नयाँ प्रविधिको उपयोग गरी गाईबाच्छा बचाइँदै


प्रकाशित मिति : श्रावण ३१, २०७७ शनिबार

दुर्घटनामा परेका, विविध रोगव्याधि लागेका र तागत नभएका कारण बसेका ठाउँबाट उठ्न नसक्ने असहाय गाईबाच्छा बचाउन विशेष उपकरणको प्रयोग हुन थालेको छ । विभिन्न समस्याका कारण जीवन जोखिममा परेका गाईबाच्छा सामान्य तरिकाबाट जोगाउन असम्भव हुन थालेपछि उपकरण प्रयोगमा ल्याइएको छाडा गाईबाच्छा संरक्षण अभियानका अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

आफ्नै शरीर भारी भइसकेका अवस्थामा त्यस्ता अधिकांश गौप्राणी मर्न थालेपछि अभियानकर्मी भगवान् पुडासैनीको विशेष निगरानी र पहलमा अशक्त गाईबाच्छालाई उभ्याउन सक्ने एवं उठाउन मिल्ने विशेष उपकरण तयार गरिएको उहाँले बताउनुभयो । संविधानले राष्ट्रिय जनावरको मान्यता दिए पनि उपकरणका अभावमा गाईबाच्छा बचाउन कसैले पहल गरेको थिएन । घिर्नीको सहयोगबाट ६०० किलोसम्मको गाईबाच्छालाई उठाएर राख्न सकिने उपकरण गोठाटारमा सञ्चालित असहाय गाईबाच्छा संरक्षण अभियानमा नौलो प्रयोगका रुपमा प्रस्तुत गर्न थालिएको छ ।

यसको सफल प्रयोगपछि काठमाडौँ उपत्यकाभित्र दुर्घटनामा परेका एवं अशक्त धेरै बाच्छाबाच्छीले जीवन पाउने विश्वास गरिएको छ । करीब रु ३५ हजारमा निर्मित उपकरण बनाउन कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी निवासी सुन्दरराज पुडासैनीले रु पाँच हजार सहयोग गर्नुभएको थियो । यसैगरी असहाय गाईबाच्छा संरक्षणका लागि एक व्यक्ति एक दिन अभियानअन्तर्गत वर्षमा एक दिन विशेष अवसरमा औषधोपचार र भोजन व्यवस्थापनमा आउनेको पनि भीड लाग्न थालेको छ । केदार सञ्जेल आफ्नी छोरीको पुण्यतिथिका अवसरमा गाईबाच्छालाई सहयोग गर्न आज संरक्षणस्थल पुग्नुभयो ।

बहिनीको पुण्यतिथिका अवसरमा यानप्रसाद अधिकारीले असहाय गाईबाच्छाका लागि योगदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यसैगरी धेरै व्यक्तिले सहयोगको वाचा गर्नुभएको अभियानले जनाएको छ ।  असहाय बाच्छाबाच्छी संरक्षण अभियानका लागि बौद्धस्थित भेटरान क्लबका तर्फबाट खाद्यान्न उपलब्ध भएको छ । यस्तै अभियानकर्मीका सहयोगमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उत्तरी भेगस्थित वाग्मती किनार र गोठाटारमा रहेको पशुपति क्षेत्र विकास कोषको जग्गामा करीब २०० असहाय गाईबाच्छा संरक्षण गरिएको छ । राजधानीमा गाईपालकले बाच्छा जन्मिए केही महिनामै सडक, मन्दिर वा नदी किनारमा छाडिदिने गरेका छन् । गौपालकले गर्ने यस्ता कुकृत्य रोक्न कुनै पनि स्थानीय तहले पहल गरेका छैनन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com