिंह दरबार जाँदैनन । उनको शरीरमा मिर्गौला प्रत्यारोपण गरिएकोछ । सुरक्षाका हिसाबले उनले प्रधानमन्त्री निवासमा नै बसेर कामगर्नु राम्रो हो । अहिले त झन कोरोना महामारीको सिजन छ । त्यसैले पनि प्रधानमन्त्री आफना पार्टीका सहयोगीहरु, प्रतिपक्षका नेताहरु, सांसदहरु, कार्यकर्ताहरु र बिचौलियाहरुसंग निवासका भिन्न भिन्न बैठकमा भेटने गर्दछन ।

प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच बिशिष्ट बैठक कोठामा भएको  भेटघाटको तस्वीर  ।

केही पहिले एउटा तस्वीर सार्वजनिक भएका थियो, जसमा  प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बिशिष्ट बैठक कोठामा थिए, संगैसंगै । एकजना वर्तमान प्रधानमन्त्री । अर्का भूतपूर्व प्रधानमन्त्री । एकजना महासामन्त जस्तो र अर्को प्रजाजन जस्तो देखिने बसाइ ।

यो देशको चलन देखेर मलाइ अचम्म लाग्दछ – कति हास्यास्पद छ प्रोटोकल !

लोकतान्त्रिक समाजमा समान मानिसका बीच समान प्रोटोकल हुन्छ । ढिपी र अहंकारका मामिलामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प नेपालका प्रधानमन्त्री खडगप्रसाद शर्मा ओलीभन्दा जब्बर होलान । तर, बाराक ओवामालाई आफू सरह सम्मानदिन उनी पक्कै चुक्दैनन । अमेरिकामा जनताले एकपटक चुनेका कुनै पनि राष्ट्रपति कहिल्यै पनि भूतपूर्व हुँदैनन । त्यो लोकतान्त्रिक आदर्श जीवित छ अमेरिकामा ।

यता, वर्तमान प्रधानमन्त्रीले आपूmसंग भेटन आउने कसैको पनि मान–मर्दनगर्न बाँकी राख्दैनन । महासामन्त र उनले प्रजाभन्दा रत्तिभर बढी भाउ नदिने पाहुना बस्ने कुर्सीको डिजाइन नै फरक छ । तस्वीरलाई नियालेर हेरे थाहहुन्छ, प्रधानमन्त्रीको बैठकमा टाँसिएको क्यालेण्डरमा धूलो टाँसिएकोछ । प्रधानमन्त्रीको बैठकमा को जान्छ र क्यालेण्डरहेर्न, कति हाँस्नु ! अनि, आफनो आसनमाथि आफनै तस्वीर । मेचमा भेदभाव, टेवुलमा भेदभाव । नियालेर हेरे देखिन्छ – टिस्सूपेपर होल्डरमा पनि भेदभाव ।

सामान्य काठले बनेका चीनियाँ फर्निचरमा बस्दा त महासामन्तको यस्तो रोब छ भने, साँच्चै सुनको सिंहाशनमा बस्न पाउने हो भने कस्तो हुन्थ्यो होला शासकको फूर्ति !

संसारका अनेक देशहरु शासकका अनाबश्यक ठस्साले बिग्रिएका छन । जनता उनीहरुले गर्ने पापले थिचिएका छन । शासक र शासितको असमान सम्बन्धले जनताको त्यो मतको तिरष्कार गरेकोछ जसका आधारमा ओली देशको प्रधानमन्त्री बनेका छन तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलका नेता ।

तस्वीरलाई एकपटक फेरी हेर्नुहोस नियालेर । महासामन्तका अगाडि देउवा कुचुक्क परेर बसेका छन । उमेरले देउवाभन्दा त्यस्तै छ बर्ष कान्छा होलान ओली । तर, प्रधानमन्त्री ओलीले देउवासंग समान ब्यबहार त गरेनन नै, कान्छो मानिसले जेठो मानिससंग गर्ने सामान्य मानवीय ब्यबहार समेत गरेको देखिएन । यस्तो पनि हुन्छ र ?

