सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय, भाडा ५० प्रतिशत बढ्यो


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

सरकारले लकडाउन थप खुकुलो बनाउदै भाडाका सवारी साधन सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ । सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक सवारी चलाउन दिने निर्णय भएको जानकारी दिएका हुन् । उनका अनुसार अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको छ ।

लामो दूरीमा चल्ने र काठमाडौं उपत्यका बाहिर अन्तरजिल्ला चल्ने सार्वजनिक सवारीलाई भने चल्न लगाइएको रोक यथावत छ । यात्रुबाहक सार्वजनिक यातायातमा सिट क्षमताको बढीमा पचास प्रतिशतसम्म हुने गरी मात्रै यात्रु चढाउन पाउने ब्यवस्था गरिएको छ ।

क्षमता भन्दा कम यात्रु बोक्नुपर्ने भएकाले ट्याक्सी बाहेक अन्य सवारी साधनले प्रचलित भाडादरमा ५० प्रतिशत भाडा थप गरेर लिन पाउने व्यवस्था पनि मन्त्रीपरिषदले गरेको छ ।

भाडाका सवारी साधनमा एक पंक्तिमा सामाजिक दूरी कायम हुने गरी यात्रु राख्ने र सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने नियम लागू गरिएको छ । त्यस्तै चालक तथा सहचालकले अनिवार्यरुपमा मास्क, भाइजर र पञ्जा लगाउने र दैनिकरुपमा सवारी साधन निसंक्रमित गर्ने गरी सवारी साधन सञ्चालन गर्नुपर्ने निर्णय सरकारले गरेको हो ।

मोटरसाइकल सहित निजी सवारी साधनले पनि चालक बाहेक थप दुई जना बोक्न पाउने व्यवस्था गरिएको छ । एकै परिवारको भए ५ वर्षसम्मको बालबालिका चढ्न पाउने निर्णय गरिएको छ । त्यसैगरी ट्याक्सीमा चालकबाहेक बढीमा २ जनासम्म र परिवारभित्रको भए ५ वर्षसम्मको बालबालिकालाई पनि चढ्न दिने निर्णय भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com