कोरोना संक्रमणबाट ६ को मृत्यु र १०३ बिरामीपछि अमेरिकामा नेपालीका कार्यक्रमहरु स्थगित


प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा ६ जनाको मृत्यु र १०३ मा संक्रमणपछि अमेरिकामा नेपालीका कैयन कार्यक्रमहरु स्थगित गरिएको छ । कोरोना संक्रमणको त्रासका कारण नेपालीहरुले कैयन सार्वजनिक कार्यक्रमहरु स्थगित गरेका हुन् ।

यसैबीच एनआरएनए न्युजर्सी च्याप्टरले मार्च ९ मा आयोजना गरेको कार्यक्रम स्थगित गरेको छ । न्युजर्सी च्याप्टरले जनगणना, नेपाल भ्रमणबर्ष, महिला दिवस, अमेरिकी अध्यागमन र टीपीएस लगायतका विषयमा कार्यक्रमको आयोजना गरेको थियो ।

एनआरएनए न्युजर्सी च्याप्टरका सचिव कृष्णराज सुवेदीले वक्तब्य जारी गरी कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् । साथै कोरोना भाइरसबारे सचेत रहन पनि वक्तब्यमार्फत अनुरोध गरिएको छ ।

अहिलेसम्म विश्वभर ९२ हजार ३२१ मा कोरोना संक्रमण भइसकेको छ । ३ हजार १ सय ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने ४८ हजार ४ सय ५८ जनाको सफल उपचार गरिएको छ ।

कोरोना संक्रमणबाट दक्षिण कोरियामा ३४, इरानमा ७७ र इटलीमा ५२ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा थप ८५१ मा संक्रमण भएपछि संक्रमितको संख्या ५ हजार १ सय ८६ पुगेको छ ।

इरानमा पनि थप ८३५ मा संक्रमण भएको छ । अब त्यहाँ संक्रमितको संख्या २३३६ पुगेको छ । चीनमा भने कोरोना संक्रमित नयाँ बिरामीको संख्या त्यती धेरै छैन । चीनमा आज १२६ जना बिरामी थपिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com