फरबरीका लागि जारी अमेरिकी भिसा बुलेटिन : ग्रिनकार्ड फाइल गर्ने नेपालीलाई ३ फाइदा


प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार

फरबरी महिनाका लागि अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी भिसा बुलेटिनबाट नेपालीका लागि तीन फाइदा हुने भएका छन् । यो नेपालीका लागि किन भनिएको हो भने यी कतिपय सुविधाहरु चिनिया वा भारतीय नागरिकका लागि उपलब्ध छैनन् ।

पहिलो फाइदा : दम्पत्तिका लागि ग्रिनकार्ड फाइल गर्दा नागरिकसरह सुविधा

यदि तपाई अमेरिकामा हुनुहुन्छ र ग्रिनकार्डवाहकसँग विवाह गर्न चाहनुहुन्छ भने तपाईले तुरुन्तै दम्पत्तिमार्फत आई १३० आवेदनका साथमा ग्रिनकार्ड फाइल गर्न पाउनुहुनेछ । वा यदि तपाई ग्रिनकार्ड वाहक हुनुहुन्छ भने र तपाईले अमेरिकामा ग्रिनकार्ड नभएको व्यक्तिसँग विवाह गर्नुभएमा आफ्ना दम्पत्तिका लागि तुरुन्तै ग्रिनकार्ड फाइल गरिदिन सक्नुहुनेछ ।

अमेरिकी नागरिकका लागिमात्र प्राप्त हुँदै आएको यो सुविधा फरबरीमा ग्रिनकार्ड हुनेहरुका लागि पनि प्राप्त हुनेछ । यसो हुँदा अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्तिले पहिलेजस्तो आई १३० स्वीकृत हुँदासम्म र भिसा उपलब्ध हुँदासम्म कानुनी हैसियत जोगाएर बस्नुपर्ने झन्झट हुनेछैन ।

अमेरिकामा नै रहेका दम्पत्ति तथा २१ बर्ष उमेर पुगेका छोराछोरीहरुलाई ग्रिनकार्ड आवेदन दिन चाहनेहरुका लागि फरबरी महिनामा पनि मौका आएको हो । फरबरीमा महिनामा दम्पत्ति र छोराछोरीहरुका लागि आई १३० आवेदन दिन चाहनेहरुले एकसाथ आई ४८५ आवेदन समेत दिनसक्ने भएका छन् ।

७ महिनादेखि पाउँदै आएको यो सुविधा फरबरीमा पनि ग्रिनकार्डवाहकका लागि समेत जारी भएको छ ।

जुलाईदेखि नै परिवारमा आधारित उक्त श्रेणीको ग्रिनकार्डका लागि आवेदन मिति सबैका लागि करेन्ट हुँदै आएको छ । अमेरिकामा नै विवाह गरेर आफ्ना दम्पत्तिका लागि ग्रिनकार्ड फाइल गर्न चाहने ग्रिनकार्डवाहकका लागि समेत यसलाई सुनौलो मौका भनिएको छ ।

आई १३० आवेदन युएससीआईएसमा पेन्डिङ अवस्थामा रहेकाहरुले पनि अमेरिकामा नै रहेका दम्पत्ति र छोराछोरीका लागि आई ४८५ ग्रिनकार्ड आवेदन दिएर वर्क परमिट र एड्भान्स परोल समेत प्राप्त गर्न सक्नेछन् । साथै उनीहरुलाई भिसा जोगाइराख्ने झन्झट पनि हुनेछैन ।

तर अमेरिकाबाहिर दम्पत्ति र छोराछोरी हुनेहरुका सन्दर्भमा भने आवेदकले कुनै आवेदन फाइल गर्न जरुरत छैन । आई १३० स्वीकृत भएर आवेदन नेशनल भिसा सेन्टरमा गइसकेकाहरुले भने दूतावासमा छिटो अन्तरवार्ता प्राप्त गर्नसक्नेछन् ।

दोश्रो फाइदा : मार्चमा ८८ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीलाइ भिसा

अमेरिकी सरकारले आज जारी गरेको भिसा बुलेटिन अनुशार आगामी मार्चमा ८८ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीलाइ भिसा प्रदान गरिने भएको छ ।

