अमेरिकी उपराष्ट्रपति उम्मेदवारका लागि डेमोक्र्याट्सको पहिलो छनौटमा कमला


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

अमेरिकी उपराष्ट्रपतिका लागि डेमोक्र्याट्सको पहिलो छनौटमा कमला ह्यारिस परेकी छिन् । पछिल्लो सर्वेक्षण अनुशार राष्ट्रपति उम्मेदवार जो बाइडेनको उपराष्ट्रपति उम्मेदवारका लागि अधिकांशले उनलाई रोजेका हुन् ।

फेयर भोटले स्पोन्सर गरेको र सर्भे युएसएले संचालन गरेको उक्त सर्वेक्षणमा १२९६ जनाले भाग लिएका थिए । उक्त सर्वेक्षणमा ह्यारिसको साथमा सिनेटर एलिजावेथ वारेन र ह्वाइट हाउसकी पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार सुजन राइस लगायतको नाम समावेश गरिएको थियो ।

डेमोक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपति छनौटका लागि नाम छनौट गर्दा झण्डै ३२ प्रतिशतले कमला ह्यारिसको नाम छनौट गरेका थिए । झण्डै २७ प्रतिशतले एलिजावेथ वारेन र झण्डै १६ प्रतिशतले सुजन राइसको नाम छानेका थिए ।

यसरी हुन्छ अमेरिकामा राष्ट्रपति चुनाव

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com