अमेरिकामा बनाइरहेको कोरोना भ्याक्सिनका तथ्यांक चोर्न चाइनिज सरकारबाट ह्याकर प्रयोग


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

अमेरिकामा बनाइरहेको कोरोनाबिरुद्धका भ्याक्सिनका तथ्यांक चोर्न चाइनिज सरकारबाट ह्याकर प्रयोग गरिएको खुलासा रोयटर्सले गरेको छ । चाइनिज ह्याकको ट्रयाक गरिरहेका अमेरिकी सुरक्षा अधिकारीका अनुशार अमेरिकामा भ्याक्सिन निर्माण गरिरहेको कम्पनी मोडेर्नाका डाटाहरु चोर्न चाइनिज ह्याकरले प्रयास गरिरहेको र चाइनिज सरकारले सघाएको जनाइएको छ ।

चाइनिज सरकारले भने मोडेर्नाको तथ्यांक ह्याक गर्न प्रयास गर्ने ह्याकरहरुलाई आफूले कुनै सहयोग नगरेको दावी गरेको छ । मोडेर्नाले अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिनको विश्वकै सबैभन्दा ठूलो क्लीनिकल ट्रायल सुरु गरिसकेको छ ।

गतसातामात्र अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले अमेरिकाको जासुसी गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । उनीहरुले अमेरिकामा कोरोनाबिरुद्धको लडाईमा मेडिकल रिसर्च गरिरहेका तीनवटा कम्पनीलाई निशाना बनाएको अभियोग लगाइएको छ ।

चाइनिज ह्याकरले निशाना बनाएको मोडेर्ना कम्पनी मासाचुसेट्समा रहेको छ । कम्पनीलाई एफबीआईएले सम्पर्क गरेर सचेत गराइसकेको छ । मोडेर्नाले आफूहरु साइबर सेक्युरिटीको जोखिममा रहेकोबारे उच्च शतर्कता अपनाएको बताएको छ ।

अमेरिकी सरकारले ह्याकरको निशानामा रहेका अन्य कम्पनीको नाम भने सार्वजनिक गरेको छैन । यद्यपी सबैभन्दा छिटो भ्याक्सिनका डोजहरु सर्वसाधारणका लागि उपलब्ध गराउने अपेक्षा गरिएको मोडेर्ना नै ह्याकहरुको मुख्य निशाना रहेको जनाइएको छ ।

मोडेर्नालाई भ्याक्सिन उत्पादनका लागि अमेरिकी सरकारले झण्डै ५ सय मिलियन सहयोग गरिसकेको छ । मोडेर्नाले गत सोमबारदेखि अमेरिकामा झण्डै ३० हजारलाई भ्याक्सिनको परीक्षण सुरु गरिसकेको छ ।

अमेरिकाले दुईजना चाइनिज ह्याकरहरु लि शियायु र दोङ जियाझीले एकदशकदेखि ह्याकरका रुपमा काम गर्दै आएको र हालै कोभिड १९ सँग सम्बन्धित शोधलाई निशाना बनाएको आरोप लगाएको छ । उनीहरुले चीनको सरकारी खुफिया एजेन्सीका लागि ठेकेदारका रुपमा काम गरिरहेको अमेरिकी अभियोजनकर्ताहरुले आरोप लगाएका छन् ।

चीनले भने आफूहरुले कुनै पनि भ्याक्सिनको शोध ह्याक गर्न सहयोग नगरेको बरु चीनले भ्याक्सिन निर्माणमा नेतृत्वदायी भूमिका निभाइरहेकाले अरु देशले ह्याकर प्रयोग गरेर आफ्नो प्रविधि चोर्नसक्नेबारे चिन्तित रहेको बताएको छ । नेतृत्वदायी भूमिकाका लागि आफूहरुलाई चोरीमा संलग्न हुन आवश्यक नभएको चीनले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com