विदेशी कम्पनीलाई नेपालमा भ्याक्सिन परीक्षणको अनुमति, मापदण्ड पूरा हुनेमा विज्ञहरुको आशंका


प्रकाशित मिति : भाद्र ८, २०७७ सोमबार

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको तेश्रो चरणको क्लीनिकल परीक्षणका लागि विदेशी भ्याक्सिन कम्पनीहरुलाई अनुमति दिने निर्णय गरेको द काठमाण्डु पोष्टमा प्रकाशित समाचारमा जनाइएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुशार स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई सबै प्रकृया पूरा गरेर भ्याक्सिनको परीक्षणका लागि अनुमति दिएको छ ।

तर तेश्रो चरणको क्लीनिकल परीक्षण नेपालमा गर्दा  मापदण्ड पूरा हुनेमा विज्ञहरुले आशंका व्यक्त गरेका छन् । पहिलो र दोश्रो चरणको क्लीनिकल परीक्षणबाट सुरक्षित र प्रभावकारी देखिएका भ्याक्सिनलाईमात्र तेश्रो चरणको क्लीनिकल परीक्षणका लागि नेपालमा अनुमति दिनुपर्ने उनीहरुको राय छ । काठमाडौं पोष्टले ती विज्ञहरुको चिन्ता प्रकाशित गरेको छ ।

तीन कम्पनी नेपालमा इच्छुक

बेलायतको आष्ट्राजेनेका, चीनको हङ्सी र रुसको गेमेलिया कोरोना भ्याक्सिनको तेश्रो चरणको परीक्षण नेपालमा समेत गर्न इच्छुक रहेका छन् । उनीहरुले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएका हुन् ।

विश्व स्वास्थ्य संगठनको निर्देशिका बमोजिम तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि खोप निर्माता कम्पनीले विश्वका विभिन्न देशमा ठूलो संख्यामा परीक्षण गर्नुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप परीक्षणका लागि पहलकदमी लिएपछि खोप विकासमा जुटेका विश्वका तीन कम्पनी नेपालमा परीक्षणको प्रक्रिया अगाडि बढाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

नेपालमा खोप विकासको अध्ययन अनुसन्धान तथा परीक्षण सम्बन्धी गतिविधि सञ्चालन गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिइएको छ ।

अमेरिकामा मोडेर्ना र फाइजरले जुलाईको अन्तिमसातादेखि नै तेश्रो चरणको क्लीनिकल परीक्षण सुरु गरिसकेका छन् । फाइजरले जर्मन कम्पनी बायो एनटेकसँग मिलेर तेश्रो चरणको क्लीनिकल परीक्षण गरिरहेको छ ।

अमेरिकामा तेश्रो चरणको परीक्षण जारी

अमेरिकन बायोटेक कम्पनी मोडेर्ना र जर्मन बायोटेक कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन बनाइरहेको अमेरिकन कम्पनी फाइजरले जुलाईको अन्तिम साताबाट तेश्रो चरणको परीक्षण ३० हजारमा सुरु गरेका छन् ।

परीक्षण १८ बर्षदेखि ८५ बर्षभित्रका ३० हजार सहभागीहरुमा सुरु गरिएको हो । फाइजरको भ्याक्सिन विश्वभरका १२० साइटहरुमा परीक्षण गरिनेछ भने अमेरिकाका मात्र ३९ राज्यहरुमा परीक्षण गरिने छ । यो चरणको परीक्षण सफल भएमा आगामी अक्टोबरमा भ्याक्सिनको अन्तिम पुनरावलोकन गरिनेछ ।

फाइजरले सन् २०२० भित्रै १ सय मिलियन डोज आपूर्ति गर्ने घोषणा गरेको छ । सन् २०२१ भित्र १३ सय मिलियन डोज उत्पादन गर्ने फाइजरको लक्ष्य रहेको छ । फाइजरले बनाएको भ्याक्सिनमा एमआरएनए मोलिक्युलसको प्रयोग गरिएको छ, जसले कोरोना भाइरसबिरुद्ध प्रतिरोधक क्षमता विकाश गर्छ ।

अमेरिकन बायोटेक कम्पनी मोडेर्ना र राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले तेश्रो चरणको परीक्षण अमेरिकाका झण्डै १ सय वटा शोधस्थलहरुमा गरिरहेका छन् । झण्डै ३० हजार स्वयंसेवकहरुलाई यो भ्याक्सिन दिएपछि यसको प्रभावकारिता अन्तिम चरणमा मूल्यांकन गरिनेछ र सबैका लागि भ्याक्सिन उत्पादन सुरु हुनेछ ।

तीनचरणमा परीक्षण

कोरोनाबिरुद्धको भ्याक्सिन तीन चरणमा परीक्षण गरिन्छ । पहिलो चरणमा थोरै संख्यामा परीक्षण गरेपछि दोश्रो चरणको क्लीनिकल परीक्षण हुन्छ । दोश्रो चरणको क्लीनिकल परीक्षणबाट सकारात्मक परिणाम आएपछि तेश्रो चरणको सबैभन्दा ठूलो तेश्रो चरणको क्लीनिकल परीक्षण हुन्छ ।

विश्वभर अहिले दुईदर्जन बढी भ्याक्सिनको क्लीनिकल परीक्षण भइरहेको छ । अमेरिका, बेलायतदेखि युरोप र चीनसम्म भ्याक्सिनका क्लीनिकल परीक्षणहरु भइरहेका छन् । रसियाले तेश्रो चरणको क्लीनिकल परीक्षण विना नै भ्याक्सिनलाई स्वीकृति दिएको थियो ।

कहिलेसम्म आमरुपमा उपलब्ध होला ?

