राष्ट्रिय झण्डा जलाउनेलाई कानूनी कठघरा : ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुबै सजाय


प्रकाशित मिति : भाद्र ३, २०७७ बुधबार

– शीतल पाण्डे

कानुनतः राष्ट्रिय स्वाधीनताको प्रतीक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग कोही कसैले पनि गर्न पाउँदैन ।

तर, देशको शान र पहिचानका रुपमा रहेको नेपालको राष्ट्रिय झण्डा जलाई म्यूजिक भिडियो बनाई मिति २०७७।५।१ गते तदनुसार अगस्त १७ २०२० मा मंगोल होप अफिसियल नामक युटुब च्यानलबाट सार्वजनिक गरेको छ ।

उक्त गीतको बोल मंगोलहोप देशद्रोही नाम दिईएको छ । राष्ट्रिय चिन्ह वा निशानीहरुको दुरुपयोग गरेमा फौजदारी अपराधमा सजाँय हुने भन्ने बारे कानुनमै प्रस्ट व्यवस्था भए त्यसलाई बेवास्ता गर्दै उक्त भिडियोमा राष्ट्रिय झण्डालाई जलाएको भिडियो सार्वजनिक भएको छ ।

मुलूकी अपराध संहिता, २०७४ को परिच्छेद ८, दफा १५१ बमोजिम राष्ट्रिय गान, झण्डा वा निशाना छापको अपमान वा क्षति गर्न नहुने व्यवस्था छ ।

दफा १५१ उपदफा (१) मा कसैले नेपाल वा नेपाल सरकार विरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, बस्तु वा अवस्थामा त्यस्तो गान झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन भनी व्यबस्था गरेको छ ।

उपदफा (२) मा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

बिभिन्न जातजाती बीचको आपसी सद्भावलाई खलल पार्ने उक्त भिडियोमा जातजाति को आत्म सम्मानमा आँच आउने तवरले बाहुन क्षेत्रीलाई समेत गाली गरिएको छ ।

जुन मुलूकी अपराध संहिता, २०७४ को परिच्छेद ९, दफा १५६ बमोजिम धार्मिक भावनामा आघात पु¥याउन नहुने व्यबस्था बिरुद्धको कसूर रहेको छ । दफा १५६ उपदफा (१) मा कसैले लेखेर, बचनले वा आकार वा चिन्हद्वारा वा अरु किसिमबाट जात जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पु¥याउन हुँदैन ।

उपदफा (२) मा उक्त उपदफा (१) बमोजिमको कसूर गर्ने गराउने व्यक्तिलाई २ वर्ष सम्म कैद र बीस हजार रुपियाँ सम्म जरिवाना हुनेछ भन्ने व्यवस्था छ ।

देशको शान र पहिचानका रुपमा रहेको नेपालको ‘झण्डा’लाई पछिल्ला समयमा आफूखुसी विज्ञापन र कार्यक्रम र रुप रंग नै बिगारेर बनाउने कार्यमा प्रयोग गरी दुरुपयोग गर्ने कार्यमा तीव्रता पाएकोे भए पनि सरकारले कारबाही नगर्दा दैनिक रुपमा दुरुपयोग हुँदै गएकोले सरकारले कार्यबिधि नै बनाएर लागू गरेको छ ।

उक्त कार्यविधि २०६९ जेठ २२ गतेदेखि लागू गरिएको हो । त्यो कार्यविधिमा राष्ट्रिय झण्डाको प्रयोगमा विभिन्न सातवटा कार्यहरु गर्न निषेध लगाइएको भएता पनि बिभिन्न समयमा विदेशी सामान बिक्रि गर्ने कम्पनी देखि सिमेन्ट कम्पनी तथा रक्सी कम्पनी समेतले राष्ट्रिय झण्डा दुरुपयोग गरेको साथै शरीरको तल्लो भाग अर्थात कम्मर मुनी लगाएर वा झण्डाको पेन्ट गराई कानूनको पालना गर्ने भन्दा कानूनको उल्लंघन गर्नेको होड उग्र रुप लिएको देखिन्छ ।

राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले विभिन्न सातवटा शर्तहरु राखी राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइनेछैन भनेको छ । तर दुरुपयोग गरे नगरेको कसले हेर्ने र दुरुपयोग गर्नेलाइ के कस्तो कारबाही गर्न सकिने भन्ने कुरोचाहिँ ठ्याक्कै तोकेको छैन ।

कार्यविधिको परिच्छेद ४ मा कुनै पनि जिल्लाको हकमा आफ्नो कार्यक्षेत्रभित्र राष्ट्रिय झण्डाको दुरुपयोग भएरनभएको अनुगमन गर्ने भनेर प्रमुख जिल्ला अधिकारीलाई तोकेको छ ।