इरानीहरुलाई भने त्यो भन्दा कम केस नम्बरमा सिमाबन्दी लगाइएको छ । मार्चमा ७६ सय सम्म केस नम्बर हुने इरानीहरुलेमात्र भिसा पाउनेछन् । नर्थ अमेरिकनले ९ नम्बरसम्म, ओसियानाका नागरिकले १६२५ सम्म तथा साउथ अमेरिका र क्यारेबियनले १३०० सम्म केस नम्बर हुनेलेमात्र मार्चमा भिसा पाउनेछन् ।

फरबरीमा भने ७५ सय ७५ सम्म केस नम्बर हुने नेपालीहरुले भिसा प्राप्त गर्नेछन् ।

आर्थिक बर्ष सन् २०२० का लागि डिभी लोटरी विजेताहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गरिसकेका छन् । अक्टोबर महिनाका लागि १ हजारसम्म केस नम्बर हुने नेपालीहरुलेमात्र भिसाको प्रकृया अगाडि बढाउन सक्नेगरी सिमाबन्दी तोकिएको थियो ।

तर नोभेम्बर महिनामा भने ३१ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा प्रकृया अगाडि बढाइयो । डिसेम्बर महिनामा ५ हजारसम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा प्रकृया अगाडि बढाइयो भने जनवरीमा ६५ सयसम्म केस नम्बर हुने नेपालीले भिसा पाइरहेका छन् ।

गत बर्षको अक्टोबरमा डिभी लोटरी भरेकाहरुले यो अक्टोबरबाट भिसा पाउन सुरु गरेका हुन् । उनीहरुले सन् २०२० को सेप्टेम्बर अन्त्यसम्म भिसा पाउनेछन् । त्यतीन्जेलसम्म भिसा नपाउनेहरु अमेरिका जानका लागि स्वत अयोग्य हुनेछन् ।

यसपटक नोभेम्बर ५ सम्म डिभी लोटरी भरिरहेकाहरुले डिभी लोटरी पारेमा आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । यसबर्षदेखि डिभी लोटरी भर्नका लागि पासपोर्ट अनिवार्य गरिएको छ ।

तेश्रो फाइदा : ईबी वान फाइल गर्दा ग्रिनकार्ड पनि फाइल गर्न सकिने

अमेरिकामा १५ महिनाको अन्तरालपछि डिसेम्बरमा  करेन्ट भएको  रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डको आवेदन  जनवरीहुँदै फरबरीमा पनि करेन्ट भएको छ । अर्थात् एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिन चाहने नेपाली व्यक्तिले फरबरीमा पनि आई १४० सँगै ग्रिनकार्ड आवेदन अर्थात् आई ४८५ समेत एकसाथ फाइल गर्न पाउनेछन् ।

यो सुविधा चीन र भारतका नागरिकका लागि उपलब्ध छैन । चीनका नागरिकले त्यसका लागि झण्डै साढे २ बर्ष र भारतीयहरुले झण्डै तीनबर्ष कुनुपर्छ ।

रोजगारमा आधारित अन्य श्रेणीको ग्रिनकार्डको आवेदन मिति पनि नेपालीहरुका लागि फरबरीमा करेन्ट रहेको छ । भारतीय र चिनियाहरुका लागि दोश्रो श्रेणीको ग्रिनकार्ड करेन्ट छैन । तेश्रोबाहेक अरु सबै श्रेणीका ग्रिनकार्डमा नेपालीहरुले आई १४० सहित ग्रिनकार्ड आवेदन फाइल गर्न पाउनेछन् ।

युएससीआईएसले भिसा बुलेटिनको मितिलाई मान्यता दिएमा विगतमा एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिएका र आवेदन पेन्डिङ अवस्थामा रहेकाहरुले पनि फरबरीमा ग्रिनकार्ड आवेदन अर्थात् आई ४८५ फाइल गरेर वर्क परमिट लिएर काम गर्न वा एड्भान्स परोल लिएर यात्रा गर्न पाउनेछन् ।

पहिलो श्रेणीमा एक्स्ट्रा अर्डिनरी क्षमता भएकाहरु, अतिदक्ष प्रोफेसर र रिसर्चरहरु, बहु राष्ट्रिय म्यानजर र कार्यकारीहरु पर्छन् । त्यसमध्ये एक्स्ट्राअर्डिनरी क्षमताको ग्रिनकार्डका लागि आवेदक आफैले वा वकिलको सहायतामा आवेदन दिन पाउँछन् भने अरुका लागि रोजगारदाता कम्पनीले आवेदन दिनुपर्छ । एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डका लागि रोजगारदाताको आवश्यकता हुँदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com