नोभेम्बरमा हुने राष्ट्रपति चुनाव अनिश्चितकालका लागि पछि सार्न ट्रम्पको सुझाव


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनाव पछाडि सार्न वर्तमान राष्ट्रपति तथा आगामी चुनावमा उम्मेदवार डोनाल्ड ट्रम्पले सुझाव दिएका छन् । मतदाताहरुले उचित र सुरक्षित तरिकाले मतदान गर्ने अवस्था नआउन्जेलसम्मका लागि चुनाव पछाडि सार्न ट्रम्पले सुझाव दिएका हुन् ।

हुलाकबाट मतदान गर्दा जालसाजी हुनसक्ने भन्दै ट्रम्पले चुनाव सार्नुपर्ने तर्क गरेका हुन् । अमेरिकाका राज्यहरु भने कोरोनाको महामारीका कारण हुलाकमार्फत मतदान सहज बनाउन चाहन्छन् । वर्तमान संविधान अनुशार ट्रम्पलाई चुनाव स्थगित गर्ने वा पछाडि सार्ने कुनै अधिकार छैन ।

चुनाव पछाडि सार्न परेमा अमेरिकी संसदबाट स्वीकृति आवश्यक हुन्छ । अमेरिकी संसदका दुबै सदनमा राष्ट्रपति ट्रम्पको कुनै प्रत्यक्ष अधिकार छैन । दुईसदनमध्ये एउटा डेमोक्र्याट्सको र अर्कोमा रिपब्लिकनको बहुमत रहेको छ ।

हुलाकबाट मतदान गर्दा नोभेम्बरको मतदान इतिहासमा नै सबैभन्दा गलत र जालसाजीपूर्ण हुने ट्रम्ले ट्वीट गरेका छन् । यो अमेरिकाका लागि सबैभन्दा ठूला लज्जा हुने समेत उनले बताएका छन् । हुलाकबाट मतदान गर्दा वैदेशिक हस्तक्षेप हुने ट्रम्पको तर्क छ ।

आफूले चुनाव हार्ने निश्चित भएपछि ट्रम्पले यस्तो तर्क गरेको भन्दै विरोध समेत भएको छ । तर त्यस्तो विरोधको जवाफमा ट्रम्पले आफूले राष्ट्रपति चुनाव जित्ने भन्दै ट्वीट गरेका छन् । चुनावको परिणाम कैयन दिन, महिना वा बर्षपछि नभई चुनावकै रातमा थाहा हुनुपर्ने ट्रम्पले बताएका छन् ।

यसरी हुन्छ अमेरिकामा राष्ट्रपति चुनाव

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com