समृद्धिको बाधक लागुऔषध: गृहमन्त्री थापा


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

गृहमन्त्री रामबहादुर थापाले मुलुकको आधारभूत समस्याको रुपमा लागुऔषध रहेको बताउनुभएको छ । सबैभन्दा धेरै युवापुस्ता लागुऔषधको दलदलमा फसेको उदाहरण प्रस्तुत गर्दै उहाँले मुलुकको समृद्धिको बाधक पनि लागुऔषध नै भएको जिकिर गर्नुभयो । लागुऔषध दुरुपयोगका कारण उत्पादनमूलक जनशक्ति नराम्ररी प्रभावित भएकोसमेत उहाँले उल्लेख गर्नुभयो ।

गृहमन्त्रालयमा आज आयोजित लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण २०७६ को प्रतिवेदन सार्वजनिक गर्दै उहाँले तथ्यङ्कले लागुऔषधको दुरुपयोग कोरोना जस्तै विश्वव्यापी रुपमा फलिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो एक प्रकारको कोरोना जस्तै सङ्क्रामक रोगभन्दा पनि फरक पर्दैन, यसले कोरोनाले जस्तै मानव अस्तित्व सुरक्षित राख्न विश्वसामु नै चुनौती खडा गरिरहेको छ ।”

प्रतिवेदनमा मुलुकभर कुल एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेका छन् । विभिन्न ४३ जिल्लाका दुई हजार प्रयोगकर्तालाई भेटेर सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । गत २०६९ मा प्रयोगकर्ताको सङ्ख्या कूल ९१ हजार ५३४ थियो । तथ्याङ्कमा वृद्धि भए पनि वृद्धिदर भने घटेको पाइएको छ ।

उहाँले युवा शक्ति बढी लागुऔषध दुरुपयोगमा फसेकाले त्यसको नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको औँल्याउनुभयो । गृहमन्त्रालयले लागू गरेको ८२ बुँदे गृह प्रशासन सुधार योजनामा समेत लागुऔषध दुरुपयोग र यसबाट हुने अपराध रोक्ने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले प्राप्त तथ्याङ्कमा सङ्ख्या वृद्धि भए पनि वृद्धिदर घट्नु खुशीको कुरा भएको बताउनुभयो । प्राप्त प्रतिवेदनले आगामी दिनमा यसको दुरुपयोग नियन्त्रणका लागि थप रणनीति तय गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गृहसचिव महेश्वर दाहालले बेरोजगारी बढी लागुऔषध प्रयोगकर्ता रहेको प्रतिवेदनले औल्याएको तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “युवा शक्ति सहभागी हुनु भनेको मुलुकको विकासमा समेत अवरोध हुनु हो”, उहाँले भन्नुभयो, “लागुऔषधसँग अन्य रोगको साइनो जोडिएकाले मानव स्वास्थ्यलाई समेत प्रतिकूल प्रभाव पारिरहेको छ, यसतर्फ बेलैमा सोच्नु पर्छ ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com