नेपाली समुदायको भवन बनाउन विधानसभा सदस्य भण्डारीबाट ३ लाख डलर प्रस्ताव मेरिल्याण्ड संसदमा पेश


प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार

नेपाली समुदायको भवनको लागि आफूले ३ लाख डलरको लागि पहल गरिरहेको मेरिल्याण्ड राज्यको विधानसभा सदस्य एचबी भण्डारीले जानकारी दिएका छन् । अहिले आफूले तीन लाख डलरको बजेट मागसहित एक प्रस्ताव संसदमा पेश गरेको र जसमध्ये एक लाख पचास हजार डलर बाल्टिमोर काउन्टी समक्ष अनुरोध गरेको तथा बाँकी एक लाख पचास हजार डलर राज्य सरकार समक्ष माग गरेको भण्डारीले जनाएका छन् ।

उनले भनेका छन् – ‘समुदाय हामी आफैंले बलियो बनाउने हो । हाम्रा साझा समस्यालाई तपाईं हामी सबैको सामुहिक प्रयास र सहभागिताले सफल बनाउन सकिन्छ । राज्यको नीति,निर्माण बनाउने तहमा पहिलो नेपाली(अमेरिकी रुपमा सेवा गर्दै गर्दा समुदायका प्रत्येक सदस्य र शुभचिन्तकप्रति आभारी छु ।’

आफ्नै पहल र श्रोतमा धेरै राज्यमा संरचना खडा गरिरहेको सन्दर्भमा नेपाली समुदायका लागि अब एक कदम अघि बढेर यसलाई बृहत बनाउनु आवश्यक रहेको भण्डारीको भनाई छ । उनले भनेका छन् – ‘बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका स्थापनादेखि आजका दिनसम्म आ आफ्नो तर्फबाट योगदान गर्नुहुने सबैजनाले साझा स्वामित्व ग्रहण गर्ने परिकल्पनासहित सरकारी श्रोत जुटाउने मेरो प्रयास छ ।’

‘समुदायले राज्य र स्थानीय सरकारबाट प्राप्त गर्ने सुविधा अधिकतमरुपमा समुदाय समक्ष पुर्याउने मेरो प्रतिज्ञा छ । तपाईं हाम्रो साझा चासोको विषयलाई उठान गरेर त्यसको समाधानका लागि कानुन बनाउने ठाउँमा म एक निर्वाचित जनप्रतिनिधिको रुपमा काम गरिरहेको छु ।’ भण्डारीले बताएका छन् ।

भण्डारीले सामाजिक सञ्जालमा भनेका छन् – ‘हाम्रो समुदायको पहुँच निकै कम छ । तसर्थ यसका लागि हामीले धेरै मेहनेत गर्नुपर्छ । राज्यमा येस्ता हजारौ प्रस्ताव छन् । जसमध्ये हाम्रो परियोजना प्रस्तावलाई प्राथमिकतामा राखेर अगाडी बढाएको छु तर त्यहाँ चुनौतीहरू छन् किनभने तीस प्रतिशत परियोजनाहरुलाई मात्र रकम प्रदान गरिने छ।’

यो परियोजनाको सुनुवाई भण्डारीका अरु परियोजनासगै आगामी सनिबार दिउसो ३ बजे राज्य बजेट समिति समक्ष हुनेछ। यो परियोजनाकोलागि संसद भवनमा आउन भण्डारीले अनुरोध समेत गरेका छन् ।

उनले भनेका छन् – ‘हामीले हाम्रो समुदायलाई गतिशील बनाएर देखाउनुपर्नेछ । हामीभित्र सामाजिक सेवाभावको भावना छ । स्वयम्सेवकको रुपमा हामीले विभिन्न संघ,संस्थामा रहेर विना स्वार्थ समुदायको हितका लागि काम गरिरहेका छौं । यस अभियानमा अब हामी सबैको सामुहिक सहभागिता र स्वामित्वको आवश्यकता छ । म तपाईंहरु समक्ष जानकारीसहित अपील गर्न चाहन्छु,अहिले नेपाली समुदायको आफ्नो भवनको लागि मैले सरकारी कोषको रकमका लागि आवश्यक पहल गरिरहेको छु ।’

‘एक्लो यात्रा सजिलो त छैन, तर हजुहरुको माया र समर्थनले यो यात्रालाईअर्थपूर्ण र गर्वलाएक बनाउनमा थाक्ने छैन। अब हामि सपना देख्न डराउनुहुदैन ‘ –  उनले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com