कोरोनाबिरुद्ध भ्याक्सिनको विश्वकै ठूलो क्लीनिकल परीक्षण अमेरिकामा सुरु, ३० हजारलाई दिइदै


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

अमेरिकन बायोटेक कम्पनी मोडेर्ना र राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले आज कोरोनाबिरुद्धको भ्याक्सिनको विश्वकै अहिलेसम्मको ठूलो क्लीनिकल परीक्षण अमेरिकामा सुरु गरेका छन् । सोमबार सुरु गरिएको उक्त क्लीनिकल परीक्षण तेश्रो चरणको परीक्षण हो । यो परीक्षण अमेरिकाका झण्डै १ सय वटा शोधस्थलहरुमा गरिने भएको छ ।

तेश्रो चरणको परीक्षण अन्तरगत पहिलो डोज पाउने बिरामी जर्जिया राज्यको सवनाहमा रहेको साइटमा रहेका थिए । झण्डै ३० हजार स्वयंसेवकहरुलाई यो भ्याक्सिन दिएपछि यसको प्रभावकारिता अन्तिम चरणमा मूल्यांकन गरिनेछ र सबैका लागि भ्याक्सिन उत्पादन सुरु हुनेछ ।

कोरोनाबिरुद्धको भ्याक्सिन तीन चरणमा परीक्षण गरिन्छ । पहिलो चरणमा थोरै संख्यामा परीक्षण गरेपछि दोश्रो चरणको क्लीनिकल परीक्षण हुन्छ । दोश्रो चरणको क्लीनिकल परीक्षणबाट सकारात्मक परिणाम आएपछि तेश्रो चरणको सबैभन्दा ठूलो तेश्रो चरणको क्लीनिकल परीक्षण हुन्छ । आजदेखि मोडेर्नाले यही परीक्षण सुरु गरेको हो ।

मोडेर्नाको भ्याक्सिनको क्लीनिकल परीक्षण विश्वभर चलिरहेका २५ वटा भ्याक्सिनको क्लीनिकल परीक्षणमध्येको एक हो । अमेरिका, बेलायतदेखि युरोप र चीनसम्म भ्याक्सिनका क्लीनिकल परीक्षणहरु भइरहेपनि सबैभन्दा ठूलो क्लीनिकल परीक्षण आजदेखि मोडेर्नाले सुरु गरेको छ ।

कोरोनाबिरुद्धको भ्याक्सिन बनाउनका लागि अमेरिकी सरकारले दिएकोे थप ४७२ मिलियन डलर मोडेर्नाले आइतबारमात्र प्राप्त गरेको थियो ।

अतिरिक्त सहयोगलाई आफूहरुलाई ठूलोमात्राको क्लीनिकल विकाशका लागि र भ्याक्सिन परीक्षण गरिएकाहरुमा तेश्रो चरणको अध्ययनका लागि मद्दत पुग्ने मोडेर्नाले बताएको छ । गत अप्रिलमा पनि यो कम्पनीले अमेरिकी सरकारबाट ४८३ मिलियन डलर प्राप्त गरेको थियो ।

कम्पनीका सीईओ स्टेफन बान्सेलले पहिलो चरणको तथ्यांक अनुशार आफूहरुले बनाएको एमआरएनए भ्याक्सिन कोरोनाबिरुद्ध लड्न सफल हुने विश्वास व्यक्त गरेका छन् । यो भ्याक्सिनले कोरोनाबिरुद्ध सिन्थेटिक मेसेन्जर आरएनएको प्रयोग गर्छ । यस्तो खालको उपचारले शरिरमा भाइरसबिरुद्ध प्रतिरोधात्मक क्षमताको विकाशगर्न मद्दत गर्छ ।

मोडेर्नाले हरेकबर्ष ५ सय मिलियन डोज उत्पादन गर्ने लक्ष्यका साथ काम सुरु गरिसकेको छ भने सन् २०२१ मा १ बिलियन डोज उत्पादन हुने सम्भावना रहेको छ ।

मोडेर्नाबाहेक फाइजर, नोभाभ्याक्स, बेलायतको आष्ट्राजेनेका लगायतका कम्पनीहरुले पनि भ्याक्सिन निर्माणका लागि अमेरिकी सहयोग प्राप्त गरेका छन् । उनीहरुले उत्पादन गरेको भ्याक्सिनको पनि परीक्षणका उत्साहजनक नतिजाहरु आइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com