अमेरिकामा दुई ‘प्रवासी नेपाली एकता मञ्च’, एउटामा तोक्यो नेकपाले नेतृत्व, अर्को ‘स्वतन्त्र’


प्रकाशित मिति : फाल्गुन ३, २०७६ शनिबार

अमेरिकामा दुईवटा प्रवासी नेपाली एकता मञ्च बनेपछि यहाँ रहेका नेकपा समर्थकहरुमा विभाजन देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न देशहरुमा संगठनात्मक एकता गरी प्रवासी नेपाली एकता मञ्च गठन गर्ने निर्णय गदै नेपालबाट नै अमेरिकाका लागि अध्यक्ष तोकेपछि विवाद श्रृजना भएको हो ।

गत माघ २३ मा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवास समन्वय कमिटिका अध्यक्ष युवराज चौलागाईको अध्यक्षता र पार्टीका महासचिव विष्णु पौडेलको उपस्थीतिमा बसेको बैठकले प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अध्यक्षमा मेरिल्याण्ड प्रभु थापालाई तोकेको थियो । त्यस्तै सचिवमा प्रकाश अधिकारी तोकेर सञ्जय थापा, टेक गुरुङ, राधाकृष्ण देउजा, सौमेन्द्र रञ्जित लगायत ३३ जनालाई सदस्य तोकेको थियो ।

नेपालबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवास समन्वय कमिटीले अमेरिका लगायत विभिन्न देशका लागि अध्यक्ष, सचिव र सदस्यहरु तोकेको थियो । त्यसै अनुरुप अमेरिकाका लागि प्रभु थापालाई अध्यक्ष तोकिएको थियो ।

तर त्यस लगत्तै अमेरिकामा गतबर्ष दर्ता गरिएको प्रवासी नेपाली एकता मञ्च स्वतन्त्र संस्था रहेको र त्यसका लागि नेपालमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पदाधिकारी तोक्न नसक्ने भन्दै टेक गुरुङको संयोजकत्वमा साधारणसभा आयोजक समिति बनाइयो । गुरुङको अध्यक्षतामा निर्माण गरिएको समितिमा शंकर पन्त महासचिव, कमल ओझा प्रवक्ता, युवराज खनाल कोषाध्यक्ष रहेका छन् ।

गतबर्षको मार्च २५ मा अमेरिकाको कानुन अनुशार गैर नाफामुलक संस्थाका रुपमा दर्ता गरिएको प्रवासी नेपाली एकता मञ्च अमेरिकाको बार्षिक अधिवेशन एकबर्षभित्रै गर्नुपर्ने कानुनी प्रावधान भएकाले संस्थाका बोर्ड अफ डाइरेक्टरहरुको पहिलो बैठक बसेर आयोजक गुरुङको अध्यक्षतामा आयोजक कमिटि बनाइएको थियो ।

प्रवासी नेपाली एकता मञ्च अमेरिकाका सबै राज्यहरुमा नेपाली कला संस्कृतिको सम्वर्धन, संरक्षण, दुखसुखमा हातेमालो र नेपालको विकाश, स्वास्थ्य , शिक्षा, नेपालीहरुको आपत विपतमा सक्दो सहयोग गर्ने उद्देश्यले अमेरिकी कानुन अनुशार दर्ता भएको गैर नाफामुलक संस्था भएकाले यसमा नेपालका कुनै राजनीतिक दलको हस्तक्षेप हुन नसक्ने र हुन नहुने तर्क गरिएको छ ।

यसैबीच आजै प्रवासी नेपाली मञ्च अमेरिका र जनप्रगतिशिल मञ्च अमेरिकाका अगुवाहरुको छलफलबाट दुबै संस्था एकीकरण गरि प्रवासी नेपाली एकता मञ्च गठन गर्ने निर्णय गरिएको भन्दै प्रभु थापाको अध्यक्षतामा ५५ सदस्यीय कमिटि गठन गरिएकोछ । सुरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तोकेका सञ्जय थापा, टेक गुरुङ, राधाकृष्ण देउजा, सौमेन्द्र रञ्जित लगायत केही नामहरु यो समितिबाट हटाइएको छ भने आगामी डिसेम्बरभित्र अधिवेशन गर्ने जनाइएको छ । समितिबाट सञ्जय थापाको नाम हटाइएपनि उनी प्रभु थापाको नेतृत्वमा रहेको कमिटीको बैठकमा पनि सहभागी भएका छन् ।

