अन्यौलमा नेपाली अमेरिकन : नेपाल भन्छ -स्वास्थ्य प्रमाणपत्र ल्याऊ, अस्पताल भन्छ -जाँच्न मिल्दैन


प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार

नेपालमा जानका लागि स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएपछि अमेरिकामा रहेका नेपाली अमेरिकनहरु मारमा परेका छन् । नेपालमा आफन्त र विजनेशहरु रहेका नेपाली अमेरिकनहरु नेपाल जान नपाएका कारण चिन्तित भएका छन् । कैयनलाई अमेरिकाकै विमानस्थलहरुबाट फर्काइएको छ भने कैयनले टिकट रद्द गरेर बस्नुपरेको छ ।

अमेरिकाका स्वास्थ्य संस्थाहरुले लक्षण नदेखिएका व्यक्तिलाई जाँच्न मान्दैनन् । त्यसैले अमेरिकामा अहिले कोरोना भाइरस परीक्षणको प्रमाणपत्र प्राप्त गर्न सहज छैन । प्रमाणपत्र प्रयोजनका लागि कोरोना भाइरस परीक्षणका लागि स्वास्थ्यसंस्थामा गएका नेपाली अमेरिकनहरुलाई स्वास्थ्य सँस्थाले जाँचका लागि योग्य नभएको भन्दै फर्काउने गरेका छन् ।

‘नेपाल जान हिडेको स्वास्थ्य प्रमाणपत्र नभएको भन्दै विमानस्थलबाटै फर्काइयो ।’ –  न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट फर्काइएकी एकजना नेपाली अमेरिकनले खसोखाससँग भनिन् । उनी कतार एयरवेजमार्फत नेपाल जाने तयारीमा थिइन् । उनको टिकटको रकम रिफण्ड हुने नहुने अहिलेसम्म निश्चित छैन ।

त्यस्तै नेपालमा विवाहका लागि जान लागेका अर्का नेपाली अमेरिकनलाई वासिंटन डिसीमा रहेको नेपाली दूतावासले भिसा नदिई फर्काइदिएको छ । कोरोना परिक्षणको प्रमाणपत्र नल्याएको भन्दै उनलाई दूतावासले भिसा नदिई फर्काएको हो । उनका बुबाआमा नेपालमा गइसकेका थिए भने केहीदिनमा नै विवाहको मिति तय गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालले शनिबार रातीदेखि अनअराइभल भिसा स्थगित गरेको छ, जसको सबैभन्दा ठूलो मारमा नेपाली अमेरिकन र नेपाली बेलायतीहरु परेका छन् । विदेशीहरु अहिले नेपालको भ्रमणमा त्यसै पनि जाने योजना नबनाउने भएकाले यसबाट नेपालमा आफन्त, परिवार वा विजनेश भएका एनआरएनहरु नै परेका छन् । विना स्वास्थ्यप्रमाणपत्र भिसा लिन गएकाहरुलाई दूतावासले भिसा नदिई फर्काउने गरेको छ ।

प्रमाणपत्र बनाउने प्रयोजनमा कोरोना परीक्षणका लागि स्वास्थ्यसंस्थामा गएका एकजना नेपाली अमेरिकनलाई अमेरिकाको न्युयोर्कमा रहेको स्वास्थ्य संस्था सीटी एमडीले जाँचका योग्य नभएको भन्दै फिर्ता पठाएको पत्र । लक्षण नदेखिएका वा कोरोना संक्रमितसँग संसर्गमा रहेको पुष्टी नभएका व्यक्तिलाई अमेरिकामा जाँच गरिएको छैन ।

कोरोना परीक्षणका स्वास्थ्यप्रमाणपत्र बनाइदिन आग्रह गर्दा प्राइमरी केयर डाक्टरले कोरोना भाइरसको रिपोर्ट ल्याएमा मात्र बनाइदिनसक्ने नत्र बनाउन नसक्ने बताएको नेपाल जाने योजनामा रहेका एकजना नेपाली अमेरिकनले खसोखाससँग भने । उनले भने – ‘प्राइमरी केयर डाक्टरले रिपोर्ट माग्छन् । स्वास्थ्यसंस्थामा जाँदा कोरोना भाइरस परीक्षणका लागि योग्य नभएको बताउँछन् । अब हामीले कहाँबाट प्रमाणपत्र ल्याउने ?’

स्वास्थ्यप्रमाणपत्र अनिवार्य गरिएपछि तत्काल नेपाल जाने टिकट भएका धेरै नेपाली अमेरिकनहरु अन्यौलमा परेको डिजिटल वानकी कञ्चन केसीले बताइन् । उनीहरु टिकट रद्द गर्ने कि के गर्ने अन्यौलमा परिरहेको उनले जानकारी दिइन् ।

उनले भनिन् – ‘कैयन नेपाली अमेरिकनहरुको अबको केही दिनमा नै नेपाल जाने टिकट छ । अमेरिकामा लक्षण नदेखिएका व्यक्तिको परीक्षण नगर्ने भएकाले स्वास्थ्य प्रमाणपत्र ल्याउन सहज छैन । कतिपय बिरामी बुबाआमा भेट्नेदेखि अत्यन्तै जरुरी काममा जान खोजेका छन् । तर नेपाल सरकारले नेपाली अमेरिकनलाई समेत स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरेपछि उनीहरु अन्यौलमा छन् ।’

कभर तस्वीर :न्युयोर्कको ट्राभल एजेन्सी डिजिटल वानमा कार्यरत कञ्चन केसी ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com