नेकपा नेताहरुको ‘वार्ता-विश्राम’ अर्थहीन


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

सत्तारूढ नेकपाको दुईहप्ते ‘वार्ता–वि श्राम’ जहाँको तहीं पुगेको छ। ओली दुवै पद नछाड्ने, दाहाल–नेपाल छोडाएरै छाड्ने अडानमा छन्। विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बिहीबार पनि वार्तामा बसे। साथमा वरिष्ठ नेता माधव नेपालसमेत राखिए। तर, दुवै पक्ष पुरानै अडानमा अड्किए।

स्रोतका अनुसार बिहीबारको बैठकमा एउटा सकारात्मक संकेत भने मिलेको छ– शुक्रबार स्थायी समिति बैठकमा प्रधानमन्त्रीसमेत सामेल हुने। भदौ पहिलो साता केन्द्रीय समितिले बैठक बोलाउने र विवादलाई त्यसमा लग्ने। ‘अब स्थायी समिति बैठकले समसामायिक केही प्रस्ताव मात्र पारित गर्नेछ। प्रधानमन्त्रीको राजीनामा, सरकार र पार्टी कामको समीक्षालगायत सबै विषय अर्को महिना हुने केन्द्रीय समितिमा लगिने भएको छ’, एक स्थायी समिति सदस्यले भने।

स्थायी समिति बैठक बसेर केन्द्रीय समिति बोलाउनेमा प्रधानमन्त्री ओली पनि बिहीबारको छलफलमा सकारात्मक देखिएको दाहाल–नेपाल समूहका नेताहरूको भनाइ छ। ‘प्रधानमन्त्री पनि बैठकमै फेस गर्छु भन्नेमा आइपुग्नु भएको छ,’ उक्त समूहका एक स्थायी समिति सदस्यले अन्नपूर्णसँग भने, ‘अब विषय सबै केन्द्रीय समितिमा जान्छन्। केन्द्रीय समिति सार्वभौम सम्पन्न निकाय भएकाले त्यही छलफल हुन्छ र निर्णय आउँछ।’

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दाहाल र नेपालले एकै स्वरमा प्रधानमन्त्री कूटनीतिक र राजनीतिक रूपमा पनि असफल भइसकेको र अब पनि निरन्तरता दिँदा त्यसले दीर्घकालीन असर पार्टी र सरकारलाई नै पुग्ने भन्दै ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए। उनीहरूले ओलीलाई ‘तपाईंबाट पार्टी र देश दुवै चलेन, अब चल्दैन पनि, लामो समय देश र पार्टीलाई बन्धक नबनाउनुहोस्, अध्यक्ष रहनुहोस्, प्रधानमन्त्रीबाट भने जसरी हुन्छ राजीनामा दिनुहोस्’ भनेर आग्रह गरेका थिए।

तर ओलीले दाहाल र नेपाललाई तपाईंहरूसँग छलफलका लागि मेरो राजीनामाबाहेक अन्य विषय नै छैन ? भन्दै प्रतिप्रश्न गरेका थिए। ओलीले राजीनामा त आफूले दिँदै नदिने भन्दै आफ्नो पुरानै अडानलाई दोहो¥याएका थिए।

‘उहाँ (प्रधानमन्त्री)को अडान पनि आफ्नै छ। राजीनामा दिन्नँ, सकेको गर्नुहोस् भन्ने कुरामै प्रधानमन्त्री अडिइरहनु भएको छ, कुरो त्यही मिलेको छैन,’ छलफल पछि नेताहरूको बिफ्रिङ सुनेका एक सचिवालय सदस्यले अन्नपूर्णसँग भने। शुक्रबारको स्थायी समिति बैठक अगाडि बिहान दुई अध्यक्षका बीचमा पुनः छलफल पनि हुनेछ। नेकपा संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवास नेम्बाङले दुई अध्यक्षका बीचमा बिहान ९ बजे बालुवाटारमा छलफलका लागि समय तय भएको बताए।

