पत्रकार खड्का हत्याको छानबिन गर्न माग


प्रकाशित मिति : असार १७, २०७७ बुधबार

नेपाल पत्रकार महासङ्घले डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का हत्याको छानबिन गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान र सत्यतथ्य छानबिन गरी पत्रकार खड्काका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका हुन् ।

महासङ्घले पेशागत कर्म निर्वाहमा हिँडेका पत्रकार खड्का एक्कासि बेपत्ता हुनु र १५ महिनापछि कङ्गालसँगै फेला परेका सामग्री लामो समयपछि पनि दुरूस्तै देखिनुले घटना रहस्यमय हुनसक्ने भएकोले छानबिन गर्न माग गरिएको उनले बताए ।

बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा २०७५ भदौ ९ गतेदेखि सम्पर्कविहीन रहेका पत्रकार खड्काको २०७६ मङ्सिरमा झोलासँगै पर्स र कङ्काल भेटिएपछि नेपाल प्रहरीको केन्द्रीयविधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षण गर्दा सो कङ्काल पत्रकार खड्काको नै भएको प्रहरीले पुष्टि गरेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com