‘विदेशमा बस्ने नेपाली पहिचान छाडेर होइन, पहिचानसहित त्यहाँको मुलधारमा समाहित हुनुपर्छ’


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

एनआरएनए अमेरिकाको नवौं बार्षिक साधारणसभाका अवशरमा आयोजित एक वेवीनारका वक्ताहरुले नेपाली पहिचान छाडेर होइन, पहिचानसहित विदेशमा बस्ने नेपालीहरु त्यहाँको मुलधारमा समाहित हुनुपर्ने बताएका छन् । एनआरएनए आईसीसीको ग्लोबल नेपाली डायस्पोरा इन्ट्रीगेसन कमिटिको आयोजनामा गरिएको छलफलमा विदेशमा बस्ने नेपालीहरु त्यहाँको मुलधारमा समाहित हुने सन्दर्भमा चर्चा गरिएको थियो ।

कार्यक्रममा अमेरिकी मुलधारको राजनीतिमा इतिहास रच्न सफल मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले मुलधारमा समाहित हुँदाका चुनौती र त्यसलाई सामना गर्ने उपायहरुबारे बोलेका थिए । त्यस्तै अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा एसियन अमेरिकन एण्ड प्यासेफिक आइल्याण्डरका लागि सल्लाहकार आयोगमा सदस्य रहेकी सञ्जिता प्रधानले आफू बसेको र कर तिरेको स्थान नै आफ्नो घर भएकाले त्यहीको मुलधारमा अगाडि बढ्नुपर्ने बताइन् ।

बेलायतको बर्नेटका मेयरको सल्लाहकार समितिमा सदस्य रहेका लक्ष्य गुरुङ, शिकागोको मेयरको सल्लाहकार समितिमा सदस्य रहेका बाला घिमिरे लगायतले नेपालको हसिया र हथौडाको वा चारतारे झण्डा बोकेर होइन, नेपालको राजनीतिक पूर्वाग्रह त्यागेर अमेरिकी मुलधारमा अगाडि बढ्नुपर्ने बताए ।

एनआरएनए आईसीसीको ग्लोबल नेपाली डायस्पोरा इन्ट्रीगेसन कमिटिका चेयर खगेन्द्र जीसीको अध्यक्षतामा र सदस्य सचिव पुरुषोत्तम ढकालको संचालनमा छलफलमा एनआरएन आईसीसी महासचिव हेमराज शर्मा, एनआरएनका संस्थापक श्याम कार्की, कमिटिका को चेयर डाक्टर जगन्नाथ शर्मा, एनआरएन अमेरिकाका उपाध्यक्ष अर्जुन बन्जाडे, एनआरएनए आईसीसीको ग्लोबल नेपाली डायस्पोरा इन्ट्रीगेसन कमिटिका कोअर्डिनेटर राजेन थापा, युवा पुस्ताका नेपाली अमेरिकन नेभिन जीसी, संचारकर्मीहरु किशोर पन्थी र शैलेश श्रेष्ठ लगायतले बोलेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com