पारिवारिक विचलन : मारमा महिला


प्रकाशित मिति : फाल्गुन १९, २०७३ बिहीबार

वैदेशिक रोजगारीका लागि बिदेसिने र समाज आधुनिक बन्ने नाममा पारिवारिक विचलनका घटना बढ्दै गएका छन् । यसको चर्को मार खेप्नुपरेको छ महिलाले ।

खेमा बस्नेत

‘श्रीमानले विदेशमा धन कमाउलान्, आफ्नो र परिवारको जीवन सुखमय होला’ भन्ने कल्पनामा रमाएकी कैलाली लम्कीचुहा नगरपालिका– ८ की कमला बुढाका सपना अहिले चकनाचुर भएका छन् । धन कमाउन मलेसिया गएका श्रीमान् तीन वर्षपछि कान्छी श्रीमती लिएर फर्किएपछि उनलाई आफ्नो जीवन नै व्यर्थ भएजस्तो लागिरहेको छ ।

कमलाका श्रीमान् डम्बर तीन वर्ष पहिले वैदेशिक रोजगारका लागि मलेसिया गएका थिए । ‘आठ महिनासम्म फोनमा कुराकानी हुन्थ्यो, घरखर्च पनि पठाउँथे,’ कमलाले भनिन्, ‘त्यसपछि फोन आउन पनि कम भयो, पैसा पनि पठाउन छोडे ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डम्बरले मलेसियामा काम गर्न गएकी नवलपरासीकी एक युवतीसँग विवाह गरेका थिए । ‘छरछिमेकीले तिम्रो श्रीमानले मलेसियामा बिहे गरे भनेर सुनाउँदा पत्याउनै सकिरहेकी थिइनँ,’ गहभरि आँसुसहित कमलाले भनिन्, ‘घर फर्किंदा सौता पनि लिएर आए ।’  कैलालीका कमल पौडेलले पनि यस्तै सपना देखेका थिए । मनले नमाने पनि उनी धन कमाउन सानै उमेरमै विदेश लागे । आर्थिक हैसियत राम्रो बनाउँछु, अनि बिहे गरेर सुखी जिन्दगी बिताउँछु’ भन्ने उनको सपना थियो ।

मलेसियामै हुँदा यता घरमा उनको विवाहको कुरा चल्यो । बाआमाले कर गरेपछि उनी बिहेका लागि घर फर्के । गाउँकै १७ वर्षीया किशोरी नमुना (नाम परिवर्तन) सँग उनको विवाह भयो । अब उनका सामु श्रीमतीलाई सुखसुविधा पु-याउने अभिभारा आइप-यो । उनले धेरै सोचेर फेरि वैदेशिक रोजगारीमा जाने निर्णय गरे । श्रीमतीलाई छोडेर बिहे भएको दुई महिनामै उनी मलेसिया पुगे ।

बेलाबेला श्रीमतीसँग फोनमा मायाप्रेम, सुखदुःख साटासाट हुन्थ्यो । भौगोलिक दूरीले पनि उनीहरूबीचको माया र विश्वासमा कमी थिएन । उनी कम्पनीमा बिदा मिलाएर दुई–चार वर्षमा एकपटक घर आउने गर्दथे । यो क्रम १३ वर्षसम्म चलिरह्यो । दुई छोरी जन्मिए । अब झन् उनको काँधमा छोरीहरूको लालनपालन, पठनपाठनको जिम्मेवारी पनि थपियो ।

तर, यता उनको घरमा बाआमा र श्रीमतीबीच सम्बन्ध चिसिँदै गयो । बुढेसकालको सहारा बन्लिन् भनेर भित्र्याएकी बुहारीसँग तिक्तता बढ्दै गयो । बाध्य भएर कमलले श्रीमतीका लागि अलग घर बनाइदिए । त्यसपछि उनका दुर्दिन सुरु भए ।

बिस्तारै उनीहरूबीचको पे्रम फिक्का हुँदै गयो । घरमा एक्लै बस्ने उनकी श्रीमती फेसुबकमा भेटिएको नयाँ साथीसँग बढी घुलमिल गर्न थालिन् । फेसबुकको कुराकानी प्रत्यक्ष भेटघाटमा बदलियो । श्रीमान् सात समुद्रपार मलेसियामा, यता नमुना फेसबुकमा भेटिएको साथीलाई घरमै बोलाउन थालिन् । १३ वर्षे वैदेशिक यात्राका क्रममा कमल खाडीको ओमानमा थिए । श्रीमतीको अर्कै केटासँगको सम्बन्ध प्रहरीसम्म पुग्यो । परिवार, गाउँले र प्रहरीले नमुनालाई उनको फेसबुकको साथीको जिम्मा लगाइदिए ।

कमलकी जेठी छोरी १० वर्षकी छिन्, कान्छी सात वर्षकी । अहिले दुवैले अभिभावक गुमाएका छन् । आमा (नमुना) अर्कैसँग गएपछि कमल पनि घर फर्किएका छैनन् । जेठी छोरीलाई आमाले आफूहरूलाई छोड्नुको कारण थाहा छ । उनी आमाको कुरा सुन्नै चाहन्नन् । तर, कान्छी छोरी भने आमाको सम्झनामा तड्पिरहन्छिन् । ‘आमाको कुरा गर्नेबित्तिकै रुन थाल्छे,’ स्थानीय सीमा खड्काले भनिन् ।

