‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते


प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड- १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो । कोभिड १९ को कारणले बन्दाबन्दीले गत वैशाख ६ र ७ गते तय गरिएको सो कार्यक्रम मन्त्रालयले गत चैत २१ गते स्थगन गरेको थियो । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए खुवाउँदै आइरहेको छ । प्रत्येक वर्ष भिटामिन ए खुवाउने कार्यक्रममा २७ लाख तीन हजार ५२२ बालबालिका सहभागी हुने गर्दछन् । सोही कार्यक्रममा बालबालिकालाई जुकाको औषधि र बालभिटासमेत दिइने खुवाउने गरिएको जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डेले जानकारी दिनुभयो । जुकाको औषधि एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ९३ हजार १५२ बालबालिकालाई खुवाउने गरिन्छ ।

जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिन्छ । यस्तै १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो । अहिले ४१ जिल्लाका बालबालिकालाई खुवाउने गरिन्छ । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गर्दछन् । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com