‘उहाहरू (दुई अध्यक्ष) बीच बिहान छलफल हुन्छ। त्यसपछि अब कसरी जाने भन्ने विषयमा निष्कर्ष आउन सक्छ,’ नेम्बाङले अन्नपूर्णसँग भने। १० असारबाट जारी स्थायी समिति बैठक १८ असारदेखि शुक्रबारसम्मलाई पटकपटक गरी स्थगन हुँदै आएको थियो। १६ असारको स्थायी समिति बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद ओलीले स्वेच्छाचारी ढंगले चलाएको भन्दै अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले ओलीलाई दुवै पदबाट राजीनामा दिन आग्रह गरेका थिए। त्यही अडान दाहाल र नेपालले बिहीबार ओलीसँगको छलफलमा पुनः दोहोयाएपछि नेकपाभित्रको विवाद जहाँको त्यही पुगेर फेरि अड्किएको छ। तीन नेताहरूका बीचको कुराकानी ठोस सहमतिमा पुग्न नसकेपछि दुई अध्यक्षले मात्र पनि छुट्ट केहीबेर छलफल गरेका थिए। उक्त छलफलमा भने महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए। तर त्यहाँ पनि अडान दुवैका आ–आफ्नै खालका थिए।

पार्टीभित्र एजेन्डामा सहमति जुट्न नसके पनि शुक्रबारको स्थायी समितिको बैठक भने जारी रहने दुई अध्यक्षसँग बिहीबारको छलफलमा सहभागी भएका महासचिव विष्णु पौडेलले बताए। ‘उहाँहरू (ओली, दाहाल र नेपाल) बीच छलफल भयो, सहमति जुट्न सकिरहेको छैन। तैपनि छलफलबाटै सहमति खोजी गर्न नेताहरू तयार देखिनु नै भएको छ। शुक्रबारको स्थायी समिति बैठक आयोजना गर्ने समझदारी भएको छ, बैठक बस्छ,’ पौडेलले भने।

विगत झन्डै दुई सातायता एक्लाएक्लै र कहिले सहयोगी नेतासमेत साथमा लिएर ओली र दाहालले छलफल गर्दै आएका थिए। बुधबार ओली र दाहालका बीचमा वरिष्ठ नेता नेपालसहित छलफल गर्ने समझदारी भएपछि बिहीबार नेपाल पनि सहभागी भएका थिए। तर उक्त छलफल पनि कुनै ठोस निष्कर्षमा नपुगेपछि दाहाल निवासतर्फ र वरिष्ठ नेता नेपाल पार्टी कार्यालय धुम्बाराही पुगेका थिए। धुम्बाराहीमा नेता नेपालले उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलसँग छलफल गरेका थिए। पोखरेल र नेपालबीच पार्टी विवाद समाधान गर्ने विषयमै केन्द्रित रहेर झन्डै एक घण्टा छलफल भएको थियो।

ओलीसँग छलफल अघि दाहाल र नेपालले दाहाल निवास खुमलटारमा सचिवालयका बहुमत नेताहरू वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ९बादल० सँग सामूहिक छलफल गरेर बालुवाटार पुगेका थिए। बिहानको छलफलमा नेताहरूले विवादलाई अब पनि लम्ब्याइराख्न नहुने भन्दै पार्टीको विधानको व्यवस्थाअनुसार सहमति नजुटे पार्टीको विधि र पद्धतिअनुसार बहुमत, अल्पमतबाटै निर्णयमा जानुपर्ने धारणा राखेका थिए।

ओलीले बालुवाटार छलफलमा आफू स्थायी समिति पनि आवश्यक परे फेस गरेर जान तयार रहेको धारणा राखेको एक नेताले वताए। ‘प्रधानमन्त्री आफ्नै स्वभावअनुसार’ बैठकमा प्रस्तुत हुनुभयो। उहाँमा कुनै लचकताको भाव देखिएको छैन। आफ्नै अडानमा देखिनु भएको थियो। स्थायी कमिटी फेस गर्छु भन्नुभयो,’ ओलीसँगको छलफलपछि दाहाल निवास खुमलटारमा भेला भएका नेताहरूलाई दाहालले गरेको बिफ्रिङ उद्धृत गर्दै एक नेताले भने। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com