कोरोना त्रास : अमेरिकाका नेपाली व्यवसायी भन्छन् – ‘व्यवसाय बन्द गरौं कि खोलौं अन्यौलमा छौं’


प्रकाशित मिति : फाल्गुन २९, २०७६ बिहीबार

कोरोनाको संक्रमण र त्रास बढ्दै जाँदा त्यसले हरेक क्षेत्रमा नकारात्मक असर पारेको छ । त्यसबाट अमेरिकामा रहेका नेपाली व्यवसायीहरु पनि प्रभावित भएका छन् । उनीहरुले आफ्नो व्यवसाय खोल्ने वा बन्द गर्ने भन्ने विषयमा अन्यौलमा रहेको बताएका छन् ।

अमेरिकामा १६८० जनामा कोरोना संक्रमण पुष्टी भइरहँदा खासगरी त्यसको सबैभन्दा ठूलो प्रभाव न्युयोर्क, वासिंटन राज्य र क्यालिफोर्नियामा परेको छ । न्युयोर्कमा ३२८ जना प्रभावित भइसकेपछि नेपालीहरुका व्यवसायहरु पनि प्रभावित भएका छन् । त्यसको सबैभन्दा चर्को मार रेष्टुरेण्ट व्यवसायमा परेको छ ।

‘शनिबार न्युयोर्क राज्यमा संकटकालको घोषणा भयो, आइतबारदेखि ब्यापारमा निकै गिरावट आएको छ । कोरोना संक्रमणको सबैभन्दा चर्को मार रेष्टुरेण्ट व्यवसायमा परेको छ ।’ –  न्युयोर्कको ज्याक्सनहाइटमा मुस्ताङ थकाली किचनका संचालक नविन शेरचनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘डेलिभरी सुविधा हुने रेष्टुरेण्टहरुले त घरमा डेलिभरी गर्छन् होला तर हाम्रो डेलिभरी सेवा पनि छैन । आइतबारदेखि ग्राहकहरु रेष्टुरेण्टमा आउन डराउन थालेका छन् ।’ – शेरचनले भने ।

न्युयोर्कको ज्याक्सनहाइट र आसपासमा १ दर्जन बढी नेपाली रेष्टुरेण्टहरु रहेका छन् । अधिकांशले ब्यापारमा गिरावट आएको बताएका छन् । कतिपयले रेष्टुरेण्ट खोल्दा कर्मचारीलाई तलब दिनुपर्ने भएकाले खर्च समेत धान्न समस्या हुन थालेको बताएका छन् ।

न्युयोर्कमा मात्र होइन, मेरिल्याण्डको सिल्भर स्प्रींगमा घर ए कबाब संचालन गर्दै आएका व्यवसायी लोक तिवारीले ब्यापारमा गिरावट आएको बताएका छन् । गत शुक्रबार अर्थात् मार्च ६ मा मेरिल्याण्डको माउन्टगोमरी काउन्टीमा तीनजनामा कोरोना संक्रमण पुष्टी भएपछि व्यापारमा नकारात्मक प्रभाव चर्को भएको उनको भनाई छ ।

‘वासिंटन राज्यमा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएदेखि नै ब्यापारमा गिरावट आउन थालेको हो । यही काउन्टीमै भेटिएपछि त ब्यापारमा चर्को असर सुरु भयो ।’ –  लोक तिवारीले भने ।

‘कोरोना संक्रमण हुन नदिन हामीले सावधानीहरु पनि अपनाएका छौं । रेष्टुरेण्टमा आउने हरेक ग्राहकलाई आउनासाथ सेनिटाइजर लगाउन दिने र ग्राहक फर्केपछि उक्त टेबुललाई डिस्इन्फेक्ट गर्ने गरेका छौं । बफेबाट संक्रमण बढ्नसक्ने भएकाले अहिललाई बफे पनि बन्द गरेका छौं । अनलाइन अर्डर, होम डेलिभरी र कर्भ साइड पीकअपलाई प्राथमिकता र प्रोत्साहन गरेका छौं ।’ –  तिवारीले भने ।

रेष्टुरेण्ट व्यवशायमात्र नभएर अन्य व्यवसायमा समेत कोरोना संक्रमणको त्रासले नकारात्मक असर परेको छ । न्युयोर्कको ज्याक्सनहाइटमा नै अध्यागमन सहायता सेवा प्रदायक लुम्बिनी वर्डवाइड इन्कका स्वतन्त्र पारालिगल मनमोहन सिंह घिमिरेले कोरोनाका त्रासका कारण कैयनले अध्यागमन फर्महरु भर्ने अप्वाइन्टमेन्ट रद्द गरेको बताए ।

‘बाहिर राज्यहरुबाट न्युयोर्क आउनेहरुले र न्युयोर्क राज्यभित्रै बस्नेहरुले पनि सार्वजनिक यातायात प्रयोग गर्न डराएका कारण अप्वाइन्टमेन्टहरु रद्द गरेका छन् । सेवाग्राहीहरु कार्यालयमा आउन नसकेपछि त्यसको नकारात्मक असर परेको छ ।’ –  घिमिरेले बताए ।

इमर्जेन्सी बाहेक अन्य सेवा लिनेहरुले अप्वाइन्टमेन्ट रद्द गरेको र आफूले फोन तथा अनलाइनमार्फत समस्याको समाधानको प्रयास गरिरहेको बताएका छन् । उनले भने – ‘अहिले मान्छेहरुले भेटेर एकअर्कासँग कुरा गर्न पनि डराइरहेका छन् । व्यापारको त कुरै नगरौं ।’

हवाईयात्राहरु पनि रद्द गरिएकाले ट्राभल एजेन्सीहरु समेत प्रभावित भएका छन् । हवाई यात्रा गर्न डराएका कारण नेपालीहरुले टिकटहरु रद्द गर्ने र यात्रा पछाडि सार्ने क्रम पनि उल्लेख्य रहेको छ । कैयन देशहरुबाट आउन यात्रा प्रतिबन्ध लागेका कारण पनि ट्राभल एजेन्सीहरु मारमा परेका छन् ।

ज्याक्सन हाइटमा ट्राभल एजेन्सीमा कार्यरत कञ्चन केसीले भनिन् – ‘अहिले ब्यापार ह्वात्तै घटेको छ । टिकट रद्द गर्ने वा स्थगित गर्नेहरुको ओइरो लागेको छ । नयाँ टिकटहरु बिक्रि हुने क्रम घटेकाले घाटाको सामना गर्नुपरेको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com