एनआरएन अमेरिकाको भर्चुअल साधारणसभा जुलाई ३ देखि, परराष्ट्रमन्त्रीको प्रमुख आतिथ्यता अनलाइनबाटै


प्रकाशित मिति : असार १७, २०७७ बुधबार

एनआरएनए अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन जुलाई ३ देखि ५ सम्म भर्चुअल रुपमा हुने भएको छ । कोरोना महामारीका कारण विश्वभर उत्पन्न जटिल परिस्थितिमा संक्रमणवाट जोगिन सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले अनलाइनबाटै साधारण सभा गर्न लागिएको एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाहले जानकारी दिए ।

साधारण सभाको तयारी अन्तिम चरणमा वुगेको संस्थाका बरिष्ठ उपाध्यक्ष तथा आसन्न साधारण सभाका कन्भेनर डाक्टर अर्जुन बन्जाडेले जानकारी दिएका छन् । सुरुमा असम्भव जस्तो लागेपनि मिहिनेतबाट अहिले जसरी पनि गर्न सकिन्छ भन्ने स्थितिमा पुगेको उनले बताए ।

साधारण सभा र ज्ञान सम्मेलनको उद्घाटन नेपाल सरकारका परराष्ट्र मन्त्रि प्रदीप ज्ञवालीले नेपालबाट नै गर्ने जनाइएको छ । एनआरएनए आईसीसीका अध्यक्ष कुमार पन्त लगायतका बिशेष अतिथिहरुले पनि अनलाइनबाटै सहभागिता जनाउने भएका छन् ।

साधारण सभाबाट बिधान संसोधन गर्न लागिएको छ । त्यसका लागि प्रक्रिया अनुरुप सदस्य माझ लैजाने तयारीमा आफुहरु रहेको उपाध्यक्ष तथा बिधान समितिका संयोजक बिआर लामाले जानकारी दिए । उपाध्यक्ष लामाले प्रक्रिया अनुरुप आफुहरुले साधारण सदस्यदेखि विज्ञहरुसम्मले पठाएका सुझाब र सल्लाहलाई संकलन गरेको बताए ।

महासचिव पशुपति पाण्डेले संस्थाका सबै सदस्यहरुले एकैपटक सहभागी हुनसक्नेगरी तयारी गरेको जानकारी दिए । भौतिक उपस्थितिमा हुने कार्यक्रम भन्दा भर्चुअल उपस्थितिमा हुने कार्यक्रम गर्न धेरै मेहेनत गर्नुपरेको उनको अनुभव छ । सबै सदस्यहरुलाई जुलाईको १ तारिख भित्र नै अन्लाईन रजिस्ट्रेशन गर्न अनुरोध गरिएको छ ।

साधारणसभामा ज्ञान सम्मेलन समेत समावेश गरिएको छ । सम्मेलनमा विभिन्न शिर्षकमा रहेर विषयगत छलफलहरु हुने ज्ञान सम्मेलनका संयोजक डाक्टर तारा सिग्देलले जानकारी दिए । आठ वटा सिम्फोजियम र चार वटा टाउन हल छलफलको लागी तयारी गरेको उनले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com