Follow @khasokhasmag

३३ महिनापनि टिक्न पाएन कृष्णाको खुशी


प्रकाशित मिति : चैत्र ६, २०७३ आईतबार

-किशोर पन्थी

त्यो दिन उनी अत्यन्तै खुशी थिइन् । शायद उनको जीवनको त्यो सबैभन्दा खुशीको मध्येको एक क्षण थियो । त्यसैले उनले त्यो खुशीको क्षण शेयर गर्दै भनेकी थिइन् — म अब क्यानडा जाने भएँ नि । अब उतै बिहे गरेर सेटल हुने ।

सन् २०१३ को फरबरीतिर न्युयोर्कको ज्याक्सनहाइटमा उनले यो खबर सुनाएकी थिइन् । उनी खुशी हुँदा मलाई पनि निकै खुशी लागेको थियो । हामी मिल्ने साथी थियौं । त्यसैले साथीको खुशीमा मैले मेरो खुशी पाएको थिएँ । उनी ज्याक्सनहाइटमा संचालन गरेको रोजगार दिने एजेन्सी बन्द गरेर क्यानडा गइन् । र , बिहेर गरेर बसिन् ।

कृष्णा गौतम । उनलाई अगाडि दिदी भनेर सम्बोधन गर्नेहरुले पछाडि नराम्रो सम्बोधन गर्ने गरेको म आफै धेरैपटक सुनेको छु । उनको कद होंचो थियो । तर सपना निकै अग्लो थियो । सपनालाई चुम्ने उडान पनि अग्लै थियो ।

मैले उनलाई राम्रोसँग चिनेको अमेरिका आएको पहिलो बर्षमा हो । विश्वसन्देश साप्ताहिकको बार्षिकोत्सवमा भेट भएपछि हामी दुईचारपटक कफीको लागि भेट्यौं । अनि हामी अत्यन्तै मिल्ने साथी भयौं । कफी गफ, पार्क घुमफिर, मुभीदेखि लन्च डिनर । एकअर्काका मनका कुरा शेयर गर्ने साथी ।

उनलाई मसँग हिडडुल गर्दा निकै भरोसा लाग्थ्यो रे । उनी बेलाबेलामा भन्ने गर्थिन् केटा मान्छेको भरोसा हुँदैन । अलिकति मौका पाउनासाथ मौकाको फाइदा उठाउन खोजिहाल्छन् । तर तपाईको मलाई असाध्यै भरोसा लाग्छ ।

उनले आफूसँग कस्ले कसरी मौकाको फाइदा उठाउन खोज्यो भन्ने कुरा मसँग शेयर गर्थिन्, जसमा न्युयोर्कका केही चर्चित नेपालीहरु समेत छन् । जसको नाम अहिले उल्लेख नगरौं । कृष्णा र म घुम्न जाँदा, भेटघाट गर्दा धेरैले धेरै कुरा गरे । कतिले कृष्णालाई बधाई दिए, कतिले मलाई । तर कुरा आआफ्नो बुझाइको न हो । उनीहरुले जे बुझे त्यही गरे । केटा र केटी राम्रो साथीमात्र पनि बन्न सक्छन् भन्ने कुरा शायद उनीहरुले न बुझेका थिए न भोगेका थिए । त्यसैले हाम्रो सम्बन्ध जुनरुपमा थियो, त्यो रुपमा बुझ्न उनीहरुलाई मुस्किल परिरहेको थियो ।

कृष्णाको जीवन निकै संघर्षपूर्ण थियो । नेपालमा भोग्नुपरेको पीडादेखि अमेरिकामा गर्नुपरेको संघर्ष सुनाउँदा उनी निकैपटक भक्कानिएकी थिइन् । तर उनी अत्यन्तै हिम्मतिली र आँटिलो स्वभावकी थिइन् । जसजसले जे जे भनेपनि आफ्नो काममा लागिरहने उनको स्वभाव थियो । शायद उनको हिम्मत र आँटका कारण नै मसँग स्वभाव मिलेको थियो । र हामी साथी बनेका थियौं ।

उनी आफै संघर्षरत थिइन् । तर पनि मलाई हरेक क्षणमा सहयोग गर्न खोज्थिन् । र गर्थिन् पनि । मेरो सांच्चिका कम शुभचिन्तकहरुमध्येकी एक थिइन् उनी । म पनि उनको शुभचिन्तक नै थिएँ । बजारमा मेरोबारेमा हुने नकारात्मक कुराहरुपनि उनीमार्फत मैले धेरै जान्ने मौका पाएँ । तर बजारमा मेरा पछाडि हुने कुराहरुलाई वेवास्ता गर्ने मेरो बानी छ । वेवास्ता गर्ने मेरो बानीबाट आजित भएर उनी भन्थिन् कहिलेकाँही वास्ता पनि गर्नुपर्छ ।

उनी बिहे भएर क्यानडा गइसकेपछि मैले उनलाई न्युयोर्कमा धेरै मिस गरें । हाम्रो च्याटमा भने कुरा भइरहन्थ्यो । उनी क्यानडा आउन निम्तो दिइरहन्थिन् । आफ्नो श्रीमान् र परिवारसँग पनि उनले म आउने कुराको जानकारी दिएकी थिइन् । मैले पनि क्यानडामा आएर उनका श्रीमान् र परिवारलाई भेट्ने वचन दिएको थिएँ ।

आफ्नै साइजका श्रीमान् भेटेकोमा उनी निकै खुशी थिइन् । दुबैले एकअर्कालाई राम्रोसँग बुझेको कुरा गर्थिन् उनी । उनीहरुको जोडी साँच्चिकै उदाहरणीय थियो । एउटा संघर्षको लामो अध्याय समाप्त भएर वैवाहिक जीवन सुरुवात भएकोमा कृष्णा साँच्चिकै खुशी थिइन् । तर उनको यो खुशी ३३ महिनापनि टिक्न पाएन । उनले आफ्ना श्रीमानलाई गुमाउनुपर्यो ।

क्रमश::

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com