परीक्षण भइरहेका भ्याक्सिन हेर्दा यी भ्याक्सिनहरु सफल भएमा यसैबर्षको डिसेम्बरमा अमेरिका, बेलायत लगायतका मुलुकमा यसै बर्षको अन्त्यसम्ममा उपलब्ध हुने अनुमान गर्न सकिन्छ । तर सन् २०२१ को मध्यसम्ममा भने यी भ्याक्सिनहरु विश्वभर सर्वसाधारणका लागि व्यापाक रुपमा उपलब्ध हुने विज्ञहरु बताउँछन् ।

तर ती भ्याक्सिनको प्रभावकारिताबारे भने अझै प्रश्नचिन्ह छ । कोभिड १९ बनाउने नयाँ कोरोनाभाइरस फैलिनु अगाडि नै मानव शरिरमा अन्य ४ प्रकारका कोरोनाभाइरस फैलिसकेका छन् । सामान्य रुघाखोकीको लक्षण देखाउने ती कोरोनाभाइरसबिरुद्धको अहिलेसम्म भ्याक्सिन तयार भएको छैन ।

भ्याक्सिनको लागि हतार गर्दा के भएको थियो १९७६ मा ?

अहिले कोरोनाबिरुद्धको भ्याक्सिनको उत्पादनको होडबाजी चलिरहेको छ । भ्याक्सिन उत्पादनमा को अगाडि हुने भन्ने होडबाजी समेत देखिएको छ । रसियाले त बृहत क्लीनिकल परीक्षण विना नै भ्याक्सिनलाई स्वीकृति दिइसकेको छ ।

सन् १९७६ मा यस्तै हतारमा भ्याक्सिन जारी गरिएको थियो, जुन पछि पूर्णरुपमा असफल भएका कारण रोक्नुपर्ने अवस्था आएको थियो । त्यतीबेला अमेरिकाका राष्ट्रपति थिए, जेराल्ड फोर्ड । उक्त बर्षको सुरुतिर न्युजर्सीमा रहस्यमय स्वाइन फ्लुको नयाँ संक्रमण देखा परेको थियो ।

संक्रमणबाट सुरुमा एकजनाको मृत्यु भयो भने कैयन बिरामी भए । मुलुकका उच्च संक्रमण रोग विशेषज्ञहरु आत्तिए । १९१८ को फ्लु विश्वले भोगिसकेका कारण मान्छेहरु आत्तिएका थिए । त्यसपछि राष्ट्रपतिले पोलियो भ्याक्सिनका लागि काम गरेका वैज्ञानिकसँग सरसल्लाह गरे । मार्चको अन्तिमतिर उनले भ्याक्सिन उत्पादन र वितरणको योजना घोषणा गरे ।

यथाशक्य भ्याक्सिन उत्पादन गरेर हरेक अमेरिकनलाई भ्याक्सिन दिने घोषणा गरियो । किनभने स्वाइन फ्लुको नयाँ स्वरुपले कस्तो खालको महामारीको रुप लिने हो भन्नेबारेमा अन्यौल थियो । भ्याक्सिनबारे दु्रत गतिमा काम भइरहेको थियो । सन् १९७६ को जुनमा एउटा भ्याक्सिन उत्पादक कम्पनीले २ मिलियन डोज उत्पादन गर्यो । तर पछि यो गलत स्ट्रेनको प्रयोग गरेर उत्पादन गरिएको पुष्टी भयो ।

राष्ट्रपति फोर्डले भ्याक्सिन कार्यक्रम निरन्रता दिन घोषणा गरे । बर्षा ऋतुसम्म हरेक दिन एक मिलियनलाई भ्याक्सिन दिने योजनाका साथ काम सुरु गरियो । मध्य अक्टोबरसम्म भ्याक्सिन लगाउने काम जारी थियो । राष्ट्रपति फोर्डले पनि ह्वाइटहाउसका डाक्टरबाट भ्याक्सिन लगाए ।

तर लगत्तै समस्याहरु बढ्न थाले । भ्याक्सिनकै कारण कैयनको मृत्यु भएका खबरहरु आउन थाले । गुइलेन बर्रे सिन्ड्रोमहरु पनि देखिन थाले । तनावको वातारण श्रृजना भएपछि कैयन राज्यहरुले भ्याक्सिनको कार्यक्रम नै स्थगित गर्नुपरेको थियो ।

डिसेम्बरसम्म भ्याक्सिनका कारण ९४ जनालाई प्यारालाइसिस भयो । त्यसपछि भ्याक्सिनको सम्पूर्ण कार्यक्रम नै बन्द गर्नुपर्ने अवस्था आएको थियो । डाक्टर र राजनीतिज्ञहरुबीच आरोप प्रत्यारोप सुरु भयो । फोर्डले आफ्नो राजनीतिक फाइदाका लागि लापरवाहीपूर्ण काम गरेको आरोप लगाइयो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com