‘ट्रम्प अमेरिकाका गलत राष्ट्रपति’: डेमोक्रेटिक सम्मेलनमा मिशेल ओबामाको सम्बोधन


प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार

अमेरिकामा डेमोक्रेटिक पार्टीको चारदिने राष्ट्रिय सम्मेलनको पहिलोदिन आज बर्नी स्याण्डर्सदेखि मिशेल ओबामासम्मले सम्बोधन गरेका छन् । झण्डै २ घण्टा लाइभ प्रशारण गरिएको उक्त सम्मेलनमा बोल्दै पूर्व प्रथम महिला मिशेल ओबामाले डोनाल्ड ट्रम्प अमेरिकाको गलत राष्ट्रपति भएको बताइन् । उनको सम्बोधनपछि सम्मेलनको आजको शत्र समाप्त भएको थियो ।

आजको शत्रमा अमेरिकी राष्ट्रपतिका पूर्व डेमोक्रेटिक उम्मेदवारहरु बर्नी स्याण्डर्स, एमी क्लोबुचार लगायतले बोलेका थिए । त्यस्तै जर्ज फ्लोयडका परिवारका सदस्यले पनि कार्यक्रममा बोलेका थिए । कैयन डेमोक्रेटिक नेताहरुले सम्बोधन गरेको आजको कार्यक्रममा न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोको सम्बोधन पनि चर्चामा रहेको थियो ।

भर्चुअल सम्मेलनका लागि अमेरिकाका विभिन्न स्थानमा ४ वटा सेटहरु बनाइएको छ । न्युयोर्क सिटी, लस एन्जलस, मिलाउकी र डेलावरको विल्मिङटनमा सेटहरु बनाइएको छ ।

राष्ट्रिय सम्मेलनले आगामी चुनावका लागि राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवारको औपचारिक रुपमा अन्तिम नामाकंन गर्नेछ । जस अन्तरगत राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिसको नाम औपचारिक रुपमा घोषणा गरिनेछ ।

सामान्यतया सम्मेलनहरु घण्टौं हुने भएपनि योबर्षको सम्मेलनको मुख्य भाग तीनदिनसम्म हरेक दिन दुईघण्टाका दरले आयोजना गरिनेछ । बिहिबारसम्म हरेक दिन बेलुका न्युयोर्क समय ९ बजेदेखि ११ बजेसम्म सम्मेलनको आयोजना गरिनेछ ।

सम्मेलन सुरुमा विसकन्सिनको मिलाउकीमा जुलाईको मध्यमा तय गरिएको थियो । तर कोरोनाको महामारीका कारण सम्मेलन पछाडि सार्नु परेको हो । कोरोनाको महामारीका साथै राष्ट्रपति पदका लागि जो बाइडेन बाहेक डेमोक्रेटिक पार्टीका अन्य उम्मेदवारहरु मैदानमा नभएका कारण यो सम्मेलन विगतका भन्दा फरक छ ।

बाइडेनले विहिबार औपचारिक रुपमा डेमोक्रेटिक पार्टीका तर्फबाट नोमिनेशन स्वीकार गर्नेछन् । त्यसक्रममा हुने आफ्नो डेलावरको घर नजिकै विल्मिङटनमा रहेको लगभग रित्तो बलरुममा विशेष सम्बोधन गर्नेछन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com