कमला ह्यारिसको नागरिकताबारे प्रश्नचिन्ह खडा गरेर प्रकाशित लेखप्रति न्युजवीकले माग्यो माफी


प्रकाशित मिति : श्रावण ३१, २०७७ शनिबार

उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसको नागरिकताबारे प्रश्न उठाउने लेख प्रकाशित गरेकोमा प्रसिद्ध संचारमाध्यम न्युजवीकले माफी मागेको छ । अमेरिकामा नै जन्मेकी सिनेटर कमला ह्यारिसको नागरिकताबारे प्रश्नचिन्ह खडा गरेर उनी उपराष्ट्रपति उम्मेदबारका लागि अयोग्य हुनसक्ने भन्दै लेख प्रकाशित भएको थियो ।

कमला ह्यारिस क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४ को अक्टोबर २० मा जन्मिएकी हुन् । उनका बुबा जमैकाबाट अमेरिका आएका थिए भने आमा भारतबाट अमेरिका आएकी थिइन् । कमला ह्यारिस जन्मसिद्ध अमेरिकी नागरिक भएकाले उनलाई उपराष्ट्रपति बन्नका लागि कुनै अडचन छैन ।

तर अमेरिकी राष्ट्रपति ट्रम्पले न्युजवीकमा प्रकाशित आलेखलाई लिएर कमला ह्यारिसको योग्यतामाथि प्रश्नचिन्ह खडा गरेका थिए । आफ्नो संचारमाध्यममा प्रकाशित सामाग्री विभेदका लागि दुरुपयोग भएको भन्दै न्युजवीकले माफी मागेको हो । तर उक्त लेख वेवसाइटबाट भने हटाइएको छैन, बरु माफीको सुचनासहित नै राखिएको छ ।

यतिबेला अमेरिकाको चुनावी राजनीति यतिबेला कमला ह्यारिसको इन्ट्रीले तातेको छ । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार छानेपछि चुनावी राजनीतिमा रौनक थपिएको हो ।

अमेरिकी चुनाव आउन झण्डै साढे २ महिना बाँकी रहँदा कमलाको इन्ट्री भएको हो । कमला अमेरिकी उपराष्ट्रपतिमा चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन महिला बनेकी छिन् ।

इन्डियन जमैकन मूलकी क्यालिफोर्नियाकी सांसदले डेमोक्रेटिक प्राइमरीमा राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन् । तर पछि उनी राष्ट्रपतिको चुनावी दौडबाट आफै पछाडि हटेकी थिइन् ।

राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो । बाइडेनले उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने चर्चाका कारण उनी समाचारका शीर्षकहरुमा रहेकी थिइन् । एलिजाबेथ वारेनले अश्वेत महिलालाई उपरराष्ट्रपति उम्मेदवार छान्न बाइडेनलाई सुझाव दिंदै आफू पछाडि हटेकी थिइन् ।

क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्दै आएकी छिन् । ह्यारिसले अब ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवार वर्तमान उपराष्ट्रपति माइक पेन्ससँग आगामी अक्टोबर ७ मा सल्ट लेक सिटी, युटामा बहस गर्नेछिन् । नोभेम्बर ३ को चुनावमा बाइडेनले जीतेमा उनले पनि स्वत चुनाव जित्नेछिन् ।

अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए । सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो उम्मेदवार बनेकी थिइन् । तर दुवैजनाले चुनाव जित्न सकेनन् ।

हालसम्म अमेरिकामा अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका छैनन् भने अहिलेसम्म महिला राष्ट्रपति चुनिन पनि सकेका छैनन् ।

अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुनका लागि अमेरिकामा नै जन्मेको अमेरिकी नागरिक हुनुपर्छ । अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्ति अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुन पाउँदैन । यो प्रावधान विदेशी प्रभावबाट मुलुकलाई बचाउने उद्देश्यले राखिदै आएको हो ।

कमला ह्यारिसकी आमा श्यामला गोपालन क्यान्सर शोधकर्ता थिइन् भने बुबा डोनाल्ड ह्यारिस अर्थशास्त्री थिए । आमा श्यामलाले नै कमला नाम छनौट गरेकी थिइन् । हिन्दु देवी लक्ष्मीको अर्को नाम पनि कमला हो ।

जब कमला ७ बर्षकी थिइन्, उनका बुबाआमाबीच पारपाचुके भयो । आमाले कमला र माया दिदीबहिनीलाई एक्लै हुर्काउनुपरेको थियो । अश्वेत र साउथ एसियन पहिचानका साथ कमला बाल्यकालमा हिन्दु मन्दिर र चर्च दुबैमा गइन् ।

कमला आफ्नी मावलकी हजुरआमाबाट निकै प्रभावित थिइन् । उनी बाल्यकालमा भारत पनि गएकी थिइन् । उनकी हजुरआमा भारतीय स्वतन्त्रता संग्राममा भाग लिएकी एक उच्च तहकी सरकारी कर्मचारी थिइन् ।

कमलाले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् । कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई एक अमेरिकी भन्ने गर्छिन् ।

यसरी हुन्छ अमेरिकामा राष्ट्रपति चुनाव

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com