विश्वका सय बढी प्रतिष्ठित व्यक्तिहरुको आह्वान– कोभिड-१९ खोप विश्वभर निःशुल्क बाँडौं


प्रकाशित मिति : असार १५, २०७७ सोमबार

१८ जना नोबेल पुरस्कार बिजेताहरुसहित विश्वका १०० भन्दा बढी प्रतिष्ठित व्यक्तित्वहरुले अन्तर्राष्ट्रिय समुदायका लागि निःशुल्क रुपमा कोभिड १९ खोप बनाउन आह्वान गरेका छन् । उनीहरुले संयुक्त रुपमा जारी गरेको पत्रमा संसारभरका मानिसहरुको भलाई लागि निःशुल्क खोप उपलव्ध गराउन आग्रह गरिएको ढाकास्थित युनुस सेन्टरले जानकारी दिएको छ । यो सेन्टर नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले स्थापित गरेको प्रतिष्ठित संस्था हो । सो आह्वान गर्नेहरुमा विश्वका थुप्रै देशका पूर्व राष्ट्रपति, राजनेता, प्रतिष्ठित कलाकार र अन्तर्राष्ट्रिय संघ संगठनहरु रहेका छन् ।

उक्त सूचीमा डेसमन्ड टुटु, मलाला युसफजई, जर्ज क्लुन, थोमस बाक, मिखाइल गोर्बाचेभ, आन्र्डिया बोसेली जस्ता प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन् । आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘हामी सरकारहरु, समाजसेवी, सामाजिक व्यक्तित्व, व्यापारीहरुका अगाडि आएका छौं । विश्वव्यापी रुपमा यो खोप निःशुल्क रुपमा वितरण गर्न अपिल गर्छौं । हामी सबै सामाजिक, राजनीतिक र स्वास्थ्य उद्यमीहरुलाई विश्वभर रहेका कमजोर मानिसहरुलाई जोगाउन र उनीहरुमाथिको सामूहिक उत्तरदायित्वको लागि एकजुट हुन आह्वान गर्दछौं ।’

कोभिड–१९ खोप बनाउनका लागि चीन, बेलायत, अमेरिका लगायतक मुलुकहरु लागिरहेका छन् । यो सालको अन्ततिर खोप बन्ने अपेक्षा गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com