वैदेशिक रोजगारले निम्त्याएको विपत्तिका कथा धेरै छन् । कैलाली, चौमालाकी रमिता भट्ट (नाम परिवर्तन)का श्रीमान् नेत्र ओझा साउदी अरब गएको ६ वर्ष भयो । रमिता र नेत्रको प्रेमविवाह थियो । कमजोर आर्थिक अवस्थाका कारण विवाह भएको केही वर्षपछि नेत्र बिदेसिएका थिए ।

दुबई गएको दुई वर्षसम्म नेत्र र रमिताबीच बराबर फोनमा कुराकानी भइरहन्थ्यो । घरखर्चका लागि नियमित रूपमा रकम पनि पठाउने गर्दथे । ‘विदेश गएको दुई वर्षसम्म फोन गर्नुहुन्थ्यो,’ रमिताले भनिन्, ‘घरखर्च भनेर वर्षको पाँच–दश हजार पनि पठाउनुहुन्थो ।’ तर, दुई वर्षपछि नेत्रको व्यवहारमा अन्तर आयो । फोन नै नगर्ने, गरे पनि झर्किएर बोल्ने, रिसाउने गर्न थाले । एक दिन श्रीमान् (नेत्र)ले कुनै अपरिचित महिलासँग खिचेको फोटो फेसबुकमा पोस्ट गरे । फोटोमुनि लेखिएको थियो– म र मेरी श्रीमती ।

नेत्रले दुबईबाट काठमाडौं आएर ती केटीसँग बिहे गरेर फर्किएको उनले पछि मात्रै थाह पाइन् । नेत्र विदेश जाँदा रमिता गर्भवती थिइन् । जन्मिएको छोराले अहिलेसम्म बुबाको अनुहारसमेत देखेको छैन । ‘अब छोराले कसरी बुबाको माया पाउला ?’ रमिताले भनिन्, ‘मेरो त बिचल्ली भयो ।’

यस्तै कथा कैलाली चौमालाका धनबहादुर रानाको परिवारको पनि छ । धनबहादुर श्रीमती नीलम (नाम परिवर्तन) र छोराछोरी छोडेर बिदेसिएको नौ वर्ष भइसकेको छ । उनकी कान्छी छोरी ६ महिनाकी हुँदा धनबहादुर धन कमाउन कुवेततिर हिँडेका थिए । नौ वर्षकी भइसकेकी छोरीले अहिलेसम्म बुबा देखेकी छैनन् । विदेश गएका श्रीमान् बेपत्ता भएपछि बेसहाराझैँ भएकी नीलम छोराछोरीको भविष्यका लागि आफू पनि विदेश जाने तयारीमा छिन् । नीलम भन्छिन्, ‘भिसाको पर्खाइमा छु ।’

धन कमाउने, सुखी जीवन बाँच्ने आसमा बिदेसिएकाहरूको दाम्पत्यजीवन तहसनहस भएका थुपै्र घटना छन् । वैदेशिक रोजगारीको मामिलामा कलम चलाउँदै आएका पत्रकार दिनेश रेग्मी भन्छन्, ‘लामो समयसम्म अलग रहेपछि श्रीमान्–श्रीमतीबीच तिक्तता वृद्धि हुने बढी सम्भावना हुन्छ ।’ उनी भन्छन्, ‘वैदेशिक रोजगारीसम्बन्धी कतिपय ऐन–कानुनमा रहेका कमजोरीले पनि पारिवारिक सम्बन्ध अस्थिर हुने गरेका छन् । श्रम ऐनमा वैदेशिक रोजगारीमा गएको कामदार करार अवधि (३ वर्ष)भित्र घर आउन नपाउने प्रावधान छ । यसले श्रीमान्–श्रीमतीबीच दूरी बढ्ने बढी सम्भावना हुन्छ ।’

सुरक्षित आप्रवासनसम्बन्धी मनोसामाजिक परामर्शकर्ता धनराज विकको अनुभवमा विदेश गएका श्रीमान् वा श्रीमती नियमित फोन सम्पर्कमा नआउँदा वा घरखर्च नपठाउँदा पारिवारिक सम्बन्ध चिसिने गरेका उदाहरण छन् । ‘घरमा श्रीमतीले परिवारको गाली, लाञ्छना सहनुपर्ने हुन्छ, लामो समयसम्म श्रीमान् बाहिर हँुदा समाजले कुरा काट्न थाल्छ,’ उनी भन्छन्, ‘विदेशमा रहेका श्रीमान् लामो समयसम्म सम्पर्कमा नआउँदा वा आवश्यक खर्च नपठाउँदा मानसिक असर पर्न थाल्छ र पछि गएर मानसिक रोगीसमेत बन्ने सम्भावना हुन्छ ।’

समाजशास्त्री डाक्टर लोकराज विष्ट सामाजिक अनुशासन कमजोर बन्दै गएकाले पारिवारिक विचलनका घटनामा वृद्धि आइरहेको बताउँछन् । ‘वैदेशिक रोजगारीमा जाने मात्रै पारिवारिक विचलनका लागि जिम्मेवार होइनन्,’ उनी भन्छन्, ‘समाज आधुनिक बन्दै जाँदा पनि यस्ता घटना वृद्धि भइरहेका छन् ।’ (सञ्चारिका फिचर सेवा)(खेमा, कैलालीकी पत्रकार हुन् ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com