नेपालमा थप ८३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० हजार नाघ्यो


प्रकाशित मिति : भाद्र ५, २०७७ शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १८ हजार २१४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २५० जना उपचारपछि डिस्चार्ज भएका छन् । ५९.२ प्रतिशत संक्रमित निको भएका छन् ।

मुलुकभर १२ हजार १३२ सक्रिय सङ्क्रमित छन् । आज नेपालमा १३ हजार ५७९ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा १२ हजार २३४ रहेका छन् । होम आइशोलेशनमा ३ हजार ५८६ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जनामा कोरोना संक्रमण देखिएको हो । बिहीबार मात्र काठमाडौँ उपत्यकामा २०० जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।
नेपालमा कोरोना संक्रमणबाट आज हालसम्मकै धेरैको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ । जसमा पुरुष १०५ जना र महिला ३२ जना रहेका छन् ।
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com