अगस्त २५ अगाडि सिमाबाट गैरकानुनी छिरेकाले पनि एसाइलम वर्क परमिट पाउनेछैनन् ?


प्रकाशित मिति : असार १३, २०७७ शनिबार

अमेरिकी सरकारले अगस्त २५ देखि लागु हुनेगरी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गरेका एसाइलम आवेदकलाई वर्क परमिट नदिने नियम ल्याएको छ । यो नियम शुक्रबार फेडरल रजिस्टरमा प्रकाशित भइसकेको छ ।

कतिपयले अगस्त २५ भन्दा अगाडि नै अमेरिका प्रवेश गरेकाहरुलाई समेत यो नियम लागु हुने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् । तर फेडरल रजिस्टरमा प्रकाशित सुचनामा यसबारे प्रस्ट पार्दै अगस्त २५ अगाडि अमेरिका छिरेहरुलाई यो नियम लागु नहुने बताइएको छ ।

नियममा भनिएको छ – ‘यो अन्तिम नियम लागु भएको दिन वा त्यसपछिमात्र अमेरिकाको पोर्ट अफ इन्ट्रीबाट कानुनी रुपमा अमेरिका प्रवेश गर्ने बाहेक गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने वा प्रयास गर्नेहरुलाईमात्र वर्क परमिटको योग्यतामा गैरकानुनी प्रवेशको प्रतिबन्ध लाग्नेछ ।’

 

त्यस्तै टर्मिनेशन प्रावधान अगस्त २५ वा त्यसपछि वर्क परमिट आवेदन दिने वा नविकरणको आवेदन दिनेहरुका सन्दर्भमा लागु हुनेछ । उनीहरुको एसाइलम आवेदन अगस्त २५ भन्दा अगाडि नै फाइल गरेको भएतापनि उनीहरुले अगस्त २५ वा त्यसपछि वर्क परमिट फाइल गरेमा वर्क परमिटको नयाँ नियम लागु हुनेछ ।

अमेरिकी सरकारले अगस्त २५ देखि लागु हुनेगरी एसाइलम पेन्डिङ रहेको एकबर्ष पछाडिमात्र वर्क परमिट दिने, एकबर्षको समयसिमा नाघेर एसाइलम आवेदन दिनेलाई वर्क परमिट नदिने, सिमाबाट गैरकानुनी रुपमा प्रवेश गर्नेलाई वर्क परमिट नदिने, एसाइलमका वर्क परमिटको म्याद २ बर्षको साटो चाहेजति कम अवधिको लागि समेत दिनसकिने प्रावधान ल्याएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com