शंकाको प्रयाप्त आधारविना अमेरिकी विमानस्थलमा यात्रुका फोन र ल्यापटप खोलेर हेर्न नपाउने


प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

यथेष्ट शंकाको आधारविना अब अमेरिकी विमानस्थलमा कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीलाई यात्रुहरुका विद्युतीय उपकरणहरु खोलेर चेकजाँच गर्नमा अदालतले रोक लगाएको छ । बोस्टनको अदालतले एउटा मुद्दामा आज गरेको निर्णयलाई गोपनियताको अधिकारका सन्दर्भमा विजयका रुपमा लिइएको छ ।

विमानस्थलमा शंकाको प्रयाप्त आधारविना संघीय अधिकारीहरुले यात्रुहरुका विद्युतीय उपकरणहरु चेकजाँच गरेमा असंवैधानिक हुने अदालतले ठहर गरेको छ । ११ जना यात्रुहरुका तर्फबाट विभिन्न आप्रवासी अधिकारवादी संस्थाले दायर गरेको मुद्दामा अदालतले यस्तो निर्णय सुनाएको हो । विमानस्थलमा फोन र ल्यापटप खोलेर खानतलासी लिइएका यात्रुहरुका तर्फबाट मुद्दा दायर गरिएको थियो ।

अब यात्रुहरुले आफ्ना गोप्य विवरणहरु अन्तर्राष्ट्रिय अमेरिकी सिमानामा सरकारी अधिकारीहरुले हेर्न सक्ने आशंकाबाट मुक्त भएर यात्रा गर्न सक्ने जनाइएको छ । अदालतको यो आदेशले सीबीपी र आइसलाई आफूखुशी सिमाक्षेत्रमा यात्रुहरुका विद्युतीय उपकरणहरु कब्जामा लिएर भित्र रहेका विवरणहरु हेर्नमा रोक लगाएको छ । अब सिमाक्षेत्र वा विमानस्थलका सरकारी अधिकारीहरुले यात्रुका फोन, ल्यापटप लगायतका विद्युतीय उपकरणहरु खोलेर चेक गर्नका लागि शंकाका आधारहरु देखाउनसक्नुपर्नेछ ।

अमेरिकी विमानस्थलमा यात्रुका विद्युतीय उपकरणहरु चेकजाँच उल्लेख्य रुपमा बढेको छ । गतबर्षमात्र सीबीपीले ३३ हजार भन्दा धेरै यस्ता चेकजाँच गरेका थिए । जुन तीनबर्ष अगाडिको तुलनामा चारगुणा बढी हो । हालैमात्र बोष्टनको हार्भर्डमा पढ्न आउदै गरेका एकजना विद्यार्थीको फोन र ल्यापटप चेक गरेर त्यहाँ भएका तस्वीर र सम्बादका आधारमा विमानस्थलबाटै फिर्ता गरिएको थियो । स्वदेश फर्किएका उनलाई त्यसको केहीदिनपछिमात्र अमेरिका प्रवेश गर्न दिइएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com