अमेरिकामा फाइजरबाट पनि कोरोनाबिरुद्धको भ्याक्सिनको अन्तिम ट्रायल सुरु, ३० हजारलाई दिइने


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

अमेरिकन बायोटेक कम्पनी मोडेर्नाले सोमबार कोरोनाबिरुद्धको तेश्रो चरणको भ्याक्सिन ३० हजारमा परीक्षण सुरु गरेको बताएलगत्तै जर्मन बायोटेक कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन बनाइरहेको अमेरिकन कम्पनी फाइजरले पनि तेश्रो चरणको परीक्षण ३० हजारमा सुरु गरेको जनाएको छ । सोमबार बेलुका फाइजरले तेश्रो चरणको परीक्षण सुरु गरेको घोषणा गरेको हो ।

परीक्षण १८ बर्षदेखि ८५ बर्षभित्रका ३० हजार सहभागीहरुमा सुरु गरिएको छ । पहिलो व्यक्तिलाई युनिभर्सिटी अफ रोचेस्टरमा भ्याक्सिन दिइएको छ ।  विश्वभरका १२० साइटहरुमा परीक्षण गरिने र अमेरिकाका मात्र ३९ राज्यहरुमा परीक्षण गरिने फाइजरले जनाएको छ । यो चरणको परीक्षण सफल भएमा आगामी अक्टोबरमा भ्याक्सिनको अन्तिम पुनरावलोकन गरिनेछ ।

फाइजरले सन् २०२० भित्रै १ सय मिलियन डोज आपूर्ति गर्ने घोषणा गरेको छ । सन् २०२१ भित्र १३ सय मिलियन डोज उत्पादन गर्ने फाइजरको लक्ष्य रहेको छ । फाइजरले बनाएको भ्याक्सिनमा एमआरएनए मोलिक्युलसको प्रयोग गरिएको छ, जसले कोरोना भाइरसबिरुद्ध प्रतिरोधक क्षमता विकाश गर्छ ।

गतसातामात्रै अमेरिकाले फाइजरलाई १ दशमलव ९५ बिलियन डलरप्रदान गर्ने घोषणा गर्दा १ सय मिलियन डोज भ्याक्सिन बुक गरेको थियो ।

मोडेर्नाले पनि आजैदेखि सुरु गर्यो ३० हजारमा परीक्षण

अमेरिकन बायोटेक कम्पनी मोडेर्ना र राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले आजै कोरोनाबिरुद्धको भ्याक्सिनको विश्वकै अहिलेसम्मको ठूलो क्लीनिकल परीक्षण अमेरिकामा सुरु गरेका थिए । तेश्रो चरणको परीक्षण अमेरिकाका झण्डै १ सय वटा शोधस्थलहरुमा गरिदै छ ।

तेश्रो चरणको परीक्षण अन्तरगत पहिलो डोज पाउने बिरामी जर्जिया राज्यको सवनाहमा रहेको साइटमा रहेका थिए । झण्डै ३० हजार स्वयंसेवकहरुलाई यो भ्याक्सिन दिएपछि यसको प्रभावकारिता अन्तिम चरणमा मूल्यांकन गरिनेछ र सबैका लागि भ्याक्सिन उत्पादन सुरु हुनेछ ।

कोरोनाबिरुद्धको भ्याक्सिन तीन चरणमा परीक्षण गरिन्छ । पहिलो चरणमा थोरै संख्यामा परीक्षण गरेपछि दोश्रो चरणको क्लीनिकल परीक्षण हुन्छ । दोश्रो चरणको क्लीनिकल परीक्षणबाट सकारात्मक परिणाम आएपछि तेश्रो चरणको सबैभन्दा ठूलो तेश्रो चरणको क्लीनिकल परीक्षण हुन्छ । आजदेखि मोडेर्नाले यही परीक्षण सुरु गरेको हो ।

मोडेर्नाको भ्याक्सिनको क्लीनिकल परीक्षण विश्वभर चलिरहेका २५ वटा भ्याक्सिनको क्लीनिकल परीक्षणमध्येको एक हो । अमेरिका, बेलायतदेखि युरोप र चीनसम्म भ्याक्सिनका क्लीनिकल परीक्षणहरु भइरहेपनि सबैभन्दा ठूलो क्लीनिकल परीक्षण आजदेखि मोडेर्नाले सुरु गरेको छ ।

कोरोनाबिरुद्धको भ्याक्सिन बनाउनका लागि अमेरिकी सरकारले दिएकोे थप ४७२ मिलियन डलर मोडेर्नाले आइतबारमात्र प्राप्त गरेको थियो ।

अतिरिक्त सहयोगलाई आफूहरुलाई ठूलोमात्राको क्लीनिकल विकाशका लागि र भ्याक्सिन परीक्षण गरिएकाहरुमा तेश्रो चरणको अध्ययनका लागि मद्दत पुग्ने मोडेर्नाले बताएको छ । गत अप्रिलमा पनि यो कम्पनीले अमेरिकी सरकारबाट ४८३ मिलियन डलर प्राप्त गरेको थियो ।

कम्पनीका सीईओ स्टेफन बान्सेलले पहिलो चरणको तथ्यांक अनुशार आफूहरुले बनाएको एमआरएनए भ्याक्सिन कोरोनाबिरुद्ध लड्न सफल हुने विश्वास व्यक्त गरेका छन् । यो भ्याक्सिनले कोरोनाबिरुद्ध सिन्थेटिक मेसेन्जर आरएनएको प्रयोग गर्छ । यस्तो खालको उपचारले शरिरमा भाइरसबिरुद्ध प्रतिरोधात्मक क्षमताको विकाशगर्न मद्दत गर्छ ।

मोडेर्नाले हरेकबर्ष ५ सय मिलियन डोज उत्पादन गर्ने लक्ष्यका साथ काम सुरु गरिसकेको छ भने सन् २०२१ मा १ बिलियन डोज उत्पादन हुने सम्भावना रहेको छ ।

फाइजर र मोडेर्नाबाहेक नोभाभ्याक्स, बेलायतको आष्ट्राजेनेका लगायतका कम्पनीहरुले पनि भ्याक्सिन निर्माणका लागि अमेरिकी सहयोग प्राप्त गरेका छन् । उनीहरुले उत्पादन गरेको भ्याक्सिनको पनि परीक्षणका उत्साहजनक नतिजाहरु आइरहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com