बुद्धको जन्मस्थल विवाद र बहसको विषय बन्न सक्दैन : सरकार


प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार

सरकारले गाैतम बुद्ध र उहाँको जन्मस्थल विवाद र बहसको विषय बन्न नसक्ने बताएको छ । बुद्धका सम्बन्धमा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करको हालैको एक अभिव्यक्तिका सम्बन्धमा नेपाल सरकारको धारणाबारे राससले राखेको जिज्ञासाका जवाफमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भन्नुभयो, “नेपालको लुम्बिनीमा गौतमबुद्धको जन्म भएको वास्तविकता ऐतिहासिक एवं पुरातात्विक प्रमाणले पूर्णरुपमा प्रमाणित भएको यथार्थ हो, गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्धधर्मको उद्गमस्थल हो जुन संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सङ्गठन (युनेस्को) विश्वसम्पदास्थल हो ।”

सन् २०१४ मा नेपाल भ्रमणका बेला व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले “विश्वशान्तिका प्रचारक बुद्धको जन्मस्थल देश नेपाल हो” भन्नुभएको तथ्य प्रवक्ता पौड्यालले स्मरण गराउनुभयो । “बुद्धधर्म नेपालबाट विश्वका अन्य भागमा पछि फैलिएको सत्य हो, यो यथार्थ शङ्का र विवादको विषय बन्न सक्दैन न त बहसको विषय नै । यो वास्तविकताबाट अन्तरराष्ट्रिय समुदाय परिचित छ”, परराष्ट्र प्रवक्ता पौड्यालले थप्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com