मलेसियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल आउन नसकेको उहाँको भनाइ छ । पाँच महिनादेखि बिनारोजगारी कोठामा बसिरहँदा खर्च अभाव भएको उहाँले बताउनुभयो । “पाँच महिनादेखि काम गर्न पाएको छैन”, श्रेष्ठले भन्नुभयो, “मलेसियास्थित नेपाली दूतावासमा अनलाइनमार्फत नेपाल आउन पटकपटक फर्म भर्यो तर नियमित उडान नहुँदा महँगो पर्ने भन्दै कम्पनीले पठाउन मान्दैन ।”

नियमित उडानका लागि भनेर कम्पनीले टिकटसमेत खरिद गरिसकेको उहाँको भनाइ छ । चार्टर्ड उडानका लागि करिब ५० प्रतिशत रकम थप गर्नुपर्ने भएकाले खर्च नहँुदा समस्या भएको भन्दै उहाँले सहयोगका लागि अनुरोध गर्नुभयो ।

मलेसियाबाट नेपाल आउनका लागि नियमित उडानमा छ सयदेखि सात सय रिङ्गेट तथा चार्टर्ड उडानमा एक हजार ५९० रिङ्गेट पर्ने उहाँको भनाइ छ । विमानस्थल पुग्न छ घण्टा हिँड्नुपर्ने र त्यसका लागि ७० रिङ्गेट तथा कोरोना परीक्षणका लागि ३५० रिङ्गेट खर्च लाग्ने हुँदा समस्या भएको अर्का नीरकुमार तामाङले बताउनुभयो । कम्पनीले खर्च नबेहोर्दा नेपाल आउन उनीहरुले रु ५६ हजार ७९ तिर्नुपर्ने हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खान र बस्नका लागि कम्पनीले व्यवस्था गरेको भए पनि कम्पनीले दिने खाद्यान्नले नपुग्ने विकास विश्वकर्माले बताउनुभयो । नौ जनालाई हप्तामा २० केजी चामल दिने भए पनि अपुग हुँदा किन्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । नेपाली दूतावासलाई भनेपछि एक महिनायता मात्रै व्यस्था गरेको उनीहरुको भनाइ छ ।

खानाकै लागि एक जनालाई ४०० रिङ्गेट खर्च हुने घनश्याम श्रेष्ठ बताउनुहुन्छ । अहिले त्यस क्षेत्रमा पनि कोरोना देखिन थालेकाले जोखिम बढेको भन्दै उद्धारका लागि अनुरोध गर्नाको विकल्प नभएको उहाँले बताउनुभयो । अब खानाकै लागि नेपालबाट खर्च मगाउनुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।

अलपत्र पर्नेमा झापाका नीरकुमार, धरानका विकास र राजु विश्वकर्मा, भक्तपुरका निख पौडेल, चितवनका सुन्दर माल, बाग्लुङका अम्मर आचार्य र अमृत गुरुङ, गोर्खाका भीमबहादुर मगर, सिरहा लहानका बद्रीप्रसाद यादव र सोलुखुम्बुका घनश्याम रहनुभएको छ । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com