न्युयोर्क : पर्खदै एउटा अर्को चमत्कार


प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार

– गीता पन्थ

थकित थकित जस्तै छ
हारे हारे जस्तै पनि छ
शायद विश्राम लिदैछ
शायद एकैछिन मौन ब्रतमा छ ।

हल्लाउँदै सारा सन्सारलाई
उचाई टेकेको अलिकति उन्माद पनि बाकी जस्तै जस्तै छ
निरीह त भनिहाल्न मिल्दैन पटक्क
तर अहिले आफैभित्र थोरै सम्बादमा छ ।

लेखा जोखा गर्दैहोला आफैभित्रको अभिमान
आफै विरुद्धको आफ्नै लडाइँ
शायद मौनता मा पर्खिरहेछ होला
फेरि अर्को कहिले नहारिने खेल
फेरि कहिल्यै झुक्न नपर्ने अभिमान
चुपचाप चुपचाप पर्खिरहेछ यो शहर ।

फ़ेरि न अस्ताउने घाम,फेरि बादल ले नछेक्ने निलो आकाश
रंगीचंगी धरती,भिड्भित्रको सेन्ट्रल पार्क
ब्यस्त,अभ्यस्त ब्रोडवेहरु
चमक दमक टाइम्स स्क्वायर
बैसालु रकफेलर सेन्टर,
ब्रुक्लिन ब्रीज,पर्खिरहेछन शायद
उहीँ दैनिकी ,उहीँ चहलपहल
उहीँ ब्यस्तता,उहीँ चन्चलता
मरेको छैन बिश्वास ,थाकेको छैन ।
चुपचाप शायद अहिले समाधिस्थ छ न्यू योर्क
पर्खदै एउटा अर्को चमत्कार ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com