उमेरका सम्बन्धमा हरेक समाजका केही आफनै मान्यता हुन्छन । दरबार हत्याकाण्डमा मारिएका राजा बीरेन्द्रका जेठा छोरा दीपेन्द्र, जसलाई पछिल्लो समयमा हत्याकाण्डका नायकका रुपमा चित्रित गरिएको छ, राजाका उत्तराधिकारीका रुपमा युवराज घोषित भै सकेका थिए । तर, दरबार हत्या काण्डमा नै मारिएका दीपेन्द्र सँधै आपूmभन्दा जेठोलाई सम्मान दिन्थे र दाई सम्बोधन गर्दथे ।

प्रतिपक्षी नेता शेरबहादुर देउवा प्रधानमन्त्रीको बैठकमा बिना उद्देश्य पुगेका थिएनन । उनी अख्तियार दुरुपयोग निवारण आयोगमा हुन लागेको पदाधिकारीको नियुक्तिमा भागबण्डाको खोजीमा त्यहाँ पुगेका थिए । उनी पटक पटक बालुवाटार पुगेका छन स–साना काम गराउन । उनी जापानमा राजदूत रहेकी आफनी सासु प्रतिभा राणाको राजदूत पद जोगाउन त्यहाँ पुगी सकेका थिए । पछिल्लो पटक, केही साता अघि मात्रै, प्रधानमन्त्री ओलीले प्रतिपक्ष बिनाको संबैधानिक परिषद बनाउन खोजेका थिए । त्यो योजना फेल खायो । नत्र त बिजोगहुने थियो प्रमुख प्रतिपक्षको ।

प्रधानमन्त्री ओलीले भनेका धेरै कुरा फेल खाएका छन । घर घरको पनि चुल्हा चुल्हामा ग्याँसको पाइप पुर्याउने र चीनबाट केरुङको बाटो चुच्चे रेल काठमाडौ, पोखरा र लुम्बिनीसम्म कुदाउने कुरा त फेल खाइ सकेकोछ । अब यो एउटा अध्यादेश फेल खायो त खायो ।

यस्ता कुरामा, कि को कहाँ कुन पदमा नियुक्त भयो ? हिजोआज मानिसको खासै अभिरुचि छैन । अधिल्लो कालमा पत्रपत्रिकाका लागि यो ठूलो समाचार हुन्थ्यो । अचेल कसैको पनि रुचि छैन त्यसमा । न पाठकको, न प्रकाशकको । नेताहरु आफनै घरानाका सम्धी, ज्वाई, जेठान, भतिजा, भान्जाले ओहोदा पाएभने रमाउलान ! अरु कसैले सेवाको अवसर पाएर खुशी पक्कै हुँदैनन । जागीरमा नियुक्तिगरे बापत ज्वाई–भानिजसंग सलामी रकम खोज्नु भएन । तर, आफनो भनेको आफनै हुन्छ । ती पदहरु लिलामीमा राख्न पाएको भए मोटो आम्दानी हुने थियो । सत्य यही हो । तर, हिजोआज सत्य पनि बिचौलिया भएकोछ ।

देश कोविडको छायाँमा छ । काठमाडौं उपत्यकाका कतिपय बस्तीमा कोरोना भाइरस छपक्क छाएका छन । मानिसको शरीरमा भाइरस लागेको नलागेको जाँच्ने मसीनलाई राजनीति लागेकोछ । भाइरसको संक्रमण देशैभरि छ र छैन पनि । छ, किनभने छ । छैन, किनभने जाँच्ने मसीन छैन । देशको राजधानी काठमाडौं कोविडको छायाँमा छ । छ र छैनको व्दिविधामा मानिस शून्य आकाशमा त्रिशंकु बनेर लटकिएकोछ ।

(किशोर नेपाललाई ट्वीटरमा फ्लो गर्न सक्नुहुनेछ ।)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com