उक्त समुहका केही व्यक्तिका नक्कली नामहरु समेत राखिएको श्रोतले बताएको छ । कमिटिमा बस्न चाहने तर सार्वजनिक रुपमा आफ्नो नाम ल्याउन हच्किनेहरुको नाम परिवर्तन गरेर राखिएको जनाइएको छ ।

यसरी एउटै नाम भएका दुईवटा कमिटिहरु आआफ्नै दावीका साथ निर्माण गरिएपछि अन्यौल श्रृजना भएको छ । अमेरिकामा कुनै पनि राजनीतिक दलको भातृ संगठन हुन नहुने बताउनेहरुको एउटा समुह टेक गुरुङको पक्षमा देखिएको छ भने नेकपा समर्थक अर्को समुह नेपालबाटै अध्यक्ष तोकिएको प्रभु थापाको पक्षमा देखिएको छ ।

यसैबीच यसअगाडि प्रभु थापा अध्यक्ष रहँदा प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव रहेका राधाकृष्ण देउजाले नेपालको कुनै पार्टीहरुको भातृ संगठनहरु अर्को कुनै देशमा बनाउन सक्ने परिकल्पना नेपालको संविधानले नगरेको , संसारको कुनै पनि देशले अन्य देशका राजनीतिक दलको भातृ संगठनहरुलाई आफ्नो देशमा क्रियाशील रहन कानुनी रुपमा वर्जित गरेको , नेपालका अधिकांश राजनीतिक दलको विधानमा पनि त्यस्तो कल्पना समेत नभएको अवस्थामा विभिन्न संचार माध्यमहरुमा अमेरिकामा धेरै अगाडी दर्ता भएर संगठित रुपमा रहेको प्रवासी नेपाली एकता मंच अमेरिका भर्खरै गठन भएको भन्ने ढंगले समाचार आएको र त्यसरी गठित भनिएको कमिटिमा आफ्नो समेत नाम रहेको भनिएकोमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

राधाकृष्ण देउजा

देउजाले भनेका छन् – ‘अमेरिकामा क्रियाशील हुने सामाजिक संस्था नेपालको कुनै दलले बनाउने भन्ने विषय नेपालको कुनै राजनीतक दलले सोच्ने समेतको विषय नभएको सत्यको स्मरण गर्दै , प्रवासी नेपाली एकता मंच गठन गर्न जिम्मेवार भनेर प्रचारमा आएको नेकपाको प्रवक्ता स्वयमले प्रवासमा आफ्नो पार्टी कमिटि नरहने भनेर सार्वजनिक गर्नु भएको वक्तव्यको स्मरण गर्दै , वाहिर आएको जस्तो कुनै कमिटि बनेको बनाइएको होला भन्ने कुरामा विश्वास नरहेको प्रष्ट पार्नुको अलावा त्यस्तो कहीं कतै कसैले बनाएको रहेछ भने पनि त्यस अव्यवहारिक , असंवैधानिक र पार्टीहरुको विधान देखि सामाजिक सँस्थाहरुको विधान विपरितको कमिटिमा आफु नरहेको स्पष्ट पार्न चाहन्छु ।

अमेरिकामा दर्ता भएर क्रियाशील रहेको प्रवासी नेपाली मंच अमेरिका र अमेरिकामा रहेको रहेको अर्को सँस्था जनप्रगतिशील मंचको बीचमा एकता गरेर सामाजिक काम गर्ने लक्ष्यले आफू सहित चार सदस्यीय एकता कार्यदल बनेर एकताको कोशिस गरिएको र त्यसले दुवै तर्फको कमिटी मिलाएर एउटा सिंगो कमिटी बनाएर अगाडी बढ्ने भन्ने सहमति भएकोमा त्यसमा रहेका केही व्यक्ति राजनीतिक मोडेलमा जान खोज्दा एकताले मूर्तरुप लिन नसकेको देउजाले प्रष्टाएका छन् ।

एक वर्ष अगाडि दर्ता भएर अमेरिकामा संगठित रहँदै आएको टेक गुरुङले नेतृत्व गर्नु भएको प्रवासी नेपाली एकता मंच अमेरिकाको गतिविधि अगाडि बढेको र आफू त्यसको एक जिम्मेवार सदस्यको रुपमा क्रियाशील रहेको देउजाको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com