४५ वर्षमा ११औँ सन्तान


प्रकाशित मिति : चैत्र १६, २०७३ बुधबार

समाजमा परिवार नियोजनका साधनहरूबारे सामान्य जानकारीसमेत नभएर सुदूरपश्चिमको पहाडमा ४५ वर्षमा ११औँ सन्तान जन्माउने आमाहरू पनि छन् ।

-प्रकाश सिंह

बाजुरा । साप्पाटा– ६ की ४२ वर्षीया आवर्मा बुढाले १३ औँ सन्तान छोरा जन्माइन् । १५ वर्षमा बिहे गरेकी आवर्माले नौ बच्चा जीवितै जन्माइन् भने चारवटा मृत अवस्थामा जन्मिए । नौमध्ये सात छोरी र दुई छोरा छन् । पछिल्लोपटक उनलाई साप्पाटा स्वास्थ्यचौकीमा सुत्केरी गराउन नसकेपछि नजिकैको बाधु स्वास्थ्यचौकीमा र्पुयाइयो । त्यहाँ पनि प्रसूति गराउन सकिएन । बुढाको स्वास्थ्य अवस्था गम्भीर भइसकेको थियो । त्यहाँबाट प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लगियो । स्वास्थ्यचौकीका डा. विकल लामिछानेको टिमले उनको प्रसूति गरायो ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. विकल भन्छन्, ‘बेथा लागेको लामो समय भइसकेको रहेछ । उहाँको अवस्था निकै अप्ठ्यारो थियो, मसहित तीनजना स्वास्थ्यकर्मीको सहयोगमा बच्चा सकुशल जन्माउन सकियो ।’ आवर्माले पछिल्लो बच्चा मात्र स्वास्थ्य केन्द्रमा जन्माएकी हुन् । अरू १२ सन्तान घरमै जन्मिएका थिए । परिवार नियोजनको चेतना नभएकी उनले ४२ वर्षको उमेरसम्म लगातार बच्चा जन्माउँदै आएकी छिन् ।

बाजुराका दुर्गम गाउँका धेरै महिला उमेर ढल्किसकेपछि पनि बच्चा जन्माउँछन् । गोत्री– ८ बस्ने छम्म लुवारले ४५ वर्षको उमेरमा बच्चा जन्माइन् । १४ वर्षको उमेरमा विवाह गरेकी छम्मले ४५ वर्ष पुग्दासम्म ११ बच्चा जन्माइन् । यीमध्ये सातवटा जीवित छन् । परिवार नियोजनको साधनबारे कुनै जानकारी नभएका कारण आफूले बच्चा जन्माइरहेको छम्मले बताइन् ।

जगन्नाथ– ४ बस्ने कुशुकला सार्कीले पनि ४१ वर्षमा १० पटक बच्चा जन्माइन् । दशौँपटकमा उनले जुम्ल्याहा बच्चा जन्माइन् । बच्चा जन्माउँदै उनको स्वास्थ्य अवस्था निकै कमजोर भइसकेको छ । तर, उनले अहिलेसम्म बच्चा नजन्माउने कुनै उपाय नै अपनाएकी छैनन् । ३५ वर्षपछि उनको बच्चा पाउन सक्ने क्षमता कम हुँदै गएको छ । तैपनि उनले बच्चा पाउन छोडेकी छैनन् ।

गोत्री– १ बस्ने ४० वर्षीया जौमती विष्टले पनि भर्खरै बच्चा जन्माइन् । उनको यो आठौँ सन्तान हो । यीमध्ये पाँच जीवित छन् । उनी आफूहरूलाई परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ भनेर थाहा नभएकाले बच्चा जन्माइरहेको गुनासो पोख्छिन् । उनका श्रीमान् लोक विष्टले पनि परिवार नियोजन र यसका साधनहरूबारे आफूलाई केही जानकारी नभएको बताए ।

२० देखि ३५ वर्षको उमेर बच्चा पाउने उमेर हो । जिल्ला स्वास्थ्य कार्यालयकी स्टार्फ नर्स सुनिता केसी भन्छिन्, ‘दुर्गम तथा पछाडि परेको गाउँहरूमा २० वर्ष पुग्दासम्म दुई–तीनवटा बच्चासमेत पाइसकेका हुन्छन् । ४५ वर्षको उमेर पुग्दासम्म पनि बच्चा पाइराख्ने गर्छन् ।’ उमेर बूढो भइसकेपछि बच्चा पाउने समस्याले आमा र बच्चा दुवैको अवस्था जोखिम हुने गरेको उनको भनाइ छ । उमेर ढल्केपछि बच्चा पाउँदा अपाङ्ग, सुस्तमनस्थिति, कुपोषित बच्चा जन्मने, आमा र बच्चाको ज्यान जोखिममा पर्ने, आमालाई रक्तस्राव हुने समस्या आउने केसी बताउँछिन् ।

धेरै बच्चा जन्माउने, कम उमेरमा बच्चा जन्माउने र बुढेसकालमा बच्चा जन्माउने गर्नाले पनि महिलामा पाठेघर खस्ने समस्या रहेको डा. विकल लामिछानेले बताए । एकातिर धेरै बच्चा अर्को्तिर बच्चा र आमाको स्वास्थ्यसमेत कमजोर हुन्छ । सरकारले वर्षेनी परिवार नियोजनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, दुर्गम तथा पछाडि परेका समुदायमा भने परिवार नियोजनको साधन प्रयोग सम्बन्धमा चेतनाको कमी रहेको स्थानीय मन विकले बताए ।

चेतना अभावले धेरै बच्चा जन्माउने र परिवार नियोजनका साधन प्रयोग नगर्ने कारण बुढेसकालसम्म पनि बच्चा जन्माउने गर्छन् । कम उमेरमा बच्चा जन्माउने र उमेर ढल्कँदासम्म बच्चा पाउनाले कतिपय महिलाले अकालमै ज्यान गुमाउने गरेका छन् । अहिले पनि दुर्गम गाउँमा परिवार नियोजनसम्बन्धी चेतना नभएको महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुखमणि शाहले बताइन् । (प्रकाश, बाजुराका पत्रकार हुन् ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com