अमेरिका : ६० नेपालीसहित ७ लाख कागजपत्रविहिनको भविश्यबारे मंगलबार सर्वोच्चमा बहस


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

बाल्यकालमा अमेरिका आएका झण्डै ६ लाख ७० हजार कागजपत्रविहिनको भाग्य र भविश्यको सन्दर्भमा भोलि मंगलबारको दिनलाई निकै महत्वपूर्ण मानिएको छ । किनभने भोलि मंगलबार अमेरिकाको सर्वोच्च अदालतले बाल्यकालमा अमेरिका आएकाहरुलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रम अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयका सन्दर्भमा तर्कहरु सुन्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ को सेप्टेम्बरमा डाका कार्यक्रम अन्त्य गर्ने घोषणा गरेका थिए । अमेरिकाको तल्लो अदालतले यो कार्यक्रमलाई अन्त्य हुनबाट रोकेर झण्डै ६ लाख ७० हजारलाई तत्काल देशनिकाला हुनबाट जोगाएको थियो ।

 

गत जुन महिनामा अमेरिकाको सर्वोच्च अदालतले यो मामलाबारे सुनुवाई गर्ने घोषणा गरेको थियो , जुन तीनप्रकारका अलग अलग कानुनी चुनौतीहरुलाई हेरिरहेको छ । मंगलबार यसबारे तर्कहरु सुनिने भएपनि मुद्दाको फैसला भने सन् २०२० भन्दा अगाडि नहुने देखिएको छ ।

डाकाबारे कानुनी लडाईका कारण बाल्यकालमा अमेरिका आएका दशौं हजार कागजत्रपत्रविहिन डाकाको लागि आवेदन दिनबाट समेत वञ्चित भएका छन् । किनभने कानुनी रुपमा टुंगो नलाग्दासम्म ट्रम्प प्रशासनले डाकाका नयाँ आवेदनहरु स्वीकार गरेको छैन ।

डाका कार्यक्रम असंवैधानिक भएको भन्दै अन्त्य गर्नुपर्ने ट्रम्प प्रशासनको तर्क रहेको छ । तर तल्ला अदालतहरुले डाका कार्यक्रम अन्त्य गर्ने निर्णय विवेकहीन र सनकी भएको भन्दै अन्त्यका लागि रोक लगाएका छन् ।

यदि सर्वोच्च अदालतले डाका कार्यक्रम अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णय सदर गरेमा डाकाले समेटेका झण्डै ६ लाख ७० हजार आप्रवासीहरु अमेरिकाका अन्य कागजपत्रविहिनहरु सरह हुनेछन् । उनीहरु अमेरिकाबाट देशनिकालाका लागि योग्य हुनेछन् । यद्यपी अमेरिकी सरकारले आपराधिक पृष्ठभूमी भएकालाई देशनिकालाको प्राथमिकतामा राख्ने बताएको छ ।

डाकाले समेटेकाहरुले विगतमा बुझाएका विवरणहरुलाई उनीहरुका बारेमा पत्ता लगाउनका लागि र देशनिकालाका लागि प्रयोग गर्नसकिने जनाइएको छ । युएससीआईएसले अहिले ती विवरणहरु आइसलाई नदिएको भएतापनि भविश्यमा दिनसक्ने सम्भावना रहेको छ ।

बाल्यकालमा अमेरिकामा छिरेर कागजपत्रविहिन भएकाहरुलाई अमेरिकामा बस्न र काम गर्न अनुमति दिने डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल अर्थात् डाका कार्यक्रम अन्तरगत ६० जना नेपालीहरु संरक्षित रहेका छन् । उनीहरु १६ बर्ष उमेर नपुग्दै अमेरिकामा आएका र सन् २००७ वा त्यो भन्दा अगाडि देखि अमेरिकामा लगातार बस्नै आएका तथा सन् २०१२ को जुनसम्म ३१ बर्ष ननाघेकाहरु हुन् । उनीहरुलाई बाबुआमाले सन् २००७ भन्दा अगाडि १६ बर्ष नपुग्दै विभिन्न भिसामा वा अन्य तरिकाबाट अमेरिकामा ल्याएका थिए । त्यसपछि उनीहरु अमेरिकामा कागजपत्रविहिन भएका थिए ।

बाल्यकालमा अमेरिका छिरेकाहरुलाई अमेरिकामा डिपोर्टेशनको डरविना बस्न र कामगर्न अनुमति प्रदान गर्ने यो कार्यक्रम सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाले ल्याएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com