टर्कीबाट न्युयोर्क आउदै गरेको जहाजका २९ यात्रु घाइते, टर्यो ठूलो दुर्घटना, विमानमा नेपाली समेत
प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार
न्युयोर्कको जोन अफ केनेडी विमानस्थल आउदै गरेको जहाजका २९ यात्रु घाइते भएका छन् । टर्कीको इस्तानबुलबाट न्युयोर्क आउदै गरेको जहाजमा टर्बुलेन्सका कारण उनीहरु घाइते भएका हुन् ।
टर्मिनल वानमा विमान अवतरण हुनासाथ दर्जन बढी एम्बुलेन्स र उद्धारकर्ताहरुले घाइतेहरुलाई अस्पताल लगेका थिए । घाइतेहरुको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

आकाशमा उडिरहेको जहाज एक्कासी हावामा तल खस्दा यात्रुहरु घाइते भएका थिए । उनीहरुले जहाज ठूलै दुर्घटनामा परेको ठानेर मृत्यु निश्चित भएको कल्पना गरेका थिए । तर भाग्यवश जहाज दुर्घटना हुनबाट बचेको छ ।
टर्बुलेन्सको कारण भने अहिलेसम्म नखुलेको जनाइएको छ । टर्बुलेन्सपछि यात्रुहरु निकै आत्तिएका थिए ।
टर्कीस एयरलाइन्सको बोइंग ७७७ मा २१ कर्मचारीहरु सहित ३२९ जनाले यात्रा गरिरहेका थिए । फायर डिपार्टमेन्ट अफ न्युयोर्कले भने ३२ जना यात्रुहरु घाइते भएको जनाएको छ ।
टर्कीको इस्तानबुल हुँदै कैयन नेपालीहरुपनि यात्रा गर्ने भएकाले विमानमा नेपालीहरुसमेत रहेको जनाइएको छ । तर थप विवरण भने प्राप्त भएको छैन । घाइते हुनेहरुमा नेपालीहरु परे नपरेको पनि केही खुलेको छैन ।








