बाढीले बगाएर मर्यो गैँडा
प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/08/gaida.jpg?fit=1024%2C576&ssl=1)
राप्ती नदीले बगाएर आज एउटा गैँडा मरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजीक नदीमा आज मृतावस्थामा गैँडा फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करीब १५–२० वर्षको पोथी गैँडा नदीमा मृत भेटिएको हो । मेघौली नजीक राप्ती नदीमा बाढी घट्दै गएपछि गैँडा देखिएको प्रारम्भिक अनुमान गरिएको रानाभाटले जानकारी दिनुभयो ।
उहाँका अनुसार नदीमा रहेको गैँडालाई बाहिर ल्याएर परीक्षण गर्ने तयारी गरिएको छ । यसअघि २०७४ सालमा आएको बाढीका कारण बगाएका १३ वटा गैँडा उद्धार गरिएको थियो । यसै महिनामा मात्र भारत पुगेको एक गैँडा नेपाल आएको मौका पारेर उद्धार गरिएको छ । त्यतिबेला राप्ती र नारायणी नदीको बाढीले वन्यजन्तु बगाएर कतिपय मरेका थिए । यस वर्ष प्राकृतिक कारणले गैँडा मरेको यो पहिलो हो ।
गत आर्थिक वर्षमा निकुञ्ज र राष्ट्रिय वनमा प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए । यसमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुईवटा वन क्षेत्रमा गैँडा मरेका हुन् । रासस