गृह मन्त्रालयले बनाएको कार्यविधिको दफा ११ मा राष्ट्रिय झण्डाको दुरुपयोगमा निषेध गरिएको छ । राष्ट्रिय झण्डाको अपमान हुने गरी कुनै कार्य गर्न नहुने, झण्डा च्यात्न वा फ्याँक्न नहुने र फहराउने प्रकृतिको कार्यबाहेक अरु काममा प्रयोग गर्न नहुने कार्यविधिमा उल्लेख छ ।

राष्ट्रिय स्वाधीनताको प्रतीक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न कोही कसैले पनि गर्न नपाउने भन्दै सरकारले ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ जारी गरेको थियो । २०६९ जेठ २२ गते तत्कालीन गृहसचिव सुशील जंग बहादुर राणाले राष्ट्रिय झण्डा र राष्ट्रिय गान कार्यविधि–२०६९ जारी गरे पनि सरकारी मातहतबाटै झण्डाको दुरुपयोग रोक्ने तर्फ ध्यान दिएको छैन ।

कार्यविधिको बुँदा (घ) मा व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न नपाइने उल्लेख छ भने बुँदा (ङ) मा व्यक्तिले  शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागबाहेक अन्यत्र लगाउन निषेध गरिएको छ ।

कार्यविधि परिवर्तन गरेर पहिलो पटक नागरिकका घरघरमा तथा गैरसरकारी संस्थाले पनि कार्यालयमा झण्डा राख्न पाउने भएका छन्, योभन्दा अगाडि सरकारी निकायमा बाहेक अन्य क्षेत्रमा पाइँदैनथ्यो, राष्ट्रिय झण्डाको दुरुपयोग नहुने गरी व्यक्तिगतरूपमा गाडीभित्र पनि राख्न पाइने छ ।

कुनै पनि औपचारिक कार्यक्रमहरु सञ्चालन गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्ने सम्बन्धमा नेपालको संविधान, २०७२ तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, (प्रथम संशोधनसमेत) २०६९ मा व्यवस्था छ ।

सोही कार्यविधि अनुसार संवैधानिक निकाय तथा सरकारी कार्यालयहरुले प्रयोग गर्ने झण्डाको लम्बाइ आठ र चौडाइ छ फिटको हुनुपर्ने प्रावधान छ । नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका सङ्घ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार लम्बाइ छ र चौडाई चार फिट हुनुपर्ने छ ।

संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैरसरकारी सङ्घसंस्था तथा नेपाली नागरिकले व्यक्तिगतरूपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार लम्बाइ चार र चौडाइ तीन फिट हुनु पर्नेछ । व्यक्तिगतरूपमा नागरिकले घरघरमा उक्त आकारको झण्डा फहराउन सक्नेछन् ।

संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार लम्बाइ ३० र चौडाइ २० सेन्टिमिटर तथा नेपाली नागरिकले राष्ट्रिय उत्सव र महोत्सवहरुमा लम्बाइ ३० र चौडाइ २० सेन्टिमिटर आकारको झण्डा हातहातमा लिएर हिँड्न पाउने व्यबस्था छ ।

राष्ट्रिय पर्व, राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरुको सवारीका बखत तोकिएबमोजिमको सडकको दायाँ बायाँ र चोकमा फहराइने झण्डाको लम्बाइ तीन र चौडाइ २।५ फिटको हुनुपर्ने छ ।

यस्तै नागरिकले राष्ट्रिय झण्डा अङ्कित टिसर्टको समेत प्रयोग गर्न सक्नेछन् । गृहमन्त्रालयले प्रयोग गर्ने टिसर्टको नमूनासमेत सार्वजनिक गरेको छ । सेतो टिसर्टमा छातीमा पर्नेगरी राष्ट्रिय झण्डा राखेर लगाउन पाइने छ ।

यस्तो कानूनी व्यवस्थाको वेवास्ता गरी मुलुकी अपराध संहिता २०७४को परिच्छेद ८ दफा १५१ को उपदफा १ मा नेपालको झण्डा जलाउने र त्यसको जानी जानी अपमान गर्नेलाई फौजदारी कसुर ठहरेकाले नेपालको झण्डा जलाएर भिडियो बनाउने त्यासलाई अपडेट गर्नेलाई सोही दफाको उपदफा २ बमोजिम तथा जात जाति बिरुद्ध धावा बोलेको कसूरमा ऐ को परिच्छेद ९, दफा १५६ बमोजिम धार्मिक भावनामा आघात पु¥याउन नहुने व्यबस्था बिरुद्धको कसूर गरेकोले उपदफा (२) तुरुन्त कारबाहीको दायरामा ल्याईयोस र युटुव तथा अन्य सामाजिक संजालबाट तुरुन्त त्यास्तो भिडियो हटाउन गृहमन्त्रालय संग जोडदार माग गर्दछु ।

( शीतल पाण्डे कानुन व्यवसायी हुन् ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com